पाल्पाको रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल

बेझाड । पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक त्यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका दश समूहको सहभागिता रहने संयोजक शंकर खाँणले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख ५० हजार, दोस्रो पुरस्कार नगद रु एक लाख र तृत्तीय पुरस्कार नगद रु ५० हजार रहेको छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाख बराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

केन्द्रसम्म सडक जोडिएपछि स्थानीयवासीमा खुशीयाली

सडक सञ्जालले पछाडि परेको पूर्वखोला गाउँपालिकाको केन्द्रसम्म सडक जोडिएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।गाउँपालिकाको केन्द्र सिकारभञ्याङ अर्खलडाँडा रामपुर नगरपालिका ९ को बगैँचासम्म र पूर्वखोला १ सिलुवा सम्मको १० किलोमिटर सडक जोडिएपछि स्थानीयवासीलाई सहज भएको छ ।

सो सडकको प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले गाउँगाउँमा संघीयताको प्रतिफल देखिन सुरु गरेको बताए । उनले २०७८ सालभित्र पूर्वखोला गाउँपालिका नमूना गाउँपालिका बन्ने जानकारी दिए । आचार्यले गाउँपालिकाका सबै गाउँबस्तीमा यातायात सेवा सहजसँग गुड्ने भएपछि अब अर्को वर्ष एक घर एक धाराको कार्यक्रम ल्याउने बताए ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाले गाउँबस्ती र टोलटोलमा सडक सुधार गर्दै जाने बताए । कार्यालयको आर्थिक सहयोग र जनश्रमदानबाट सडक निर्माण गरिएको हो ।

प्रतिक्रिया