व्यक्तित्व – संघर्षले खारेको कलम

   उर्मिला कोइराला, स्रष्टा

मान्छेका संघर्षका कहानी आफ्नै किसिमका हुन्छन् । समाजमा केही गर्ने उत्कृष्ट अभिलाषा राखेर काम गर्ने जोकोहीले जीवनका विभिन्न आरोह अवरोह पार गर्दै आएका हुन्छन् । जिन्दगीको घुमाउरो राजमार्गमा कहिले उकाली त कहिले ओराली गरेर आफूलाई सिर्जनाका क्षेत्रमा होमेकी स्रष्टा उर्मिला कोइरालाले पनि विभिन्न घुम्ती पार गरेर आफूलाई सफल बनाएकी छन् ।

कविता प्रतियोगितामा प्रथम भएर घर आउँदा स्यावासी पाउनुको सट्टा कुटाइ खानुपरेको तितो सम्झना छ, उनको स्मृतिमा । उनले स्कुलेजीवनमा विभिन्न स्थानमा हुने गीत, कविता, नृत्य, खेल प्रतियोगितामा भाग लिन्थिन् । यी सबै सिर्जनाका विविध पाटासँग जोडिएबापत उनले घरपरिवारबाट निकै हप्कीदप्की भोग्नुपर्थो ।

कोइरालाले विगतको यस्तै, एक घटना सम्झिँदै भनिन्, ‘एकपटक कविता प्रतियोगितामा प्रथम भएँ । गाली खाने डरले घर आउँदा निधारको अबिर धारामा धोएँ । तर, घर आउन ढिलो भयो भनेर बाको कुटाइ खाएँ ।’  त्यतिवेला समाजमा विविध गतिविधिमा सक्रिय भएका युवतीलाई त्यत्ति निको नमान्ने भएकाले उनले पनि त्यसको सामना गर्नुप¥यो । ‘बुवाको डरले गीत, कविता लेखेको, अतिरिक्त क्रियाकलापमा भाग लिएको भन्न सक्तैन्थेँ । लुकीलुकी लेख्नुपथ्र्यो । घरमा ढिला आई भनेर बाले गाली गर्नुहुन्थ्यो ।’ उनमा गीत तथा कविताप्रति सानैदेखिको रुचि थियो । गीत गाउने, कविता लेख्ने उतिवेलाको रहर सम्झँदै उनले भनिन्, ‘बुवाको डरले गीत, कविता लेखेको, अतिरिक्त क्रियाकलापमा भाग लिएको भन्न सक्तैन्थेँ । लुकीलुकी लेख्नुपर्थ्यो । घरमा ढिला आइ भनेर बाले गाली गर्नुहुन्थ्यो ।’

हुनतः त्यतिवेलाको सामाजिक परिवेश छोरीप्रति अनुदार रहेको उनले सुनाइन् । अहिलेको २१औँ शताब्दीको चरम विकासको आधुनिक समयमा त नेपाली छोरीचेलीप्रति समाज उदार बनिसकेको छैन ।  उनले आफ्नो विगत सम्झिइन्, ‘त्योवेलाको कुरै नगरौँ । सबैमा शंका थियो । अशिक्षा, अन्धविश्वास तथा सामाजिक कुरीतिले गाँजेको त्यो परिवेशमा सिर्जनशील बन्छु भन्ने परिकल्पना निकै चुनौतीपूर्ण थियो, विशेषगरी नारीका लागि ।’

बुबा लक्ष्मण कोइराला र स्व. आमा सरस्वती कोइरालाबाट जन्मिएकी उनी सानोमा निकै चञ्चले स्वभावको रहेको बताइन् । नयाँ नयाँ विषयप्रति निकै रुचि जाग्ने त्योबेलाको संकुचनले फराकिलो दृष्टिकोण बनाउन नदिएको उनले जनाइन् । वास्तवमा मानिसको क्षमताको मूल्यांकन गर्न हाम्रोजस्तो रुढी समाज र परिवेश निकै अनुदार रहेको उनको बुझाइ छ ।

