हेलेपको संघर्ष

एजेन्सी, सिड्नी । विश्व नम्बर एक सिमोना हेलेपले अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान बनाउन संघर्ष गर्नुपरेको छ । बिहीबार अमेरिकाकी २० वर्षिया सोफिया केनिनलाई पराजित गर्न हेलेपले तीन सेटसम्म कुर्नुप¥यो । पहिलो सेट ६–३ ले जितेकी रोमानियाकी हेलेपले दोस्रो सेट ६–७(५र७) ले गुमाएकी थिइन् । २७ वर्षिया हेलेपले तेस्रो सेट ६–४ ले जित्दै अस्ट्रेलियन ओपनको अन्तिम ३२ मा स्थान बनाइन् । हेलेपले अब अन्तिम १६ का लागि भेनस विलियम्ससँग प्रतिस्पर्धा गर्नेछिन् । अमेरिकाकी भेनस विलियमसले फ्रान्सकी एलिज कोर्नेटलाई २–१ को सेटमा हराएकी हुन् । विलियमसले ६–३, ४–६, ६–० को सेटमा नतिजा निकाल्दै तेस्रो चरणमा स्थान बनाएकी हुन् ।

‘आज कसरी जिते मलाई नै थाहा छैन,’ हेलेपले भनिन्, ‘कोर्टमा के भयो भनेर वर्णन गर्न कठिन छ । उनीजस्तो खेलाडीविरुद्ध खेल्न धेरै कठिन भयो । प्रत्येक बल सामना गर्न गाह्रो हुन्थ्यो । दोस्रो हाफमा म हल्का घाइते भए । तर, मैले संघर्ष गरे किनकी म यो खेल जित्न चाहन्थे । आशा गरौँ अर्को चरणबाट म राम्रो प्रदर्शन गर्नेछु ।’

मेलबर्नको रोड लभर एरेनामा छैटौं वरियाताप्राप्त युक्रेनकी एलिना स्भिटोलिना स्लोभाकियाकी भिक्टोरिया कुजमोभालाई २–० को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । २४ वर्षिया स्भिटोलिनाले ६–४, ६–१ को नतिजा निकालेकी हुन् । स्भिटोलिनाले अब चीनकी शुआई झाङविरुद्ध प्रतिस्पर्धा गर्ने्छिन् । शुआई झाङले चेक गणतन्त्रकी क्रिस्टियना प्लिसकोभालाई ६–३, ७–५ को सेटमा पराजित गरेकी थिइन् ।
यसअघि रसियन सुन्दरी मारिया सारापोभाले स्विडेनकी रेबेका पिटरसनमाथि ६–२, ६–१ को सहज जित निकाल्दै अन्तिम ३२ मा स्थान बनाएकी थिइन् । ३१ वर्षे सारापोभाले अब डेनमार्ककी तेसो वरियाताप्राप्त क्यारोलिन वोज्नियाकीसँग प्रतिस्पर्धा गर्ने्छिन् ।

पुरुषतर्फ स्विट्जरल्यान्डका स्टेन वावरिन्का प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएका छन् । उनी क्यानडाका मिलोस रोनिकसँग ३–१ सँग पराजित भएका थिए । ४ घन्टा १ मिनेट संघर्ष गरेका वावरिन्काले पहिलो सेट ७–६(७र४)ले जितेका वावरिन्काले बाँकी सेट ६–७(६र८), ६–७(११र१३), ६–७(५र७) ले पराजित भएका थिए ।

आठौं वरियाताका डोमिनिक थिएम अस्ट्रेलियाका १९ वर्षे एलेक्जी पोपरिनविरुद्धको खेलमा रिटायर्ट हर्ट भएपछि प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिए । पहिलो सेट ५–७ तथा दोस्रो ४–६ ले पराजित भएका थिएम तेस्रो सेटमा पनि २–० ले पछि परेका थिए ।

प्रतिक्रिया