डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गरः थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भन्दै डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । तर, सरकारले भने औपचारिक सम्वाद सुरु गरेको छैन ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले बिहीबार पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको बताए । ‘यो बिषय ‘समितिमा सकियो अब सरकारले के गर्ने गर्नुपर्छ,ड थापाले पत्रकार सम्मेलनमा भने ।

उनले प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित हुनसक्ने समेत बताए । उनले सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्रीजीले अग्रसरता लिने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।

सांसद थापाले डा. केसीलाई काम्युनिस्ट विरोधी र कांग्रेसको विल्ला भिराएकोमा असन्तुष्टि व्यक्त गरे । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दा डा. केसीले सरकारको नेतृत्व कस्ले गरेको छ भनेर कहिल्यै नहेरेको स्मरण गर्दै भने, ‘स्वास्थ्य क्षेत्रमा रहेको विकृतिको बिरोध गर्नु र जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिस्ट विरोधी हुनु हो,’ ?

डा. केसीका १६ मध्ये ७ वटा अनसन हुँदा कांग्रेस नै सरकारमा रहेको समेत उनले उल्लेख गरे । राजनीतिक दल, अदालत, अख्तियार सबै मिलेर चिकित्सा क्षेत्रलाई ध्वस्त पार्न लाग्दा डा. केसी त्यसको विपक्षमा उभिएको उनले बताए ।

डा. केसी पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै सांसद थापाले भने, ‘गोविन्द केसी फकिर हुन्, उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि हामी मार्न तयार भएका हौं,’ ? भन्दै प्रश्न गरे थापाले ।

प्रतिक्रिया