मदिरा उत्पादन र ओसारपसारमा महिला

रौतहट । प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा कडाइ गरेको भए पनि रौतहटमा घरेलु मदिराको व्यापार नियन्त्रणमा आउन सकेको छैन ।

महिलामाथि प्रहरीको शंका नहुने भन्दै घरेलु मदिराको कारोबारमा उनीहरूको बढी संलग्नता रहेको पाइएको छ । प्रहरीको आँखा छल्न मदिरा ओसारपसारमा महिला संलग्न हुने गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको तथ्यांकअनुसार अवैध रक्सीसहित २८ जना पक्राउ परेकामध्ये १६ जना महिला छन् ।
यसअघि जिल्ला प्रहरीले पक्राउ गरेकामध्ये अधिकांश महिला नै थिए । मदिरा ओसारपसारमा महिलाको संलग्नता बढी हुने गरेको प्रहरीको भनाइ छ ।

ओसारपसार र उत्पादन गर्नमा पनि महिला नै अग्रसर भएको पाइएको प्रहरीको भनाइ छ । यस्तो पेसामा लागेका महिलाका पति बेरोजगार भएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले अवैध घरेलु रक्सीले समाजमा नकारात्मक असर पार्ने र विभिन्न खाले विकृति ल्याउने गरेको बताए । हामीले जिल्लाभरि अबैध मदिरा उत्पादन गर्ने भट्टी नष्टको अभियान चलाएका छौँ, उनले भने, “प्रहरीको आँखा छलेर कतै सञ्चालन गरिएको पाइए पक्रेर कारबाही गर्छौं ।’

पछिल्लो केही समययता मदिरा ओसारपसारमा महिला नै बढी संलग्न भएको पाइएको उनले जानकारी दिए । जिल्लाको उत्तरी भेगको भोलनटार, इपिलीघरी, अरुणबस्ती, चन्द्रनिगाहपुर, मैरा, वसन्तपुर, कोठियार, रंगपुर, नयाँबस्तीलगायत क्षेत्रका बस्तीको घरघरमा घरेलु मदिरा उत्पादन हुने गरेको छ । यस्ता मदिरा जिल्लाभरिका हाटबजारमा खुलेआम बिक्री गरिन्छ ।

बस, म्याजिक भ्यान, ई—रिक्सा र साईकलमा लुकाएर घरेलु मदिरा ओसारपसार गरिन्छ । राजमार्ग छेउमा रहेका प्रहरी चौकीका इन्चार्जहरूले घरेलु मदिरा फेला पारेमा रकम लिएर छाड्ने गरेका कारण पनि अवैध घरेलु मदिरा नियन्त्रणमा आउन नसकेको सरोकारवालाहरूको भनाई छ ।

यसो त सस्तो लोकप्रियताका लागी प्रहरीले कैयौंपटक मदिरा उत्पादन गरिने भट्टीमा छापा मारी गरेर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र भाँडाकुडा नष्ट नगरेको भने होईन । एकातिर प्रहरी नष्ट गर्दै जान्छ र अर्काेतिर स्थानीयले उत्पादनलाई निरन्तरता दिँदै जाने गरेको पाइएको छ ।

रौतहटको उत्तरी भेगमा उत्पादन भएको घरेलु मदिराको बजार ठूलो छ । जिल्ला सदरमुकाम गौरमा यस भेगमा उत्पादन भएर लगिएका घरेलु मदिरा हरेक होटलमा पाइने गरेको छ ।

घरेलु मदिरा एक बोतलको ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ । भारतको बिहार राज्यसँग सिमा जोडिएको जिल्ला भएको घरेलु मदिराको व्यापार त्यहाँसम्म हुने गरेको पाइन्छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाएसंगै बिहारी जँड्याहाहरू गैरमा अडड्डा जमाएर घरेलु मदिरा सेवन गर्न सदरमुकाम गौर आउने गर्छन ।

बिहारीहरू गैरमा मदिरा सेवन गर्न आउने क्रम बढ्दो छ । यसले सुरक्षा चुनौतीसमेत थपेको छ । अन्य मदिराको तुलनामा सस्तो र चाँडै असर गर्ने हुनाले गाउघरका प्रायः सामान्य परिवारका मानिसले सेवन गर्छन् । उनीहरूको रोजाइमा घरेलु मदिरा परेको हो । भारतीय सीमा क्षेत्रमा समेत यसको माग अत्यधिक छ ।

इलाका प्रहरी चन्द्रपुरका अनुसार अघिल्लो आर्थिक वर्षमा यस क्षेत्रमा १ हजार २६ लिटर अवैध मदिरा र ३ सय लिटर कच्चा पदार्थ बरामद गरेको थियो । मदिरा ओसारपसारको आरोपमा २८ जना पक्राउसमेत परेका थिए । उनीहरूबाट १ लाख ४४ हजार ५ सय जरिवाना असुल गरिएको प्रहरीले जनायो ।

चेकजाचको क्रममा प्रहरीलाई देख्नासाथ रक्सी बोक्ने मानिस भने फरार हुने गरेको छ । यसअघि जिल्ला प्रहरीले २ सय बढी अवैध भट्टी नष्ट गरेको थियो । प्रहरीको अभियान सकिएलगत्तै त्यस्ता भट्टी पुन सञ्चालनमा आउने गरेको छ । जिल्लाको दक्षिणी भेगमा प्रहरीकै मिलेमतोमा ठूला अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेको स्थानीयले बताए । कटहरिया बजारमा प्रहरीकै मिलेमतोमा अवैध रक्सी भट्टी सञ्चालनमा रहेको स्थानीयले बताएका छन्् ।

प्रतिक्रिया