हुम्लामा धुमधामले मनाइयो माघी पर्व

हुम्लाका विभिन्न मन्दिर र देवालयमा माघी पर्व दर्शन गरी भक्तजनले धुमधामका साथ मनाएका छन् । विशेष गरी जिल्लाको वीच भागमा रहेको सर्केगाड गाउँपालिकाको देवकाँध तिर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थिती सहित माघी मनाइयो । गाउँपालिकाको वडा नं. ६ र ७ को सिमानामा रहेको देवकाँधमा हजारौं भक्तजनले दर्शन गरी माघी पर्व मनाईएका छन् ।

बराई वडाबाट करिब आधि घण्टाको पैदल र रोडिकोटबाट १ घण्टाको दुरीमा रहेको देवकाँध तिर्थस्थलमा माघी पर्वमा दर्शन गर्दा आफुले चिताएको पुरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार राती श्रद्धालु भक्तजन देवकाँधमा उपस्थिती भई रातभर जाग्राम रही मनले चिताएको माग्ने यो तिर्थस्थल सर्केगाड र चंखेली गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल हो । मुख्य सडकबाट करिब १५ मिनेटको दक्षिणी भिरको गुफा भित्र यो तिर्थस्थल रहेको छ ।

गुफाभित्र अनेकौं आकृतीमा रहेको भगवानको तस्विर प्राकृतिक रुपमा नै कुँदिएको अवस्थामा देख्न पाईन्छ । उक्त गुफा २ यस फिटको फराकिलो भुभागमा फैलिएको छ । ठाउँ ठाउँमा गाइको थुन आकारमा विभिन्न ठाउँमा प्राकृतिक रुपमा कुँदिएको बुट्टाले गुफालाई थप अर्कषक बनाएके छ भने यसलाई धर्मिक दृष्टिले पनि महत्वका रुपमा लिने गरिन्छ ।

हरेक वर्षको माघे संक्रान्तीको अवसरमा मात्र दर्शनको लागि खुला हुने देवकाँधको पौराणिक मान्यता धेरै रहेको स्थानिय धर्मराज बुढाथोकीले बताए । यस स्थानमा दर्शन गरी सन्तान नहुने भक्तजनले सन्तानको बर माग्दा अर्को वर्ष सन्तान प्राप्त हुने विश्वास गरिन्छ । यस्तै धन, दौलत र पशु लगायत अन्य मागेको वरदान समेत हुने ठूलो धार्मिक विश्वास रहेकोले जिल्लाका भक्तालुहरुको आस्था रहेको बुढाथोकीले बताए । रातभर जाग्राम बसी भजन किर्तनसहित पुजाआजा गरी विहान नै भक्तजन घर फर्कने चलन रहेको छ ।

देवकाँधमा माघीको अवसरमा ब्रतबन्ध लगायत अन्य शुभकार्य समेत गरिदै आएको छ । माघीको दिनमा यस स्थानमा शुभ कार्य गर्न साईत हेर्न नपर्ने पौराणिक मान्यता रहेको छ । धार्मिक तिर्थस्थलको जिल्ला भित्र र बाहिर प्रचार प्रसार नहुँदा देवकाँधको महत्व अझ कम भएको स्थानिय कैलाश बुढाथोकीले बताए । तिर्थस्थलसम्म पुग्ने बाटो अप्ठ्यारो भिरमा रहेकोले भक्तालुको उपस्थिती सोचेको जस्तो हुन नसकेको सर्केगाड गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत योगेश्वर पाण्डेले बताए । यस आर्थिक वर्षमा वजेट विनियोजन ताका वडा पालिकाबाट योजनाको माग नभएकोले पवित्र तिर्थस्थलसम्म बाटोको योजना नभएको भएता पनि पालिकाले गोरेटो बाटो निर्माणको लागि योजनाको साथ लागि पर्ने पाण्डेको भनाई छ ।

सर्केगाड पालिकाको अत्यन्त धार्मिक मान्यता राख्ने स्थलको संरक्षण र सम्वर्धनको लागि गाउँपालिकाले वृहत योजनाको साथमा पर्यटक भित्र्याउनको लागि आवश्यक भएकोले यसलाई विशेष ध्यान दिईने अध्यक्ष कृष्ण रोकायाले बताए । दर्शन पछि तिर्थालु भक्त महिला र पुरुषले स्थानिय देउडा भाषमा गित गाउनका साथै नृत्य गरी रमाईलो गर्ने चलन रहेको छ । देउडा खेलको लागि जिल्लाका विभिन्न गाउँबाट दर्शनार्थीको सहभागि रहने गरेको छ ।

त्यसै गरी माघीका अवसरमा हुम्ला जिल्लाका मानिसले आफूलाई पायम पर्ने विभिन्न स्थानमा रहेको मन्दिरमा गई दर्शन गर्ने प्रचलन रहेको छ । सिमकोट गाउँपालिकाका र खार्पुनाथ गाउँपालिकाबाट तिर्थालु भक्तजन खार्पुनाथ मन्दिरको दर्शन गर्न जाने गर्दछन् । उनीहरु रातभर आगो बालेर खार्पुनाथ मन्दिर परिसरमा देउडा नृत्य सहित युवा युवतीले रमाईलो गरि चाड मनाउँछन् ।

हजारौंको संख्यामा रहेका दर्शनार्थीको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यलय, सिमकोट र खार्पुनाथ प्रहरी चौकीबाट ५० जनाको सुरक्षाकर्मी परिचालन गरिएको स्रोतले जानकारी गराएको छ । माघे संक्रान्तीका बेला कुनै पनि अप्रिय घटना नभएको र मेला धुमधाम सम्पन्न भएको स्थानीय सुरक्षा निकायले जनाएको छ । हुम्लामा माघि पर्वलाई आपसी सद्भाव र भेटघाटको अवसरका रुपमा पनि लिने गरिएको छ साथै योे पर्वलाई सम्वन्ध सुधारको रुपमा पनि लिने गरिएको छ ।

प्रतिक्रिया