‘सरकारविरुद्ध सडकमा उत्रन तयार हुनुस्’

पोखरा । नेपाली कांग्रेसका सभापति तथा पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् ।

सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओलि सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

पोखरामा नेपाल निजामति कर्मचारी यूनियन संघको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सरकारले विभिन्न नाममा कर्मचारीमाथी हस्तक्षेप बढाएको आरोप लगाए ।

कर्मचारीतन्त्र स्वतन्त्र हुनुपर्ने भन्दै उनले कर्मचारीमाथीको हस्तक्षेप नरोके सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।
‘ओलि सरकारले शिक्षा विधेयकको नाममा, कर्मचारी समायोजनमा पनि हस्तक्षेप गरेर नियन्त्रण गर्न खोजेको छ ।

राजनीतिकरण गर्न खोजेको छ, उनले भने–यही हस्तक्षेप रहिरह्यो भने सरकार विरुद्ध सडकमा जानुपर्ने स्थिति आउछ । तर त्यो अवस्था नआओस् भन्ने हाम्रो चाहाना छ ।’

जिपी कोइराला श्वासप्रश्वास केन्द्रको नाम हटाउन लागेको भन्दै उनले सरकारले अराजनीतिक गतिविधि देखाएको गुनासो गरे । ‘गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाको नाम सँगपनि सरकारलाई एलर्जी छ । हाम्रा महान नेताहरूको नाम पनि राख्न चाहाँदैनन्, उनले भने–आज नेताको नाम हटाउने र भोलि प्रजातन्त्र हटाउने षड्यन्त्र भैरहेको छ । काँग्रेसलाई यो सैह्य छैन ।’ नेपाल तरुण दलले प्रत्येक प्रदेशमा आन्दोलनको घोषणा गरिसकेकोले त्यसमा सघाउन देउवाले आग्रह गरे ।

कार्यक्रममा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले बिकास भत्तकाउने र इतिहास मासने काम गर्न थालेको आरोप लगाए । उनले लोकतन्त्र जोगाउन काग्रेसले सदन देखि सडक सम्म आन्दोलन गर्ने चेतावनी दिए ।

नेता पौडेलले स्थिर सरकार भए पनि शान्ति सुरक्षा, सुशासन र विकासमा असफल भइसकेको बताए । उनले सरकारले संवैधानिक निकाय लगायत सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न थालेको बताए ।

प्रतिक्रिया