नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

रौतहट । सुन्दा पत्याउन गाह्रो होला तर कुरा साचो हो । विदेशमा गएर नेपालीहरू विभिन्न कारण पीडित भएको सुनिए पनि रौतहटमा नेपाली टेम्पो व्यवसायीहरू आफ्नै देशमा पीडित छन् ।

लाखौं रूपैयाको जोहो गरी नेपाली प्लेटको टेम्पो र ई–रिक्सा किनेका व्यवसायीहरू यहाका स्थानीय तह र प्रशासनकोसाथ नपाउदा भारतीय टेम्पो व्यवसायीबाट पीडित बनेका हुन् ।

सदरमुकाम गौर मै बिना भन्सार र कर नतिरी गैर कानूनी रूपमा सवारी ओसार्ने भारतीय टेम्पोको बिगबिगी छ । यसप्रति कडाइ गर्ने सम्बन्धित निकाय चुप बसेपछि भारतीय सवारी साधन भन्दा अढाइ गुणा महंगोमा नेपाली नम्बरका टेम्पु तथा इ–रिक्सा किनेका यातायात व्यवसायीहरू यात्रु अभावमा दैनिक गुजारा गर्नसमेत अप्ठ्यारोमा परेका छन भने अवैध रूपमा चलेका भारतीय सवारी साधनले यात्रुबाट राम्रो आम्दानी गरिरहेका छन ।

भन्सार नियम अनुसार एक भारतीय टेम्पुले नेपाल प्रवेशका लागी ३ सय ३९ रूपैयाँ, जीप कारले ४ सय ५२ र मोटरसाइकले १ सय १३ रूपैयाँ प्रतिदिनका दरले राजश्व तिर्नुपर्छ । तर यसबारे सोच्ने निकाय नै सुस्त भएपछि राजस्व चुहावट बढनुका साथै नेपाली टेम्पो व्यवसायीहरू मारमा परेको स्थानीय कमलेस पटेलले बताए ।

गौर नगरपालिका तथा जिल्ला प्रशासनको १३ असोजमा बसेको बैठकले पुस मसान्त भित्र भारतीय नम्बर प्लेटका टेम्पुहरूलाई नेपालीकरण गर्न निर्देशन गरे पनि सो को पालना नभएको भन्दै नेपाली व्यवसायीले जोडदार माग उठाउदै आए पनि आज सम्म आफूहरूको आवाज सुन्ने कोहि नभएको ई–रिक्सा संघका अध्यक्ष लालबाबु पटेलले दुखेसो पोखे । भारतीय भन्दा अढाइ गुणा महंगोमा नेपाली नम्बरका गाडीहरू खरिद गरेर सरकारलाई कर तिर्दासमेत आफूहरूको माँगको बारेमा प्रशासनले कुनै चासो नदिएको अध्यक्ष पटेलले बताए ।

नेपालको कुनै पनि सिमाक्षेत्रमा यसरी भारतीय नम्बरका सवारी साधनले यात्रु नओसार्ने गरेको तर रौतहटमा मात्रै यो अवैध धन्दालाई प्रशासनले रोक्न नसकेको अध्यक्ष पटेलले बताए । दैनिक २० पटक सम्म यात्रु र सामान बोकेर भारतको बैरगनियाबाट गौर ओहर दोहर गर्ने टेम्पुलाई प्रशासनले यो दायरामा ल्याउन सकेको छैन ।

अर्कोतर्फ भन्सार नियमअनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार दस्तुर नतिरी एक देश बाट अर्को देशमा गुडन पाउदैन । तर, कानून र नियमलाई लत्याउदै एक पैसा पनि भन्सार नतिर्ने तर दैनिक रूपमा नेपालमै गुडने हजारौ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छैन ।

गैरकानुनी रूपमा यसरी बिना भन्सार कुदिरहका यी गाडीहरूले दुर्घटना गराउदा पनि जिम्मेवार को हुने भन्ने प्रश्न रहन्छ । लाखाैँको भन्सार राजश्व छलिसकेका यी गाडीहरूले क्षमताभन्दा बढी यात्रु बोक्दासमेत पनि कारवाही नहुनुले ट्राफिक प्रहरीको भूमिका पनि शंका गर्ने प्रशस्त ठाउँ दिन्छ ।

यातायात व्यवस्था ऐन २०४९ बमोजिम विदेशी नम्बरका सवारी साधनले भन्सार राजश्व नतिरी नेपालमा यात्रु ओसार्न पाउदैनन तर नियमनकारी निकायले चासो नदिए पछि रौतहटका अधिंकाश क्षेत्रहरूमा गैरकानूनीरूपमा भारतीय सवारी साधनहरू प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया