छाउगोठ प्रथाकाे अन्त्य गर्ने कार्य सुरु

बाजुरा बडीमालिका । जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

अघिल्लो साता बूढीनन्दा नगरपालिका ९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु भएपछि प्रहरीले स्थानीय तहको सहकार्यमा गोठको तथ्याङ्क सङ्कलन गर्न थालेको प्रनाउ भाटले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुरा, टाँटे प्रहरीचौकी, इलाका प्रहरी कार्यालय कोल्टी र पिलुचौर प्रहरीचौकी कुन्नाले एकैसाथ छाउगोठको तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी प्रमुख भाटको भनाइ छ

प्रहरीले भदौ १ मा आएको कानूनको विषयलाई मध्यनजर गर्दै गाउँगाउँमा सचेतनाका कार्यक्रम गर्दै आएको प्रहरी प्रमुख भाटले बताए । जिल्लाको सबैभन्दा बढी त्रिवेणी नगरपालिका ६ पन्धारामा सबैभन्दा बढी गोठ भेटिएको हो ।

जिल्लामा छाउपडी कुप्रथाले जरो गाड्दै गएको छ । छाउ भएको बेला घरभन्दा टाढा राख्ने दूध दही र गाईगोरुलाई समेत छुन नपाउने प्रथा कायमै रहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बाजुराले पनि आजै नौवटै स्थानीय तहका प्रमुखलाई पनि छाउपडी गोठ हटाउन जिल्लामा निर्वाचित जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरी छाउगोठ भत्काउन पत्र पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

उनले बाजुरा जस्तो विकट क्षेत्रमा छाउपडी कुप्रथाका कारण विभिन्न घटना हुन थालेकाले सचेत नागरिक भएर छाउ भएका महिलालाई घरभित्रै बस्ने वातावरण र छाउगोठ भत्काउन स्थानीय तहलाई समन्वय गर्न पत्र पठाएको प्रमुख जिल्ला अधिकारी बरालको भनाइ रहेको छ ।

प्रतिक्रिया