पुलिस खप्तड गोल्डकपको फाइनलमा

धनगढी । नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा सिएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै पुलिस फाइनल पुगेको हो । बिहीबार धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तिर्थ रानाको हेडरले पोस्टको दिशा लिन सकेन । २७औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो । सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वन भर्सेस वनमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाए ।

दोस्रो हाफमा दुवै टोलीले अपेक्षित रूपमा आक्रमक मुभ बुन्न सकेनन् । संकटा ८०औं मिनेटमा अग्रता लिनबाट चुक्यो । पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पन्च गरेपछि पोजिसनमा नहुँदा सुभाष गुरुङले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५ औं मिनेटमा पुलिसका रवी पासवानको क्रसमा निरकुमार राईको प्रहारलाई गोलरक्षकले सहजै बचाए ।

टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे । पाँचौ प्रहारमा सुभाष गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए । पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रूपैयाँ प्राप्त गरे ।

पुलिसले अब प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रूपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रूपैयाँ पाउनेछन् ।

प्रतिक्रिया