समयमा परीक्षण गरे रोक्न सकिन्छ, क्यान्सर

समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बँच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुन सक्ने क्यान्सरका बारेमा जानकारी हुने भए पनि जनचेतनाको अभावमा बर्सेनि धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई परीक्षणसम्बन्धी तालिमसमेत दिँदै आएको छ ।

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटी अस्पतालमा सन् २०१७ मा ४ हजार ९ सय ७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५ सय ४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउँछन् । उनका अनुसार सन् २०१६ मा ४ हजार ७ सय ७५ मध्ये ६ सय ५ मा पाठेघरको मुखको क्यान्सर देखिएको थियो भने सन् २०१५ मा ४ हजार ५ सय ८१ बिरामीमध्ये ५ सय ४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो ।

सिवाकोटीका अनुसार महिलामा देखिएका क्यान्सरमध्ये २० प्रतिशत पाठेघरको मुखको क्यान्सर रहेको छ । प्रविधि र खर्चको हिसाबले रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको सिवाकोटी बताउँछन् ।

अस्पतालले चालु आर्थिक वर्षमा विभिन्न ठाउँमा पुगेर पाँच हजार महिलाको पाठेघरको मुखको श्रव परीक्षण गरेको छ । यस वर्ष १० हजार महिलाको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको छ । यससँगै ४० स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको सिवाकोटीले बताए ।

पाठेघरको क्यान्सर सामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ । कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ । ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अंग विशेषले निश्चित् आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन् । विवाहित यौन जीवनसँग आबद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

महिला क्यान्सर रोग विशेषज्ञसमेत रहेकी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य समयमा परीक्षण गर्न सकेमा यो रोगबाट बचाउन सकिने बताउँछन् । महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुने आचार्यले बताए ।

नेपालमा बर्सेनि कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक छैन । साधारणतया यो रोग ४० वर्षपछि देखापर्ने भए पनि नेपाल लगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ ।

ह्युमेन पापिलोमा भाइरस (एचपिभी) पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो । साधारण किसिमको मानिने यो भाइरस यौन कार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक संक्रमित हुने मानिन्छ । आचार्यका अनुसार पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाईको अभाव, सुर्तीजन्य पदार्थ सेवन र गुप्तांगसम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई हुने जोखिम बढी हुन्छ ।

महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनांगबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन् ।

यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ ।

पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ÷छैन थाहा पाउन अल्ट्रासाउन्ड, सिटीस्क्यान, आइभियू वा एक्सरे गराउनुपर्छ ।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. बिनुमा श्रेष्ठ पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने बताउँछिन् । रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) गरिन्छ ।

उनले सरकारी तबरबाट देशैभरिका महिलालाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । सहरी क्षेत्रमा जनचेतनाका कारण केही महिलाले परीक्षण गर्ने गरेको भए पनि अधिकांश महिलाले परीक्षण गरेको पाइँदैन । हल्का रूपमा यसलाई नलिन र समय–समयमा परीक्षण गर्न उनले सुझाव दिए । जनवरीलाई विश्वमा पाठेघरको मुखको क्यान्सर सचेतना महिनाका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया