ताप्लेजुङ । व्यवसायिक रूपमा किविफलको खेती गर्न थालेका ताप्लेजुङका किसानलाई यसको बजारीकरणमा समस्या भएको छ ।
किविबाट राम्रो आमदानी हुन्छ भन्ने सुने पछि अन्य बालीनाली छाडेर यसको खेती सुरु गरेका यहाँका किसानले उत्पादन हुन थाले पछि भने बजार पाएका छैनन् ।
‘रेडियो पत्रपत्रिका लगायतमा किविबाट ठूलो आम्दानी हुने समाचार आउन थालेपछि ईलामबाट विरुवा ल्याएर खेती सुरु गरियो, अहिले उत्पादन हुन थालेपछि किलोको सय रूपैँयामा दिँदा पनि लैजाने कोहि भएनन्’–पाथीभरा यांवरकका किसान राजकुमार इजमले भने । किविबाटै आम्दानी हुने सपना देखेका उनले तीन वर्ष अघिदेखि कोदो, मकै लगायतका अन्न उब्जाउ हुने बारी मासेर किवि खेती सुरु गरेका थिए ।
सोहि ठाउँकै अर्का किसान सागर ईजमले मुस्किलले यो वर्ष उत्पादित किवि बिक्री गरे । उनले सस्तोमा दिएर नै बिक्री गरिसकेका हुन् । सागरले भने, ‘केही महंगोमा दिँदा बिकाउनै गाह्रो भयो, सस्तोमा दिदाँ लागत नै राम्रो नउठ्ने रहेछ, फ्याक्नुभन्दा घाटा नै सहेर पनि मुस्किलले बिक्री गरिसकियो ।’ यता सिरिजंघा गाउँपालिका–५ पेदाङका खेलप्रसाद बुढाक्षेत्रीले समेत यो वर्ष उत्पादित १५ क्विन्टल मध्ये झण्डै १२ क्विन्टल बिक्री नहुँदा भण्डारण गरेर राखेका छन् ।
‘गएको वर्ष समयमा बिक्री भए पनि यो वर्ष भने सिजन सकिनै लाग्दा सम्म बिक्री भएको छैन, झण्डै १२ क्विन्टल भण्डारण गरेर राखेको छु, सिजनपछि बिक्री हुन्छ कि, नभए खेर जाने भयो’–बुढाक्षेत्रीले भने । किविफल खाँदाको फाइदाबारे सबैलाई जानकारी नहुँनु, अन्य फलफुलको तुलनामा केही महंगो मूल्य पर्नुले पनि यसको बजारीकरणमा समस्या भएको बुढाक्षेत्रीको भनाइ छ ।
प्रतिकिलो दुई सय रूपैँयाभन्दा माथि बेच्दा मात्र फाईदा हुने तर सोभन्दा कम मूल्यले लागतसमेत उठाउन मुस्किल हुने किसानको भनाइ छ । तर, बिक्री नै नहुँने अवस्था आए पछि सस्तोमा बेच्न आफुहरू बाध्य भएको उनिहरूको गुनासो छ । यहाँका ग्रामिण क्षेत्रका अधिकांस किसानले पछिल्लो चार वर्षयता किविफलको खेती गर्दै आएका छन् । प्रतिगोटा तीन सयदेखि सात सय रूपैँया सम्म लगाएर विरुवा खरिद गरि खेती गर्दै आएका हुन् ।
समुद्री सतहबाट ८ सयदेखि २ हजार ९ सय मिटर सम्मको उचाइमा पर्ने पहाडी भू–भागमा किवी खेती हुने गर्छ । पहाडी क्षेत्रका किसानको आय आर्जनमा वृद्धि गर्न सघाउने खेती भए पनि बजारीकरणका सम्बन्धमा किसान अनविज्ञ हुँदा समस्या भएको स्थानीयको बुझाइ छ । नेपालमा उत्पादित किवी अन्तराष्ट्रिय बजारसम्म पुग्ने बताइए पनि ग्रामीण क्षेत्रका किसान भने बजारीकरणमै अलमलमा परेका छन् ।
प्रतिक्रिया