कृषि बिउ भण्डारण केन्द्र शिलान्यास

बाँके । डुडुवा गाउँपालिकाका किसानलाई सहुलियतमा कृषि बिउ उपलब्ध गराउनका लागि कैराँती बीउ संकलन तथा प्रशोधन भण्डार निर्माणको प्रक्रिया आरम्भ भएको छ । गाउँपालिका–२ कैराँतीपुरवास्थित कोटही मातामा रहेको करिब १० कठ्ठा जग्गामा तीन बर्षे योजना अन्र्तगत करिब साढे दुई करोडको लागतमा भण्डारण केन्द्र निर्माण प्रक्रिया शुरु गरिएको छ ।

सो भण्डारण केन्द्रको बुधवार एक समारोहका बिच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । शिलान्यास गर्दै अध्यक्ष चौधरीले किसानहरूले समयमा कृषि बिउ बिजन नपाएर राम्रो अन्न उत्पादन गर्न नसकेको अवस्थामा भण्डारण केन्द्रले समयमा बिउ उपलब्ध गराई उत्पादनमा बृद्धि गर्नमा सहयोग पुग्ने बताए ।

उनले भने–‘किसानले आफै उत्पादन गरेका बिउलाई यहाँ भण्डारण गरिन्छ र प्रशोधन गरि उपलब्ध गराइन्छ, र अन्यत्र पनि बिउ बिक्रीका निर्यात गरिन्छ ।’ गाउँपालिकास्तरमा यो पहिलो पटक यस्तो ठुलो परियोजना शुरु भएपछि किसानहरू समेत खुशी भएका छन ।

स्थानीय गोविन्दप्रसाद कैराँतीले केन्द्र निमार्ण तथा संचालनका लागि १० कठ्ठा जमिन दान गरेका छन । परियोजना अन्र्तगत वेयर हाउस (गोदाम), बीउ सुकाउने प्लेट फर्म, स्टोर भवन, ३ कोठा कार्यालय, बाउण्ड्री र खानेपानी शौचालय निर्माण गरिने छ ।

गाउँपालिकाको सहयोगमा कर्मागत रूपमा बार्षिक बजेट थप गरि निर्माण सम्पन्न गरिने सब इन्जिनियर मदनेश्वर झाले बताए । उनका अनुसार पहिलो चरणमा ४० लाखबाट निमार्ण शुरु गरिने र तेस्रो चरणमा निमार्ण सकिने योजना रहेको छ ।

अत्याधिक भण्डारण केन्द्रमा २ सय देखि ३ सय मेट्रिक टन बीउ भण्डारण गर्ने क्षमता रहेकोे छ । निर्माण हुने भण्डारण केन्द्रले बिउ भण्डारण, प्रशोधन, उत्पादन गरि अन्यत्र समेत बिक्रीका लागि निर्यात गरिने छ । केन्द्रमा धान, गहु मुख्य बालीका रूपमा राखिनेछ भने मकै र मसुरो पनि भण्डारण गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा उपाध्यक्ष साहिदा वानौ, वडाध्यक्ष गजेन्द्र प्रसाद कैराती, कार्यपालिका सदस्य लिलावती यादव, ढोडे पासी लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले कृषि बाली सिंचाईका लागि सोही स्थानमा बोरिङ समेत जडान गरेको छ । बोरिङ्गले किसानलाई खेतबारी सिचाईका साथै गाउँटोलबासीका लागि खानेपानीको सुबिधा समेत बिस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

त्यस अवसरमा कोटहीदेबी माताको मन्दिर भत्किएर जिर्ण अवस्थामा रहेकाले सो मन्दिरलाई पुर्ननिमार्ण गर्न थालिएको छ । बुधवार नै जग्गादाता कैरातीले मन्दिरको पुजापाठ गरि शिलान्यास गरेका छन ।

प्रतिक्रिया