उनको बाल्यकाल काभ्रेको खोपासीमै बित्यो । गाउँलेजीवन घाँसदाउरा तथा मेलापातमै बित्थ्यो । उनी यी कामसँगै आमाबाबालाई घरधन्दामा समेत सघाउँथिन् । चञ्चले स्वभावको भए पनि उनी कसैसँग डराउँदैन्थिन् । मनमा लागेको कुरा बोलिहाथिन् । गाउन र लेख्न भनेपछि हुरुक्कै हुने उनले पानामा केही न केही लेखिरहिन् । उनले आफ्नो विगत सम्झँदै भनिन्, ‘म पनि निकै जिद्दीवाल थिएँ । घरमा जेपर्ला, सहुँला भनि विभिन्न कार्यक्रममा भाग लिने गर्दथेँ ।’ सहभागी भएका प्रायः प्रतिस्पर्धामा म खाली हात कहिल्यै फर्किदैन्थेँ । सबैमा सानो ठूलो पुरस्कार पाइहाल्थेँ ।’

घरका सबैले खुरुखुरु स्कुल जाओस् र आओस् भन्ने इच्छा हुन्थ्यो । आफूलाई भने स्कुलमा हुने सबै प्रतियोगितामा भाग लिन रुचि लाग्थ्यो । उनको यस कार्यबाट बा मात्र होइन घरमा अरू सदस्य पनि रिसाउँथे । तैपनि उनले लेख्न छोडिन्न । परिवारको गाली एक दिन तालीमा बदल्छु भन्ने अठोट लिइन् उनले ।

उनलाई जिन्दगीको नयाँ डोरेटोमा लैजान रेडियो नेपालबाट आउने कवितात्मक कार्यक्रम ‘मधुवन’ ले निकै सघायो । उनले भनिन् ‘नवराज लम्सालको प्रस्तुति र कविताको विषयमा उहाँले गर्ने टिप्पणीले प्रभावित भएँ । शुक्रबार मधुवन आउँथ्यो । मेरो जीवनमा कविता बुझ्ने बुझाउने जस केवल मधुवनलाई जान्छ । कहिलेकाहीँ स्कुुलको कक्षा छोडेर लुकेर पनि सुन्थेँ ।’ उनले स्कुलको पढाइ कक्षा १ सम्म घरनजिकै कालिका प्राविमा पढिन् । २ देखि श्रीराम माविमा पढिन् ।

इन्द्रेश्वर र परोपकार उच्चमाविमा प्लस टु र आरआर क्याम्पसबाट बिए र सान्दिपनी कलेज कोटेश्वरबाट बिएडसम्मको पढाइ सकिन् । तर, आफू पढाइमा त्यति उत्कृष्ट नभएको उनले बताउँदै भनिन्, ‘म स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भने निकै सक्रिय हुन्थेँ ।’ त्यसवेला साथीभाईसँग खेल्ने र रमाइलो गर्ने तथा सिर्जनात्मक कार्यमा उनी अघि सर्थिन् ।  समाज परिर्वतनको दिशामा अघि बढे पनि छोरीको उमेर अलिकति ढल्केपछि विवाह गरी हाल्नुपर्छ भन्ने मानसिकतामा खासै परिर्वतन आएको छैन ।

विवाहपछि छोरीको सपना मात्र बुढाको घर हो भन्ने सामाजिक मान्यता अभैm कायम छ । त्यस्तै, छोरीले स्कुलको पढाइसकेपछि बाँकी पढाइ किन चाहियो विवाह गरे भइहाल्यो’ नि भन्ने सामाजिक मान्यताले उनीलाई पनि छोडेन । जब घरका बिहेको कुरा चल्यो, उनलाई लाग्यो आज मेरा सपनाको अन्त्य भयो । उनलाई घरमा माग्न आए । आफनो सपनाभन्दा ठूलो उनको लागि परिवार थियो । एक मनले विवाहको कुरालाई नकार्न बल गर्दैथ्यो, अर्को मन बिमारी आमाको त्यो मुहार सम्झँदै थियो । उनी दोमनको शिकार बनिन् । आखिर एक आमाको सपना आफनो छोरीको विवाह एक असल घरमा भएको देख्नुभन्दा ठूलो के हुन्छ र ? यही सोचले उनी सबै सपना तिलाञ्जली दिएर बिहेको लागि राजी भइन् । उनले विगत सम्झिँदै भनिन्, ‘विवाह रहर होइन, बाध्यता हो । बाबा र आफन्तको इच्छा हो । म त्यही इच्छामा चल्न राजी भएँ ।’ उनको ०६१ सालमा भोलाप्रसाद भट्टराईसँग वैवाहिक जीवनमा बाँधिन् । उनले भनिन्, ‘उहाँसँगको सम्बन्ध सहज रूपमा स्वीकार गरे । आज उहाँको साथ र सहयोगले खुसी पनि छु ।’

