अश्वमेध महायज्ञ हुने

वीरगन्ज । नेपालमै पहिलोपटक वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ हुन गइरहेको छ । धार्मिक उद्देश्यले मात्र नभई समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक रूपले यज्ञको आयोजना गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले वताए ।

महायज्ञ १९ देखि २२ फागुनसम्म हुने मेयर सरावगीले जानकारी गराए । २४ थरी जडीबुटी र घ्यूबाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटरसम्म वातावरण प्रदूषण मुक्त हुने वैज्ञानिक मान्यतासमेत रहेको छ ।

महायज्ञको लागि सोमबार भूमिपूजनसमेत भएको छ । यज्ञस्थल वीरगञ्जको आदर्शनगर रगंशालामा महायज्ञको लागि भूमिपूजन गरिएको हो । रंगशालमा २ सय ५१ वटा कुण्ड निर्माण गरिने महायज्ञको भूमिपूजन पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायत पर्साका सुरक्षा प्रमुखहरूले दीप प्रज्वलित गरेका थिए ।

श्याम विहारी दुवेको नेतृत्वमा गायत्री महापिठ हरिद्वारबाट आएको पुरुष तथा महिला विद्धान पुरोहित तथा साधकहरूको टोलीले वैदिक गायत्री मन्त्र तथा विधिद्वारा भूमिपूजन गरेका थिए । वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, उद्योगपति बाबुलाल चचान, हिरालाल केडिया, मुर्लीधर रुगंटा, राजु वैद्य, अंकित अग्रवाल, राजु अधिकारी केशव मराठा र छोटेलाल साह लगायतका व्यक्तिहरूले महायज्ञको भूमिपूजन गरेका थिए । भूमिपूजन कार्यक्रममा अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपीठका संयोजक एवं वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले महायज्ञको ध्वजा स्थापना गरेका थिए ।

राष्ट्रलाई सक्षम, सामथ्र्यवान एवं समृद्ध बनाउने उदेश्यले नेपालमै पहिलोपटक हुन गइरहेको अश्वमेध महायज्ञको धार्मिक, अध्यात्मिक तथा वैज्ञानिक महत्वको बारेमा समेत गायत्री परिवारका सदस्यहरूले प्रवचनद्वारा जानकारी गराएका थिए । सन् २०२६ सम्म १ सय ८ वटा अश्वमेध महायज्ञ गर्ने उद्देश्यले गायत्री परिवारले विभिन्न स्थानमा अश्वमेध महायज्ञ गर्दै आइरहेको छ ।

जसमध्ये ४६औँ महायज्ञको रूपमा नेपालमा पहिलोपटक यो महायज्ञ हुन गइरहेको हो । यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने दावीसमेत आयोजकको रहेको छ । महायज्ञको उद्घाटनमा प्रधानमन्त्री, संघीय सरकार मन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया