दुवै अनशनकारी एउटै अस्पतालमा

 

यसिमा महत, काठमाडौं । चिकित्सा शिक्षा विधेयकका विषयमा पारस्परिक भिन्न माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसी र विजय थापा एकै अस्पतालमा भर्ना भएका छन् । अनशनका कारण स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न थालेपछि दुवैलाई राजधानीको त्रिवि शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको हो ।

केसीलाई शुक्रबार बिहान तीन बजेतिर सेनाको नाइटभिजन हेलिकोप्टरबाट राजधानी ल्याइएको थियो । अर्का अनशनकारी थापालाई भने दिउँसो हेलिकोप्टरबाट ल्याइएको हो ।  डा. केसी र थापा दुवैजनाको स्वास्थ्य निरन्तर रूपमा खस्किँदो अवस्थामा रहेको भन्दै उनीहरूलाई आइसियुमा भर्ना हुन आग्रह उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए । आइसियुमा उपचाररत डा. केसीलाई अक्सिजन कमी भएपछि अक्सिजन दिइएको छ । त्यस्तै, उनको छातीको संक्रमण नियन्त्रण गर्नको लागि एन्टिबायोटिक चलाउन सुरु गरिएको बताइएको छ ।

मुटुको चाल र फोक्सोमा गम्भीर समस्या देखिएपछि धरानबाट गएका विशेषज्ञ टोलीले तत्काल उनलाई आइसियुमा नराखे जुनसुकै समयमा पनि अप्रिय घटना घट्ने चेतावनी दिएपछि इलामबाट राजधानीमा ल्याइएको हो । हाल उनको ब्लड, सुगर र फस्फोरस पनि कम भएको छ । डा. केसीलाई रिंगटा चल्ने, मांशपेसी दुख्ने, छाती दुख्ने भइरहेको पनि उनका सहयोगी प्रितम सुवेदीले बताए । डा. केसीको स्वास्थ्य अवस्था जुनसुकै समयमा पनि जटिल हुन सक्ने भन्दै चिकित्सकहरूले बेलैमा सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् ।

डा. केसी १० दिनदेखि अनशनरत छन् । यता, शुक्रबार बिहान ११ बजे उपचारका लागि ल्याइएका अनशनरत थापा अस्पतालबाट दिउँसै निस्केका थिए । ‘स्वास्थ्य अवस्था झनै बिग्रँदै गए पनि अस्पतालले आइसियु बेड खाली नभएको जानकारी गराएपछि थापा अस्पतालबाट निस्किएका थिए ।’ थापाका सहयोगी पुष्पराज भण्डारीले भने । यता, त्रिवि अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले अस्पतालमा सधँै बेड खाली नहुने भन्दै शुक्रबार पनि बेड नमिलेकै कारण थापा बाहिरिएको बताए । त्यस्तै, उनले आइसियुमा बेड खालि गरेर पुनः उनलाई अस्पतालमा ल्याइएको जानकारी दिए ।

११ बजेदेखि आकस्मिक कक्षमा बस्दा सामान्य उपचारसमेत नपाएको भन्दै थापाले माइतीघरमा गएर अनशनलाई निरन्तरता दिएका थिए । तर, पुनः बेलुकी अस्पतालले बेड खाली भएको जानकारी गराएपछि अस्पताल भर्ना गरिएको हो । थापा विगत ८ दिनदेखि डाक्टर केसीको विपक्षमा इलाममा अनशन बस्दै आइरहेका थिए ।

प्रतिक्रिया