५४औं वार्षिकोत्सव मनाउँदै रावा बैंक

काठमाडौं । वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा सस्तो कर्जा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५४औं वार्षिकोत्सव मनाइरहेको छ ।

२०१९ सालमा स्थापना माघ १० गते स्थापना भएको बैंकले एक सातासम्मै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । सो अवसरमा बैंकले शनिबार प्रभातफेरी आयोजना गरेको छ । शुक्रबार बैंकले आफ्नै केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम गरेको थियो । बैंकले खेलकुद, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबारको प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरूसमेत संलग्न भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक ‘क’ वर्गका बैंकहरूमध्ये सबैभन्दा कम आधार ब्याजदर भएको बैंक हो । बैंकको आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ६.३ प्रतिशत आधार ब्याजदर छ । आधार ब्याजदर कम हुँदा बैंकबाट कर्जा लिनेले सस्तो ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६४ अर्ब निक्षेप संकलन गरी १२३ अर्ब कर्जा प्रवाह गरेको छ । कुल २ सय ७ शाखा, १७ एक्स्टेन्सन काउन्टर, ९३ शाखारहित बैंकिङ र १ सय ६५ एटिएम सहितको शाखा सञ्जाल छ ।

प्रतिक्रिया