गोरु जुधाईको रौनक

काठमाडौं । माघे संक्रान्तिमा नुवाकोटमा गराइने ऐतिहासिक गोरु जुधाई हेर्न ठूलो घुइँचो लागेको छ ।

रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल वेत्रावतीबाट शुरु भएको मानिने गोरु जुधाउने परम्परा अहिले धादिङ र धनकुटामा पनि गरिन थालेको छ । प्रत्येक वर्षको मकर संक्रान्तिका दिन बेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ ।

यस वर्ष आठ हल गोरुको घम्साघम्सी भएको छ । १६ जना कृषकले पालेका बलियो गोरु बेत्रावतीमा ल्याइएका थिए । विसं १८४९ असोज १७ गते नेपाल र चीनबिच बेत्रावतीमा भएको सन्धिको खुसीयालीमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आइरहेको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए ।

सो गोरु जुधाई हेर्न जिल्लासहित देशका विभिन्न स्थानबाट मानिसहरु नुवाकोट पुगेका थिए । मेला जस्तो लाग्ने सो जुधाई हेर्न बाह्य पर्यटकसमेत पुग्ने गरेका छन् । मंगलवार उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका–३ तारुकामा २३ हल गोरु जुधाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको थियो । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।

बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाइ रहेको छ । अहिले स्थानीयवासीले संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक मिति नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो २०० सय वर्ष पुरानो मानिन्छ ।

उता, धनकुटाको पाख्रिबास नगरपालिका ७ स्थित मुगामा यसवर्ष पहिलो पटक १५ हल गोरु जुधाइएको माघेसंक्रान्ति मेला व्यवस्थापना समितिका अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए । प्रतियोगितामा पाख्रिबासको नगरपालिका ८ का महसुर राईको गोरु प्रथम भएको छ । प्रतियोगितामा प्रथम भएको गोरुले १५ हजार रुपैयाँ पुरस्कार पाएको छ । माघेसंक्रान्ति मेला आयोजक समितिले मनोरञ्जनात्मक खेलको रुपमा गोरु जुधाउने प्रतियोगिता आयोजना गरेको आयोजक समितिका कोषाध्यक्ष नवीन बराइलीले बताए ।

यस्तै, यस वर्ष पनि धादिङको खाल्टे र धुवाँकोटमा पनि महोत्सवकै रुपमा गोरु जुधाउने कार्यक्रम गरिएको छ । ४ वर्षयता हरेक माघ १ गते चमेरे गुफा संरक्षण समाजले सांस्कृतिक पर्वको महत्व दिँदै गोरु जुधाउने महोत्सव आयोजना गर्दै आएको हो ।

यस वर्षको गोरु जुधाउने महोत्सव उद्घाटनका लागि कृषिमन्त्री चक्रमाणी खनाल हेलिकप्टर चार्टर गर्दै धादिङको खाल्टे पुगेका थिए । फराकिलो बारीको पाटोमा गाउँका बलिया साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाउने चलनलाई पर्वकै रुपमा मनाइएको हो ।

प्रतिक्रिया