एक श्रीमती, बुहारीबाट आमा बन्दा पाएको पीडा अनि त्यही पीडामा राहत थप्न सन्तानले दिएको खुसी उनको आँखामा झल्झली आएको उनले बताइन् । विवाहपछि सुरुआती दिनमा गाउँमा पानीको धारा निकै टाढा थियो । उनले सम्झिइन्, ‘एक गाग्री पानी ल्याउँदैमा बिहान जान्थ्यो । घर धन्दाको चाङ हुन्थ्यो । ठूली छोरी सानै थिई । कहिलेकाहीँ त कामै देखेर आत्तिन्थेँ ।’ उनले गाउँबेसी भन्ने आफूलाई थाहा नभएको बताइन् । गाउँबेसी गर्न कठिन हुन्थ्यो । पछि घर नजिकै चिया पसल राखेर पनि बसेँ ।

म सानै छँदा भ¥याङबाट लडेर टाउकोमा ‘चाँदे’ पसेको थियो रे ! आमा रुँदै भन्नुहुन्थ्यो । अहिले पनि ठूलो खत छ । त्यो ठूलो खतमा नाम्लो परेपछि म रन्थनिन्थेँ ।  तर, टाढाबाट गाग्रीमा पानी ल्याउँदा, अरू भारी बोक्दाको पीडा कसैलाई भनिनँ । आज पनि वेलावेला टाउको दुखिरहन्छ ।’ उनले सोचेकी थिइन् पराइको घरसँगै सबै सपना पराइ हुन्छ । तर, १२ वर्षपछि नि खोला फर्केर आउँछ भनेजस्तै उनले आफनो जीवनको १२ वर्षपछि आफ्नो सपनाको आधार बुन्न सफल भएको सुनाइन् ।

उनीसँग आफ्नो जिन्दगीका विभिन्न कुइँनेटा र मोडका याद धेरै छन् । तैपनि, आफ्नो यात्रामा उनी निर्भिकता साथ अघि बढिन् । हरेक जितमा पाएको खुसीले उनलाई जहिले अरूको अगाडि तर्कशील र निर्भिक बन्न सिकायो । साहित्यप्रतिको अनुरागले उनलाई सानैदेखि झक्झकाइरह्यो ।

बिहेपछिको पारिवारिक जिम्मेवारीलाई एउटा सहज गन्तव्यमा पु¥याएर उनले व्यवस्थित गरिन् । दुई सन्तान भए, १३ वर्षकी प्रत्युषा र ९ वर्षकी युनिष्का । उनीहरूको स्याहारसुसारमै समय बितेको पत्तै नभएको उनले बताइन् । उनले आफनो सपना मर्न कहिले दिइनन् । त्यही सपना पूरा गर्न पढाइ फेरि सुरु गरिन् । छोरीहरू हुकिँदै गए । उनले लेखेको देखेर छोरीहरु पनि त्यही बाटो समाउन थाले । छोरीहरूले उनको लेखनमा देखाएको चासोले उनलाई अगाडि बढ्न हौसला मिल्दै गयो । श्रीमानले सुरुका दिनमा आफ्नो लेखनयात्रामा वेवास्ता गरे पनि आजकल उनको प्रगति देखेर साथमै उभिएको सुनाइन् ।

०७३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा सहभागी भएर ‘उज्यालोको आत्मकथा’ कविताबाट तृतीय पुरस्कार जितेपछि उनलाई चिन्ने सर्जक बढ्न थाले । विभिन्न स्रष्टासँग संगत बढ्दै जान थाल्यो । यसले उनको लेखनीमा नयाँ ऊर्जा थप्दै गयो । उनी बद्रिनाथ अभिनव छन्दोबद्ध कविता प्रतियोगितामा प्रथम भइन् ।

उनका उज्यालोको आत्मकथा, बाढी, तेस्रो आँखा, जस्तो तिमी र म, पर्ख बाहिर ननिस्क आदि धेरै मन पराइएका कविता हुन् । उनका दुईवटा संयुक्त गजल संग्रह प्रकाशित छन् । उनको ‘दिलको गजुर’ एकल गीत संग्रह प्रकाशित छ । यसमा १ सय १ वटा गीत संग्रहित छन् । एउटा गद्य र अर्को पद्य गरी दुईवटा कविता प्रकाशनको तयारी रहेको उनले जानकारी दिइन् । जीवनका भोगाई देखेको भन्दा धेरै कठिन हुन्छ ।

प्रतिक्रिया