जिल्ला अस्पतालको रूप फेरियो

हुम्ला । बिरामी उपचार गर्ने शय्यामा गन्ध मात्रै, विरामी त परै होस् कुरुवालाई विरामी बनाउने दुर्गन्ध । अव्यवस्थित उपचार कक्ष । कुन सेवा कहाँबाट पाईन्छ भन्ने जानकारी कहिँ कतै थाहा पाउन नसकिने । हेर्दा कुनै डम्पिङ साईटको जस्तो जताततै फोहर ।

स्वास्थ्य कर्मचारीलाई विरामीको रेखदेख गर्नमा समस्या हुने गरी विरामी कुरुवाको भिड जस्ता समस्या हुम्ला जिल्ला अस्पतालको अब कथा मात्र बनेको छ ।

हुम्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालले सेवामा विस्तार र उचित व्यवस्थापन गर्दा विरामीलाई सहज भएको छ । अस्पताललाई यसै वर्षबाट थप सुविधाकोसाथ सेवाको विस्तार गरिएपछि हुम्ली स्वास्थ्य सेवाग्राहीलाई राहत भएको हो ।

जिल्लाको अन्य गाउँपालिका र वडा पालिकाको स्वास्थ्य चौकीको भरमा उपचार गर्दै आएका सेवाग्राहीले सामान्य उपचारको लागि जिल्ला बाहिर जान नपरोस् भन्नको लागि सेवाको विस्तार जिल्ला अस्पतालले गरेको छ । अस्पतालको हरेक कोठामा विरामी मैत्री रंगरोगन, फोहरको उचित व्यवस्थापन, उपयोग नभएका कक्षलाई मर्मत संभार र विस्तार गरिँदा हाल जिल्ला अस्पतालको मुहार नै परिवर्तन भएको छ ।

‘विगत वर्षमा विरामीले सामान्य एक्सरे समेत गर्न नपाई हवाई जहाजको महँगो भाडा तिरेर जिल्ला बाहिर जानु पर्ने अवस्था थियो, हाल जिल्ला अस्पतालले यो सुविधा दिन थाले पछि यो समस्या टरेको छ, अब ढुक्कसँग विरामीको औषधोपचार गर्न सकिएको छ’ डाक्टर टासी अञ्जु लामाले बताइन् । त्यसै गरी विरामीको रोगको निदान गर्नको लागि ईसीजी सेवा पनि अस्पतालले दिन थालेको छ ।

यसै वर्ष सामुदायिक विकास कार्यक्रमको सहयोगमा एक्सरे भवनको छुट्टै निर्माण भएपछि रेडियोग्राफी सम्वन्धी सबै सेवा जिल्ला अस्पतालले दिन थालेको छ । भवनको मर्मत र एक्सरेमैत्री अस्पताल व्यवस्थापनले सुधार पछि हाल सेवा दिन सहज भईरहेको छ ।

अस्पतालमा राती विरामीको उपचार गर्नको लागि नर्सिङ्ग सेवा दिईरहेका स्वास्थ्यकर्मीको लागि ड्युटी कक्ष छुट्टै विभाग नहुँदा समस्या भईरहेको थियो, यो वर्षबाट नर्सिङ्ग ड्युटी स्टेशनको पनि स्थापना गरी विरामीको हेरविचार र उपचारमा सहज गरिएको डाक्टर टासीले बताइन् । अस्पतालमा सानो अक्सिजनको भेण्टिलेटरको सहयोगले भए पनि हाल सुविधा सहित उपचारमा स्वास्थ्यकर्मी लागि परेको लामाले बताइन् ।

अस्पतालको आकस्मिक कक्षमा विरामीले उपचारमा कठिनाई नहोस् भनेर पहिलेको भन्दा अहिले सफा र स्वच्छ समेत देखिएको छ । विरामीको उपचारको लागि २४ सै घण्टा दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा विरामीलाई उपचार गरिन थालिएको छ । केही महिना अगाडी चिनियाँ सरकारले स्वास्थ्य उपकरणको सहयोग पश्चात अझ सेवा प्रभावकारी रूपमा दिन सकिएकोमा चिकित्सक खुसी देखिएका छन् ।

दुर्गममा स्वास्थ्य सेवा दिनको लागि चिकित्सकको टोली आनाकानी गर्ने प्रवृत्ती भएको भएता पनि हाल जिल्ला अस्पताल, हुम्लामा स्थानिय दुई जना डाक्टर टासी अञ्जुक लामा र नविन रोकायाले अहोरात्र सेवा प्रवाह दिँदा हुम्ली सेवाग्राहीले लाभ लिन सकिरहेका छन् । हामी यहीँका स्थानिय भएकोले यहाँको वातावरणमा सामाञ्जस्य भई काम गर्नको लागि सहज भएको, हुम्ला जिल्लाको स्वास्थ्य सेवामा परिवर्तन गरी आफ्नै गृह जिल्लामा सेवा दिन पाएमा खुसी भएको दुवै डाक्टरको भनाई रहेको छ ।

