आर्मी शीर्ष स्थानमा

काठमाडौं । विभागीय क्लब आर्मी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर््स क्लबको कोर्टमा सोमबार आर्मीले अपराजित यात्रा ३ खेलसम्म जारी राख्दा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । चौथो दिनको खेलमा आर्मीले आयोजक ढोरपाटनमाथि २५–३, २५–७ र २५–४ को सोझो सेटमा जित रच्दै आफ्नो सुखद यात्रालाई निरन्तरता दिएको हो ।

सोमबारकै खेलमा श्रीगाउँ खेलकुद विकास समिति दाङले भने मिश्रित नतिजा निकाल्यो । श्रीगाउँले पहिलो खेलमा सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब)लाई २५–९, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै दिनको सुखद सुरुआत गरेको थियो । तर, दोस्रो खेलमा भने श्रीगाउँले बलियो टिम सशस्त्र प्रहरी बलको एपिएफसँग २५–२०, २५–११ र २५–८ को सोझो सेटमा नतिजा सुम्पियो ।

यससँगै लिगमा श्रीगाउँले ४ खेलबाट ९ अंक जोड्दा साबिक विजेता एपिएफले ३ अंकका साथ विजयी सुरुआत गरेको छ । सोमबारको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले सेबलाई २५–१३, २५–१३ र २५–९ को सोझो सेटमा हराउँदै लिगमा सुखद सुरुआत गरेको छ । सेबले ४ खेलबाट ६ अंक जोड्दा पुलिसले पनि ३ अंकका साथ विजययात्रा अगाडि बढाएको छ ।

लिगको विजेताले ३ लाख ५० हजार, दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौं हुनेले ४० हजार, छैटौंले ३० हजार र सातौं हुने टोलीले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दी सिरिज र एक जना भाग्यमानी दर्शकले १÷१ थान सुजुकी स्कुटर पाउनेछन् ।

प्रतिक्रिया