सिमरा गोल्डकप : संकटा अन्तिम आठमा

बारा । गोलरक्षकको उत्कृष्ट प्रदर्शनले सिएमजी संकटा सरस्वती यूथ क्लबलाई टाईब्रेकरमा पराजित गर्दै सिमरामा जारी दशौं सिमरा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।  सिमरा रंगशालामा शनिवार भएको खेलमा टाइब्रेकरमा सिएमजी संकटाले ३–१ को गोलले विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइव्रेकरबाट निकालिएको थियो ।

खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट सरस्वतीले एक गोलले अग्रता लिएको थियो ।  पहिलो हाफमा सरस्वतीले लिएको अगं्तालाई बचाउन नसक्दा दोस्रो हाफको ५८ औं मिनटमा संकटाका लागि जय गुरुङले गोल गरेका थिए ।  निर्धारित समयमा एक एक गोलको बराबरीमा खेल रोकिएपछि खेल टाइब्रेकर सम्म पुगेको थियो ।  टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै संकटाका गोलरक्षकका राजाबाबु थापाले विपक्षीको गोल बचाउँदा टीम अन्तिम आठमा पुगन सफल बन्यो ।

टाइव्रेकरमा सरस्वतीका तिन प्रहार उत्कृष्ट बचाउ गर्न सफल थापा म्यान अफ दि म्याच बने । उनले सरस्वतीका भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार रोकेका थिए । सरस्वतीका लागि मोहन गुरुङले मात्रै टाइव्रेकरमा गोल गरे ।  संकटाका लागि टाइव्रेकरमा लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले गोल गरेका थिए । संकटाका अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्कियो ।

सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमीफाइनल प्रवेशका लागि मंगलबार थ्रीस्टार क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा शुक्रबार दुइ विभागिय क्लब एपिएफ र त्रिभूवन आर्मीले प्रतिष्पर्धा गर्नेछन् । म्यान अफ दि म्याच संकटाका गोलरक्षक थापाले १० हजार नगद प्राप्त गरे । उनलाई क्लबका अध्यक्ष कासिम मियाँ र पूर्व अध्यक्ष राजकुमार भट्टराईले म्यान अफ दि म्याचको ट्रफीसहित चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया