एकीकरण अभियानकी अभागिनी नारी

पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल निर्माण भएको होइन कि नेपाल विघटन हुनबाट वा समाप्त हुनबाट जोगिएको हो । यसको आरम्भ पृथ्वीनारयण शाहले गरे पनि अधिकांश काम राजेन्द्र लक्ष्मीले आफ्नो सौर्यता र आफ्ना माइतीको सहयोगमा सम्पन्न गरेकी हुन्

यसपटक पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निकै कडा विज्ञाप्ति जारी गरे । गणतन्त्र स्थापनापछि राज्यका तर्फबाट पृथ्वी जयन्ती मनाउन छाडिएको थियो । तर, ज्ञानेन्द्र शाहले यति कडा विज्ञाप्ति जारी गरेका थिएनन् । गत वर्षदेखि सरकारीस्तरमै पृथ्वीजयन्ती मनाउन सुरु गरियो । राष्ट्रपति स्वयं नै उपस्थित भएर पृथ्वी जयन्ती मनाउने परम्परा गत वर्षदेखि सुरु भयो ।

तर, पूर्वराजा शाहले यसअघि कहिल्यै प्रकट नगरेको आक्रोश यसपटक पोखे । राष्ट्रपति स्वयं नै उपस्थिति भएर गरिने सम्मानभन्दा ठूलो सम्मान अर्को हुन सक्दैन । तर, पनि राजावादीहरू सन्तुष्ट भएनन् । राजावादीहरूको यो असन्तुष्टिलाई सामान्य रूपमा लिनु हुन्न ।

पृथ्वीनारायण शाह दूरदर्शी राजनेता थिए । उनले गरेको योगदान महान् थियो । तर, पृथ्वीनारायण शाहलाई एकथरीले देवत्वकरण गरे त्यसको प्रतिक्रिया स्वरूप अर्काथरीले राक्षसीकरण गरे । पृथ्वी जयन्तीकै सन्दर्भमा पनि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले रामशाहपथमा गएर पृथ्वीनारयण शाहको सालिकमा माल्र्यापण गर्दै गर्दा अर्काथरीले कीर्तिपुरको एउटा ढुंगामा गएर थुक्ने कार्यक्रम बनाएका थिए ।

कीर्तिपुरेहरूको नाक र कान काटेर गोर्खालीहरूले उक्त ढुंगामा थुपोरेको किंवदन्ती छ । पृथ्वीनारायण शाहको देवत्वकरण गर्नुभन्दा उनको योगदानलाई जस्ताको त्यस्तै इतिहासमा उल्लेख गरिएको भए पृथ्वी जयन्तीमा यसरी ढुुंगामा थुक्ने परम्परा सुरु हुँदैनथ्यो ।

त्यो वेलाको परिस्थितिमा युद्ध नगरी एकीकरण सम्भव थिएन । सानो सहभागिताले युद्ध जित्न सम्भव थिएन । निश्चय पनि पृथ्वीनारयणशाहले सुरु गरेको एकीकरण अभियानमा धेरै नै ठूलो सहभागिता थियो । अनेक वीर वीरंगनाहरू युद्धमा सामेल भएका थिए । तर, इतिहास लेखियो पृथ्वीनारायण शाहलाई देवत्वकरण गरेर ।

गडबड यहीँ नै भएको छ । महाभारत पनि युद्धकै इतिहास हो । तर, महाभारतको युद्ध वर्णनमा वेदव्यासले हरेक पात्रको भूमिकालाई सकेसम्म न्याय दिने गरी उतारे । त्यतिवेला एक पक्षको नेतृत्व युधिष्ठरले गरेका थिए भने अर्को पक्षको नेतृत्व धृतराष्टले गरेकका थिए । तर, युद्धमा सामेल हरेक पात्रहरूको भूमिकालाई उच्च मूल्यांकन गरियो । परिस्थितिले गलत पक्षमा लागेर युद्ध गर्न विवश भएका कर्णलाई पनि न्याय दिइयो । तर, नेपाल एकीकरणको इतिहास लेखनका क्रममा अनेक वीर–वीरंगनाहरूको नाम ओझेलमा पारियो ।

यसरी ओझेलमा पारिएकी सबैभन्दा अभागी पात्र हुन् राजेन्द्र लक्ष्मी शाह । त्यो वेलाको अवस्थालाई गम्भीरतापूर्वक छातीमा हात राखेर मूल्यांकन गर्ने हो भने पृथ्वीनारायण शाहको भन्दा राजेन्द्र लक्ष्मीको योगदान कम देखिन्न । पृथ्वीनारायण शाहको उदय नभएको भए नेपाल उपत्यकामा गोर्खालीहरूको विजय सम्भव नहुन पनि सक्थ्यो, त्यसरी नै राजेन्द्र लक्ष्मीको उदय नभएको भए लमजुङभन्दा पश्चिमको एकीकरण नहुन पनि सक्थ्यो ।

इतिहासमै लेखिएको छ कि पृथ्वीनारयण शाहको देहान्त हुनुअघि नेपालको भूगोल जति थियो उनकी बुहारी नायव बनेपछि नेपालको भूगोल तेब्बर भयो । यसको कारण के थियो होला ? भन्ने सन्दर्भमा पितृसत्ताको धङधङी बोकेका इतिहासकारहरूले अहिलेसम्म सूक्ष्म विश्लेषण गरेको देखिन्न । पूर्वतर्फ जति अघि बढ्न सम्भव थियो त्यहाँसम्म पृथ्वीनारयण शाह अघि बढिसकेका थिए । तर, पश्चिमतिर अघि बढ्नका लागि उनलाई दुईवटा कुराले छेकेको थियो ।