अस्पतालको सहुलियत फार्मेसी सञ्चालन

बिरामीले जिल्ला अस्पतालमा निःशुल्क प्राप्त गर्ने औषधी बाहेक अन्य औषधी निजी फार्मेसी र मेडिकलबाट चर्को मूल्यमा किन्नु पर्ने अवस्थाबाट पनि पार पाएका छन् । यसै आर्थिक वर्षबाट जिल्ला अस्पतालले आफ्नै फार्मेसी सञ्चालन समेत गरेको छ । हवाई ढुवानीबाट औषधी भित्र्याउनु पर्ने भएको कारण निजी फार्मेसी र मेडिकलले चर्को मूल्यमा औषधीको विक्री वितरणबाट सेवाग्राही मर्कामा नपरुन् भन्नको लागि अस्पतालको फार्मेसी सञ्चालनमा ल्याईएको हो ।

नेपालगञ्ज, सुर्खेत र देशको अन्य शहरी क्षेत्रको मूल्यमा औषधीको विक्रि वितरण गरी विरामीलाई आर्थिक भार कम गराएको अस्पताल स्रोतले जानकारी गराएको छ । अस्पतालमा प्राप्त नहुने औषधीलाई निजी मेडिकल र फार्मेसीले २ सय देखी ५ सय प्रतिशत सम्म औषधी विक्रि गर्ने गरेको भएता पनि हाल विरामीलाई शहरी क्षेत्रको मूल्यमा नै औषधी किन्न पाउँदा ठूलो राहत भएको छ ।

सीमित स्वास्थ्यकर्मी, अहोरात्र सेवा

सीमित स्वास्थ्यकर्मीको दरवन्दीको कारण पनि जिल्ला अस्पतालले सेवा प्रवाहको लागि कुनै कसर बाँकी राखेको छैन । गत आर्थिक वर्षबाट रेडियोग्राफर, ल्याब टेक्निसियन र फार्मेसीमा काम गर्ने कर्मचारीको तलव भत्ता गाउँपालिकाको कार्यालय, सिमकोटले नै व्यहोर्ने गरी व्यवस्था मिलाए पछि अझ जिल्ला अस्पताललाई सहज भएको छ ।

३ जनाको दरबन्दीको रकम गाउँपालिकाले व्यहोर्दै आएको जसबाट विरामीको लागि सेवा सञ्चालनमा सहज भएको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । कोही कसैले सामान्य उपचारको लागि जिल्ला बाहिर जानु नपरोस् भन्नको लागि गाउँपालिकाको कार्यालय लागि परेको दर्जीले बताउनु भयो । जिल्ला अस्पतालको सेवा विस्तारसँगै अब दिशा, पिसाब, रगत, खकार जस्ता जाँच समेत सहज रूपमा दिन सुरु गरेको छ । पहिले कर्मचारी दरबन्दी नहुनु, सुविधा नहुनाले सेवाग्राहीले लाखौं खर्च गरी शहरमा उपचाको लागि जाने गरेका थिए ।

जिल्ला अस्पतालमा प्याराडेमिक्स र नर्सिङ्ग स्टाफको अभाव हुँदा हुँदै पनि राम्रो सेवा प्रवाह भईरहेको जिल्ला अस्पताल प्रमूख समेत रहेका डाक्टर टासी अञ्जुक लामाले बताउनु भयो । ‘हाल अस्पतालमा अत्यन्त दरबन्दीको अभाव रहेको छ, डाक्टरको दरबन्दी ३ जनाको भएको भएता पनि स्थानिय २ जना डाक्टरले भ्याईनभ्याई काम गर्नु परेको छ, भएका अन्य कर्मचारीलाई पनि बढी समय सम्म खटाउनु पर्ने अवस्था रहेको छ त्यही पनि जसोतसो राम्रो उपचार गर्ने र व्यवस्थापन गर्ने प्रयास गरेका छौं’ डा. लामाले बताए । प्रदेश सरकारले प्रयाप्त मात्रामा स्वास्थ्यकर्मीको व्यवस्था गरेको भए जिल्लामा स्वास्थ्य क्षेत्रमा राम्रो प्रवन्ध गर्न सकिने अवस्था रहेको जिल्ला स्वास्थ्य प्रमुख तुलसी प्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया