बर्खामा जाग्ने र हिउँदमा सुस्ताउनुपर्ने बाध्यता

काभ्रे । यतिवेला विकट क्षेत्रका किसान फुर्सदिला भएका छन् । उनीहरूको दैनिकी घाम ताप्नेदेखि बारीको डिलमा कफी टिप्ने र परालको गुन्द्री बुन्नेमा सीमित भएको छ । भने केहीको खोलामा माछा मार्ने रहेको छ । कोही भने गाई–बाख्रालाई चरन–क्षेत्रमा छाडेर तामाङ सेलोमा रमाइरहेका छन् ।

यो काभ्रेको कर्णाली भनेर चिनिँदै आएको डाँडापारिको खानीखोला गाउँपालिकामा रहेका कृषकहरूको दैनिकी हो । कृषि र पशुपालन क्षेत्रका लागि निकै सम्भावना भएको यस ठाउँमा कृषिलक्षित कुनै योजना नभएकाले किसान यतिवेला फुर्सदिला बन्न पुगेका छन् ।

युवाहरू सहर पस्ने र विदेशमा जाने परिपाटीले गाउँमा युवाको संख्या कम हुँदै गएको छ । भएका युवामा पनि व्यावसायिक तथा दीर्घकालीन योजनाले काम गर्ने कमै छन् । खानीखोला–६ थुम्कीमा पाँच वर्षअघि व्यावसायिक रूपमा पशुपालन गर्दै आएका कर्मध्वज लामामा अनुसार कृषकलाई सहयोग गर्ने निकायको अभाव छ ।

लामा भन्छन्, ‘युवालाई गाउँमै राख्ने हो भने अनुदानका कार्यक्रम, उन्नत जातका पशुपालन र पशुआहारालाई विशेष रूपमा हेर्नुपर्छ ।’ लामाले आफ्नो योजना बताउँदै धेरै युवालाई निकट भविष्यमा आफ्नै फर्मबाटै रोजगारी दिने र उनीहरूलाई पशुपालनमा उत्प्रेरणा दिनसक्ने किसिमको कामहरू गर्ने बताए । एक दिन आफ्नो लक्ष्यलाई ग्रामीण भेगका धेरै जनताले साथ दिने विश्वास राख्छन् उनी ।

कृषि र पशुपालन क्षेत्रमा निकै सम्भावना बोकेका दुई विकट गाउँपालिकाहरू महाभारत र खानीखोलामा भौगोलिक विकटताको कारण कृषकलाई आधुनिक कृषि प्रणालीबारे व्यावसायिक तरिकाले लगाउन कठिन हुँदै आएको छ । हिउँदे बालीलाई पनि व्यवस्थित बनाउने र वर्षैभरी कृषि उत्पादन हुने किसिमको योजना गाउँपालिकाले बनाइरहेको बताउँछन् खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल ।

खुलालका अनुसार स्थानीय सरकारले हिउँदे खेती सुरु गर्दै त्यसलाई व्यावसायिक रूप दिने वातावरण तयार गरिरहेको छ । डाँडपारिको कृषि क्षेत्रलाई सुधार गर्न आफूले कृषि शाखालाई आवश्यक निर्देशन दिइसकेको बताउँदै खुलालले भने, ‘कृषिको लागि भनेर आएको ४०-४५ लाखको बजेटलाई चौतर्फी विकासमा लगाइनेछ ।

खानीखोला गाउँपालिकामा कृषिका अतिरिक्त पशुपालन, कुखुरापालन लगायतका कृषिजन्य व्यवसाय नभएका त होइनन् । तर, यसका लागि जिल्ला र केन्द्र सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गर्छन् स्थानीय । अध्यक्ष खुलालका अनुसार पनि अहिले स्थानीय सरकारलाई नै सबै कामको जिम्मा आएको हुनाले स्थानीय तवरबाटै यसको समाधान गरिनुपर्छ ।

अहिले कृषिको प्राविधिक क्षेत्रमा केही सुधार देखिँदै आएको पाइन्छ । हिजोका दिन गाउँमा कफी लगाए पनि टिपेर प्रशोधन गर्न एउटा मेसिनसमेत थिएन । आज कम्तीमा त्यहाँ उत्पादित नगदेबालीले बजार पाएका छन् । बजार लानसक्ने वातावरणमा उपकरण र प्रविधिहरू भित्रिएसँगै थप उत्पादन गर्न कृषकहरू उत्साहित भएका छन् । अझै पनि गाउँपालिकाको वडाहरूमा संभावना भएको उखु खेतीका लागि भने पेल्नका लागि एउटा पनि आधुनिक उपकरण भित्रिएका छैनन् ।

त्यहाँका कृषक अहिले पनि गोरुलाई कोलमा बाँधेर कोलबाट पेलेर मात्रै उखुका रस निकाल्ने अनि सख्खर बनाउने गर्दै आएका छन् । उत्पादित सख्खर स्थानीय स्तरमै खपत हुँदै आएको छ । पशु प्राविधिकहरू गाउँगाउँ पुगेका छन् । उनीहरूले गर्दा प्रकोप नियन्त्रण, आकस्मिक उपचार सेवा लगायतका कार्य विस्तारित छन् । अझै पनि कृषि र पशुपालन क्षेत्रमा बजेट नहुँदा प्राविधिकहरूले सोचे जसरी काम गर्न सकिरहेका छैनन् ।

यद्यपि डाँडापारि क्षेत्रमा सिँचाइ, रासायनिक मल, कृषि उपकरणको कमी यथावत नै छ । वर्षको आधि समय जागेर खेतीकिसानी गरे पनि आधि समय आलटाल गर्दै बित्छ । जनसंख्याको आधि हिस्सा अशिक्षित, अन्धविश्वास र गरिबीको चपेटामा छन् । परम्परागत शैली अपनाउँदै खेतबारीमा खेती गरिन्छ । नगदेबाली, दलहन र तरकारीबालीप्रति कृषकको लगाव बढाउनसके आत्मनिर्भर बन्न धेरै समय नलाग्ने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया