सभामुख कप भलिबल एपिएफ: गण्डकी र प्रदेश–३ सेमिफाइनलमा

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गर्दै अर्को विभागीय क्लब एपिएफ दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा पुगेको हो । पहिलो सेट २५–१५ ले एपिएफले दोस्रो २५–१९ र तेस्रो सेट २५–१६ ले जितेको हो । एपिएफले अब फाइनल प्रवेशका लागि शुक्रबार प्रदेश नम्बर ३ सँग खेल्नेछ ।

प्रदेश तिनले प्रदेश एकमाथि जित निकाल्दै एपिएफसंगको भेट पक्का गरेको हो । न्यु डायमण्ड एकेडेमीका खेलाडी रहेको प्रदेश तिनले २५–३,२५–१४,२५–१० को सोझो सेटमा जित निकालेको हो । यस्तै आज भएको अर्को क्वाटरफाइनलमा गण्डकी प्रदेशले प्रदेश नम्बर पाँचमाथि जित निकालेको थियो । पहिलो सेटमा २५–१४ ले बिजय भएको गण्डकीले दोस्रो सेट २५–६ र र तेस्रो सेट २५–१७ ले जितेको हो । गण्डकीले सेमिफाइनलमा नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सुरु प्रतियोगितामा ७ प्रदेशका टोली र ३ बिभागिय क्लब सहभागी छन् । पाँच गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार रूपैयाँ पाउनेछ ।

उपविजेता टोलीले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रूपैयाँ प्राप्त गर्ने आयोकजले जनाएको छ । विधागत उत्कृष्ट बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्रशिक्षकलाई जनही पाँच हजार र उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया