निर्माणाधीन पुलको कागजात नियन्त्रणमा

रौतहट । संघिय सरकारबाट आएको ९० लाख गरुडा नगरपालिकामा प्राप्त भएपछि कागजमै बन्यो पुल भनेर समाचार प्रकाशित हुँदा अख्तियार दुरूपयोग अुनसनधान आयोग सक्रिय भएर अनुसन्धान कार्य सुरु गरेका छन् ।

रकम निकाशा भएको ८ महिना वितिसक्दा पनि पुल नबन्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दीवासको प्राविधिक टोली सेनीयर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठको नेतृत्वमा आएका तीन सदस्यीय टोलीले स्थलगत रूपमा अनुगमन गरी कागजातहरू नीयन्त्रणमा लिइ अनुसन्धान कार्य सुरु गरेको छ् ।

गरुडा नपा–१ जयनगर टोल, वडा नम्बर ६ लमहा नहरमा अमरपट्टी जाने बाटो तथा वडा नम्बर ६ पोठीयाही वडा कार्यालयको पछाडिको पुल निर्माण नगरप्रमुखले आफ्नै नातागोताका मान्छेहरू राखेर उपभोक्ता समिति गठन गरेका थिए । सो पुलका लागि असार २९ गते रकम निकासा भए पनि पुल निर्माण नभएपछि स्थानीयहरूले अख्तियारमा उजुरी गरेका थिए ।

गरुडा नगरपालिकाका उपमेयर रंगिला देवी जयसवालले पत्रकार सम्मेलन गरेर कागजमै तिन वटा पुल बनेर ९० लाख निकासा गरेको, अनाधिकृत रूपमा भारतीय सवारी साधनको नाममा रकम निकासा गरी मेयरले आर्थिक हिनामिना गरेको, प्रक्रिया पूरा नगरी कर्मचारी नियुक्ति गरेको समाचार सौर्य दैनिकमा प्रकाशित भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग वर्दीवासको टोलीले पुलसहित विभिन्न योजनाहरूको कागजात लिएर गएको बताइएको छ ।

निर्माण हुने तीनै स्थानहरूमा अख्तियारको प्राविधिक टोलीले अबलोकन गरी स्थानीय को प्रतिक्रिया तथा पुल निर्माण सम्बन्धमा कुनै प्रगति नदेखिएको सम्बधमा मुचुल्का खडा गरेर कागजातहरू लगेको हो । टोलीलाई स्थानीयले गत असारमा बनेको उपभोक्ता समितिसमेत अपारदर्शी रहेको जानकारी दिएका थिए ।

गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले अब दुईटा विकल्प रहेको बताउँदै उपभोक्ता समितिलाई दिएको निकासा रकम असुल उपर गर्ने वा सोही उपभोक्ता समितिलाई डिजाइन इस्टिमेट उपलब्ध गराएर पुल निर्माण कार्य सुरु गराउनुपर्ने बताए ।

पुल निर्माणको लागि गत असारमा बनेको तीन वटा उपभोक्ता समितिमध्ये दुइ वटा उपभोक्ता समितिको खाता मा ३० लाख नै रहेको, सो खाता रोक्का गरिएको तथा एउटा उपभोक्ता समिति ले पैसा झिकेकाले रकम अविलम्ब जम्मा गर्न पत्राचार गरिएको पन्थीले बताए ।

अधिकृत पन्थीका अनुसार पुल निर्माण नहुनुमा कार्यालयको कमिकमजोरी रहेको तथा पूल निर्माणको डिजाइन नै नभएको हुँदा उपभोक्ता समिति गठन गर्नु कार्यालयको त्रुटी रहेको स्पष्ट पारे । पुल निर्माणको डिजाइनको लागि लोकल रोड ब्रिज सपोट युनिट बर्दिवास कार्यालयबाट प्राविधिक ल्याएर यथाशिध्र पुल निर्माण गराउने जानकारी दिएको छ ।

प्रतिक्रिया