कर्णालीमा बढ्दै मातृ मृत्युदर

वीरेन्द्रनगर । गुर्भाक–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आएकी उनको सुत्केरी भएको नौ दिनमा ज्यान गयो । स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो ।

‘सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो’, गुर्भाकोटका नगर स्वास्थ्य संयोजक किरण वलीले भने । यस्तै, सुर्खेत वीरेन्द्रनगरकी २७ वर्षीया निशा सुनारको सुत्केरी हुँदा कालागाउँमा रहेको प्रदेश अस्पतालमा ज्यान गयो । गत जेठ २६ गते प्रदेश अस्पतालमा भिडियो एक्सरे गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रै देखिएको थियो ।

सोही दिन राती एक्कासि सुत्केरी व्यथाले च्यापेपछि उनलाई अस्पताल लगियो । राति १ बजे शल्यक्रिया गरेपछि उनको मृत्यु भएको निशाकी दिदी सुनकेशा परियारले बताइन् ।

‘भिडियो एक्सरे गर्दा चिकित्सकले आमा र बच्चाको अवस्था राम्रै छ भनेपछि हामीले अन्यत्र लगेनौँ’, उनले भनिन्, ‘एक्कासि चिकित्सकले बच्चा मरेको छ शल्यक्रिया गर्नुपर्छ भने पछि आमालाई बचाउन सकिएन उनले भने ।’ चिकित्सकको लापरबाहीले बहिनीको ज्यान गएको उनको आरोप छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामा हुने यस्ता खालका लापरबाहीबाट सुत्केरीको ज्यान जाने गरेको छ । पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा अनुदान रकमका लागि शल्यक्रिया गर्ने गरेका कारणले यस्ता घटना निम्तिने गरेका छन् । कतिपयको स्वास्थ्य संस्थामा पु¥याउने क्रममा बाटोमै ज्यान जाने गरेको छ ।

यस्तै, मध्येकी हुन् सुर्खेतकी कविता परियार । समयमै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा परियारको मृत्यु भयो । सुत्केरी व्यथा लागेपछि जिल्ला बाहिरको स्वास्थ्य संस्थामा पठाउने क्रममा उनको मृत्यु भएको स्थानीयवासी निर्मला केसीले बताइन् । उनले भारतमा गएर असुरक्षित गर्भपतन गराएकी थिइन् । नजिकको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि उनलाई जिल्ला बाहिरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

चिकित्सकको लापरबाहीले होस् या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा बर्सेनि कर्णाली प्रदेशमा सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ । पाँच वर्षयता कर्णाली प्रदेशमा १ सय १५ महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी जाजरकोट र मुगुका सुत्केरी रहेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार आव ०७०-७१ मा ३३, ०७१-७२ मा १४ जना ०७२-७३ मा १३ जना ०७३÷७४ मा १८ तथा आव ०७४-७५ मा ३७ सुत्केरीले ज्यान गुमाएका छन् ।

सुर्खेतमा ५२ स्वास्थ्य संस्था तथा दुई अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा छ । अधिकांशमा दक्ष जनशक्ति र उपकरणको अभाव छ । नजिकको स्वास्थ्य संस्थाप्रति अधिकांश नागरिकको विश्वास हुँदैन । सुविधा भए पनि नजिकको स्वास्थ्य संस्थामा प्रसूति गराउन नजाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठले बताए ।

पछिल्लो समय असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स संगीता खड्का बताउँछिन् । ‘भारत गएर असुरक्षित रूपमा गर्भपतन गराउनेको सख्या अत्यधिक छ, यसले सुत्केरी अवस्थामा जटिलता ल्याउने गरेको छ’, उनले भने, ‘यस क्षेत्रमा रक्तअल्पताका कारण तथा समयमै स्वास्थ्य संस्थामा नजाँदा महिलाको ज्यान जाने गरेको छ ।’

प्रतिक्रिया