कठ्यांग्रिदो चिसोमा रात बिताउँदै

हुम्ला । तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्लाका महिला महिनावारी हुँदा घरबाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरू खुला आकाशमुनिको चिसोमा रात कटाउन बाध्य छन् ।

हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नुपर्ने बाध्यता रहेको छ । सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी सविता थापाले आफूहरू महिनावारी हुँदा पुस–माघको कठ्यांग्रिदो चिसोमा खुला आकाशमुनि बस्दै आएको बताइन् ।

सामाजिक मान्यता र वर्षाैंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका वेला यस्तो सास्ती खप्नुपर्छ । उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन्, ‘म अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी सुरु भएदेखि आजसम्म घरको आँगनमा आगोको भरमा बस्दै आइरहेकी छु ।’

फेरुवा र छालाको सानो लिप्टो (सानो टुक्रा) ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजिक बसेकी फडेराले यो महिलाहरूको रहर नभएर बाध्यता भएको बताइन् । अन्य गाउँपालिकाका महिला भने महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घरबाहिरै बस्ने गर्छन् । फडेराले भनिन्, ‘यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदाहुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।’

१२ कक्षा उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कुप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नुपर्ने अवस्था रहेको दुखेसो पोखिन् । उनापानी गाउँ जिल्लाकै शिक्षित गाउँका रूपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरूले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए ।

चिसोका कारण यहाँका अधिकांश महिला बाथ, दम, निमोनियाजस्ता रोगको सिकार बन्ने गरेका छन् । सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।

सिमकोटमा पनि छाउपडीको विभेद

सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा पनि छुई हुँदाका बखत विभेद गरिन्छ । सिमकोट गाउँपालिकामा आठ वडा छन् । सिमकोट बजारमा छुईलाई सामान्य प्रक्रियाकै रूपमा लिने गरिए पनि वडा ७ र ८ मा यो कुप्रथा कायमै रहेको तिर्थपुरी सिंहले बताइन् । महिनावारी हुँदा धामी, झाँक्रीको देउता लाग्ने डरले महिला घरभित्र पस्न नमिल्ने भएको सिंहको भनाइ छ ।

स्थानीय सरकारले महिलासम्बन्धी कार्यक्रम दैलोदैला पुर्याउन नसके पनि अबका दिनमा हुम्लालाई छाउमुक्त जिल्ला बनाउने प्रतिबद्धता सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले व्यक्त गरे ।

लामा समुदाय भने उदार

हुम्लाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले भने महिनावारीलाई नियमित तर सामान्य प्रक्रियाका रूपमा मात्रै लिने गर्छन् ।

जिल्लाको नाम्खा गाउँपालिकामा १ देखि ५ वडासम्म सबैमा लामा समुदायको बसोबास रहेको छ भने सिमकोट गाउँपालिका वडा ३ र ४ मा लामा समुदायको बाक्लो बस्ती रहेको छ । लामा समुदायमा महिला महिनावारी हुँदा घरबाहिर बस्ने चलन नभएको सिमकोट–३ की माया लामाले बताइन ।

लामाले भनिन्, ‘महिनावारी हुँदा हामी सामान्य प्रक्रिया जस्तै ठान्दछौँ । जुन समय महिनावारी हुन्छौँ त्यतिखेर नै सफा भएर बस्छौँ । घरबाहिरै बस्नुपरेको छैन । सुत्केरी हुँदा पनि फरक घर नभएर परिवारसँगै बस्ने गर्छौं ।’

प्रतिक्रिया