भृकुटिमण्डपमा सुरु भयो हाईड्रो एक्स्पो

काठमाडौं । भृकुटीमण्डपमा हिमालयन हाईड्रो एक्स्पो सुरु भएको छ । नेपाललाई उर्जामा आत्मनिर्भर बनाउने सरकारको अभियानमा साथ दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को संयोजनमा सो एक्स्पो शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो ।

एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको अभियानलाई अघि बढाउन सो एक्स्पोले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले नेपालको समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रको विकास गर्न सरकारले कार्य योजना नै तय गरेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे । जलविद्युतलगायतका उर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुने र नेपाली जनता पनि सुखी र खुसी हुने उपराष्ट्रपति पुनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको उर्जा क्षेत्रको भविष्य सुखद् रहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले उल्लेख्य योगदान दिने विश्वास पनि व्यक्त गरे । त्यस अवसरमा उनले २ सय भन्दाबढि जलविद्युत आयोजनाको निर्माण गर्न निजी क्षेत्र अग्रसर भएकोमा खुसी व्यक्त गरे ।

३ दिनसम्म चल्ने एक्स्पोमा उर्जासँग सम्बन्धित उपकरण लगानी कर्ता र बैंक तथा वित्तिय संस्थाहरुले एक सय भन्दाबढि स्टल राखेका छन् । एक्स्पोमा उर्जासम्बन्धि नयाँ नयाँ प्रविधिका विषयमा विस्तृत जानकारी लिने व्यवस्था पनि गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए । भारत, चीन, नर्वे, ब्राजिल, इटाली, स्विडेन, बेलायतलगायतका मुलुकहरु सहभागी रहेको एक्स्पोमा ५० हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया