स्थानीयले सडक निर्माण रोके

रौतहट । रौतहटको गौर नगरपालिकामा सडक बनाउन ठेक्का पाएका कन्ट्रक्सन कम्पनीले गुणस्तरहीन र कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीय सिसवावासी आक्रोशित हुँदै काम अवरुद्ध गरेका छन् ।

सघन सहरी भवन निर्माण आयोजना पर्साद्धारा रौतहटको गौर नगरपालिकामा निर्माणाधीन कार्यहरू गुणस्तरहीन भइरहेको आरोप लगाउँदै स्थानीय वासिन्दाहरू कामकाज गर्न अवरुद्ध बनाएका हुन् ।

सघन सहरी कार्यक्रमअन्तर्गत झण्डै दुई अर्बभन्दा बढीको प्रोजेक्ट रौतहटको गौर नगरपालिकामा स्वचन्द÷ढुकुछु÷आश्रय ज्वाइन्ट भेन्चर बसुन्धराले निर्माणको गर्न ठेक्का सकार गरी गत वर्षदेखि नै कार्य गरिरहेका छन् । जसलाई निर्माणकै क्रममा गौर नगरपालिका–९ बाट वडा–७ लाई जोड्ने सड्कमा निर्माण भइरहेको पक्की पुलमा अनियमित ढंगबाट ढलानको कार्य भइरहँदा स्थानीय बासिन्दाले उक्त कार्यलाई अवरुद्ध बनाएको स्थानीय प्रमोद साहले बताए । ।

‘पुलको वेस तयार गर्न इस्टिमेटमा ४० एमएम डाउन गिटीको साइज हुनुपर्नेमा त्यो भन्दा दोब्बर ठूलो साइजको गिटी प्रयोग गरेको, डन्डीको ज्वाइन्टमा ठूलो ग्याप रहेको, स्थानीय खोलाको बालुवा प्रयोग गरेको पाइएपछि हामी कामकाज रोकेका हौँ,’ साहले बताए । जनताको प्रत्यक्ष सरोकार रहेको बाटोघाटो, पुलपुलेसा जस्तो सम्बेदनशील विषयमा ख्यालठट्टा गरी आफूखुसी निर्माण पक्षबाट कमसल एवं गुणस्तहीन पुल बनाइरहँदा सम्बन्धित निकाय समेतको मौनतापश्चात बाध्य भएर काम अवरुद्ध गर्नुपरेको स्थानीय लक्ष्मण झाको भनाइ छ ।

स्थानीयहरुको आग्रहमा निर्माण स्थल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का सदस्य तथा युवा नेता शम्भु साह कानुनले समेत निर्माण कार्य गुणस्तरहीन भइरहेको आरोप लगाए । पुलको वेस ढलानमा ठूला ठूला गिटीहरू प्रयोग भइरहेको देखाउँदै यस्ता गिटी, बालुवा र गुणस्तरहीन सिमेन्टबाट तयार हुने पुल कतिको दिगो होला ? उनले प्रश्न गरे ।

नगरवासीको सुरक्षालाई समेत ध्यान नदिई आफनो कार्य सम्पन्न गर्ने दाउमा जस्तोसुकै कार्य गरेर अघि बढिरहेका निर्माण पक्षधरलाई स्थानीय तहका प्रमुखसहित सघन सहरी निर्माण कार्यालयको संलग्नतामा यस्ता पुल निर्माण भईरहँदा जनताले अवरुद्ध बनाएको बताए ।

सघन सहरी भवन निर्माण आयोजना पर्साको प्रमुख रेखदेशमा निर्माण भईरहेको बाटो, पुल, नाला, लगायतका पोखरी र बरहवा ताल सौन्दर्यीकरण कार्य आश्रय निर्माण सेवाको पूर्ण स्वामित्वमा भइरहेको छ तर निर्माण भएको कार्यहरु अति नै कमसल गुणस्तरहीन रहेको आरोप लगउँदै युवा नेता साहले बाटोको स्ट्राम्चर खडागर्दा ९ इन्च माटो राखेर कम्पेक्सन गरी ६ इन्चमा ल्याउनुपर्ने भएपनि बाटोमा कम्पेक्सन नै नभएको समेत उनले बताए ।

निर्माण कम्पनीका प्रोजेक्ट मैनेजर अजयकुमार गुप्ताले आफू केही महिना अघि मात्रै यस निर्माण कम्पनीसँग आबद्ध भएको, पहिला के कसरी भयो मलाई थाहा छैन तर अहिले सुधार भएको बताए । बाटो निर्माण हुँदा कम्पेक्सन नभएको स्वीकार गर्दै पुल निर्माणमा प्रयोग भएको गिटीको साइज ठूलो भएको र बालुवा कमसलको हुँदा त्यसलाई हटाएर अर्को बालुवा गिटी लगाउने प्रतिबद्धता जनाएको बताए ।

स्थानीय बासिन्दालाई यही बसेर गुणस्तरीय कार्य गराउन उनले आग्रह गरे । जानीजानी आफू कमसल एवं गुणस्तरहीन कार्य नगराएको बताउँदै यसमा सबै पक्षबाट चासो राखेर काम गराउनसमेत अपिल गरे ।

सघन सहरी भवन निर्माण आयोजना पर्साबाट यस प्रोजेक्ट हेर्ने जिम्मेवारी पाएका इन्जिनियर सन्दीप यादवले पटकपटक निर्माण पक्षलाई पत्राचार गरेर भन्दा पनि अटेर गरी हाम्रो कर्मचारीले भनेको कुरा नमानी जानीजानी काम गलत गरेको बताए । स्थानीय बासिन्दाको आग्रहमा काम दुई दिन काम बन्द गराउँदा हामीलाई नै पेनाल्टी स्वरुप डेढ लाख दिनुपर्ने निर्माण पक्षबाट पत्रसमेत आएको स्पष्ट पारे ।

जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका विषयमा हामी सम्झौता गर्न नसकिने बताउँदै यसको लागि माथिल्लो निकायमा पत्राचार गरिने बताए ।

प्रतिक्रिया