क्षमताअनुसार चलेका छैनन् औषधि उद्योग

काठमाडौं । नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले उद्योगहरू आफ्नो क्षमता अनुसार चल्न नसकेको बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मलेन गर्दै संघले नेपालमा भएका औषधि उद्योगहरू दैनिक ६ देखि ७ घण्टा मात्रै सञ्चालनमा हुँदै आएको जानकारी दिए ।

नेपालमा भएको हालको उत्पादनले मागअनुसारको आपुर्ति धान्न नसक्ने संघले जनाएको छ । त्यस्तै छिमेकी मुलुक भारत औषधि उत्पादन गर्नमा विश्वको तेस्रो स्थानमा रहेको भन्दै हालको उत्पादनलाई एक प्रतिशत मात्रै बढाए पनि नेपाललाई निःशुल्क दिन सक्ने क्षमता रहेको भन्दै अध्यक्ष दाहालले उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने सुनाए ।

नेपालमै उत्पादन पर्याप्त भएका औषधिको आयातमा रोक लगाउन संघले सरकारसंग माग गरेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको भन्दै यसको कार्यान्वयनको लागि यस्तो माग गरिएको संघले जनाएको हो । त्यस्तै हाल नै नेपालका लागि आवश्यक करीब ७५ प्रतिशत औषधिको भार वहन क्षमता नेपाली औषधि उद्योगसंग रहेको भन्दै संघले त्यसको पूर्ण सदूपयोग गर्न राज्यका तर्फबाट नीतिगत निर्णय हुनुपर्ने बताएको छ ।

नेपालमा हाल ५२ प्रतिशत औषधिको बजार भारतीय कम्पनीले ओगटेको भन्दै उनले नेपाली उद्योगको औषधि ४५ प्रतिशत र अन्य देशबाट आयात हुने ३ प्रतिशत रहेको बताए । दाहालले सरकारले केही कदम चालिदिए मात्रै पनि ४५ प्रतिशतबाट ७५ प्रतिशतमा पुग्न सहज हुने बताए ।

आफूहरू अब आत्मनिर्भरताको अभियान सफल बनाउनतिर अगाडि बढिरहेको संघका महासचिव प्रज्वोलजंग पाण्डेले सुनाए । त्यस्तै बजारमा आएको महंगीको कुरा निकाल्दै उनले भने,‘औषधि उत्पादन नै नगरी नेपालमा उत्पादित औषधि महंगो भयो भनेर मात्रै हुँदैन, पहिला बनाउन दिनुस् त्यसपछि मंहगो भए घटाउँदै लैजान्छाँै, यहाँ सरकारको विभिन्ने झन्झटिलो पक्रियाले गर्दा पनि यस्तो अवस्था आएको हो ।’

नियोजित रूपमा नेपाली औषधिहरू महंगा र कम गुणस्तरीय भन्ने भ्रम छरिएको भन्दै दाहालले खण्डन गरेका हुन् । उनले भने, ‘गुणस्तरीय नभएको भए, यतिका सरकारी निकाय छ, उसले कदम चाल्थ्यो होला, महंगोको कुरामा पनि सरकारले मूल्य तोेकेको अवस्था छ । त्यो भन्दा बढी लिन मिल्दैन, प्रतिस्पर्धाको बजारमा कसले बढी शुल्क तिरेर औषधि खान्छ । त्यसैले यो पनि वाहियात कुरा हो ।’

अध्यक्ष दाहालका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा भारतबाट २५ अर्बको औषधि आएको र नेपालबाट २० अरबको विक्रि भएको तथ्यांक उल्लेख गरे । उनले भने,‘हरेक बर्ष नेपाल सरकारले भारतबाट क्षयरोगको औषधि मात्रै २० अर्ब जतिको ल्याउँछ । त्यो पैसाले नेपाली उद्योगलाई नै दिएर औषधि उत्पादन गर्न लगाए त कर पनि तिर्ने र नेपालको पैसा नेपालमा नै हुने थियो, आत्मनिर्भर पनि हुन्थ्यौँ ।’

त्यस्तै भारतमा सरकारी नै एक दर्जन बढी संस्था औषधि उत्पादन बढाउनकै लागि खोलिएको र एउटा न्यायलय पनि रहेको भन्दै अब नेपालमा नै त्यस्तो व्यवस्थाको आवश्यकता रहेको अध्यक्ष दाहालले बताए । उनले थपे,‘हामी तीन कुराको प्रतिवद्धता गर्छौ, औषधि आत्मनिर्भर बनाउँछौँ, गुणस्तरमा सम्झौता गर्दैनौं र मूल्य पनि नेपाली जनताले किनेर खान सक्ने बनाउँछौँ तर सरकारले नीतिगत निर्णय गर्नुपर्छ ।’

‘हामीकहाँ ५३ वटा औषधि उद्योग छन् । ती उद्योगले उत्पादन गरेका औषधिहरू पनि संसारभर उत्पादन हुने औषधिकै मापदण्ड अनुसार छ । यसमा कुनै भ्रम नहोस । महासचिव पाण्डेले भने ।’ भारत तथा बंगलादेशको उदाहरण दिदै उनले भने, ‘त्यहाँको औषधि उद्योगलाई राज्यले कति लगानी गरेको छ । कति सहयोग गरेको छ । त्यत्तिकै नगरे पनि केही मात्रै गरिदिने हो भने पनि हामी धेरै माथि जाने थियौँ । हामीसंग त्यो क्षमता छ ।’ पाण्डेले नेपाल भारत खुल्ला सिमानाका कारण करीब ३० प्रतिशत औषधि अवैध रूपमा दर्ता विनाका नेपाल भित्रिने गरेको सुनाए ।

अंगदानलाई प्रोत्साहन गर्ने

एप्पोनले मरणोपरान्त अंगदानको सामाजिक अभियान सहित ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९’ गर्ने भएको छ ।
संघले नेपालमा उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव र मेसिनहरूको प्रत्येक दुई बर्षमा एक्स्पो गर्दै आएको छ । एक्स्पोमा यसपटकदेखि मरणोपरान्त अंगदानको अभियानलाई पनि संस्थागत गर्ने निर्णय गरेको जनाएको हो ।

संघले १७ देखि १९ फागुनसम्म चितवनमा सञ्चालन हुने मरणोपरान्त अंगदानको लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य गरेको र एक्स्पो मार्फत कम्तिमा १ हजार जनाले अंगदान गर्ने विश्वास लिएको छ ।

एक्स्पोमा औषधी उत्पादनको प्रविधी र अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन प्रविधी मैत्री र दक्षता प्रदान गर्ने, औषधी प्राविधिक र फर्मासिस्टहरूलाई अन्तराष्ट्रियस्तरको नयाँ ज्ञान दिने उदेश्य रहेको संघले जनाएको छ ।

एक्स्पोमा २ सय स्टल रहने, ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय, चिनियाँ १० कम्पनी सहभागि हुनेछन् । नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिने भएका छन् भने विभिन्न विषयमा टेक्निकल सेमिनार हुनेछ । पहिलोपटक राजधानी बाहिर चितवनमा हुन लागेको एक्स्पोमा करिव ५० हजार अवलोकनकर्ताहरूले भ्रमण गर्ने संघको विश्वास रहेको छ ।

प्रतिक्रिया