जिल्लाका अादेश उल्टाउने न्यायाधीशमाथि ‘कारबाही’

काठमाडौं । न्यायालय शुद्धीकरणको अभियानमा लागेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशमाथि आन्तरिक रूपमा काम तीव्र बनाएका छन् । उनले उच्च अदालत विराटनगरका ५ जना न्यायाधीशलाई न्याय परिषद् सचिवालयमा तानेका छन् ।

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको संगठित अपराध, कर्तव्य ज्यान तथा शरीर बन्धक तथा अपहरण मुद्दामा गलत नियतले न्याय सम्पादन गरेको भन्दै ५ जना न्यायाधीश परिषद्मा तानिएका हुन् ।

परिषद सचिवालयमा तानिने उच्च अदालतका न्यायाधीशहरूमा नागेन्द्र लाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेश कुमार सिंह र उमेशराज पौडेल छन् । जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।

राणाले प्रधानन्यायाधीश भएको एक हप्तामै न्याय सम्पादनमा विचलन देखिएका उजुरी परेका न्यायाधीशहरूलाई धमाधम सरुवा गरेर उनले आक्रमक ‘एक्सन’ थालेका थिए । न्यायाधीशहरूले गलत नियतका साथ न्याय सम्पादन गरी आदेश उल्ट्याएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले न्याय परिषद्को ध्यानाकर्षण गराएको थियो ।

‘५ जना न्यायाधीशविरुद्ध विभिन्न प्रकारका उजुरी परेकाले उहाँमाथि अनुसन्धान सुरु भएको छ,’ स्रोतले भन्यो, ‘अनुसन्धान नसकिँदासम्म न्याय परिषद्मा हाजिर लगाउने गरी काजमा तानिएको हो ।’

प्रतिक्रिया