पहिलो हो, ‘चेपे नदी नकट्ने लमजुङसँगको सम्झौता, मस्र्याङ्दी नकट्ने तनहुँ सँगको सम्झौता ।’ दोस्रो हो, ‘पश्चिम तर्फका तत्कालीन बाइसे र चाबिसे राज्यहरूको शक्ति ।’ पश्चिमका बाइसे चौबिसे राज्यलाई जित्न पाल्पाली सेन राजाहरूको सहयोगविना सम्भव थिएन । यो सहयोग पाउन पृथ्वीनारयण शाहले सकिरहेका थिएनन् । उनी गोरखाभन्दा पूर्व मात्रैको तत्कालीन नेपाललाई संस्थागत गर्ने अभियानमा रहेको देखिन्छ । यो अभियानअन्तर्गत उनले पूर्वतर्फको लिम्बूवान्, माझ किराँत तथा वल्लो किराँतसँग किपट दिएर सम्झौता गरेको देखिन्छ ।

१८३१ सालमा पृथ्वीनारायण शाहको निधन भयो । उनका २७ वर्षे छोरा प्रतापसिंह राजा भए । तर, तीन वर्ष बित्न नपाउँदै प्रतापसिंह शाहको पनि १८३३ सालमा निधन भयो । त्यतिवेला रानी राजेन्द्रलक्ष्मी २४ वर्षकी थिइन । त्यो वेला लोग्ने मरेपछि सती जाने परम्परा थियो । तर, त्यो परम्परा तोड्दै उनले आफ्नो तीन वर्षे छोरा रणबहादुर शाहको नायवी भएर सत्ता सञ्चालन गर्न थालिन् ।

यो मौकालाई उनले ससुरा पृथ्वीनारायण शाहले गर्न नसकेको काम फत्ते गर्ने निधो गरिन् । उनी पाल्पाका सेना राजाकी छोरी थिइन् । घोडाचडी युद्ध कौशलमा त्यतिबेलै उनी निपूर्ण भइसकेकी थिइन । तरबार नचाउन पनि सिपालु उनी युद्धमा पुरुषसरह सामेल भइन् ।

त्यतिवेला पाल्पाको सेन राज्य नेपालभन्दा बलियो र धनी थियो । उनले आफ्ना माइतीको सहयोग लिएर लमजुङ हुँदै पश्चिमतर्फ अघि बढिन् । राजेन्द्र लक्ष्मीको १५ वर्षको त्यो नायवीमा नेपालको आकार तेब्बर ठूलो हुनु चानचुनको कुरा थिएन ।

उनको त्यो अविराम यात्रा यसरी अघि बढ्यो कि देवर बहादुर शाहले रिस गर्न थाले । दरबारमै षडन्त्र भयो । वीरंगना राजेन्द्रलक्ष्मी माथि दरबारकै एक व्यक्तिसँग सल्केको आरोप लगाइयो । यति मात्रै होइन उनलाई सत्ताच्युत गरी जेल हालियो । नेपालको दुर्दशा सुरु भएको यहीँबाट हो । महिला भएकै कारण राजेन्द्रलक्ष्मीको योगदान कदर नगरिएको हो । उनलाई पितृसत्ताले अहिलेसम्म पनि लखेटेको देखिन्छ ।

स्पष्ट हुनुपर्ने कुरा के हो भने नेपाल राष्ट्रको निर्माण भएको हजारौँ वर्ष अघि हो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करिब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत शृंखलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ ।

पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले १ करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोवास सुरु भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित् गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ ।

मूल सुविवस्तवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान् बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वन पर्वमा नेपालको वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ईसापूर्व चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् ।

त्यस्तै, भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र नेपालको उल्लेख छिमेकी राज्यको रूपमा गरेका छन् । त्यसपछिका प्रायः सबै स्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने ५२२ सालपछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ । यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द निपालयबाट भएको हुन सक्छ, जसको अर्थ पहाडको आधार (खुट्टा) अथवा खुट्टामा निवास हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन् । नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो, यसको अर्थ हो पवित्र भूिम हुन्छ ।

धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई त्रिपाल घरको प्रयोग गरिन्थ्यो । यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो त्रिपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ । ने नाम गरेका ऋषिले संरक्षण दिएका कारण ने र पाल (संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ ।

यो क्षेत्रमा ५औँ शताब्दीको उत्तरार्धमा आएर लिच्छवीहरूले राज्य गरे । ८औँ शताब्दीको उत्तरार्धमा लिच्छवीवंश अस्त हुन थाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो । तथापि, उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन । ११औँ शताब्दीको उत्तरार्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग प¥यो । चालुक्यहरूको प्रभावमा त्यतिवेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्मतर्फको धार्मिक परिवर्तन हुनथाल्यो ।

१३औँ शताब्दीको पूर्वार्धमा मल्ल थर भएका राजाहरूको उदय हुनथाल्यो । सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २ सय वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे । १४औँ शताब्दीको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधिनमा आए । तर, यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो ।

१४८२ सालमा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशवण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णयपछि यो राज्य तीन भागमा टुक्रियो (काठमाडौं, पाटन, र भादगाउँ ) जसको बीचमा शताब्दीयौँसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो । पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल निर्माण भएको होइन कि नेपाल बिघटन हुनबाट वा समाप्त हुनबाट जोगिएको हो । यसको आरम्भ पृथ्वीनारायण शाहले गरे पनि अधिकांश काम राजेन्द्र लक्ष्मीले आफ्नो सौर्यता र आफ्ना माइतीको सहयोगमा सम्पन्न गरेकी हुन् ।

प्रतिक्रिया