एम्बुलेन्सविहीन सरकारी अस्पताल

लमही । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर एम्बुलेन्सविहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ ।

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए ।

निजी एम्बुलेन्सले महंगो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही दधिराम केसीले बताए । एम्बुलेन्स चलाउनका लागि एकजना चालकको दरबन्दी रहे पनि अहिले रिक्त छ ।

त्यस्तै, घोराहीको हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत हुनसकेको छैन । पटक÷पटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्काइने गरिएको छ ।

एम्बुलेन्सविहीन अस्पताल प्रदेश सरकारको पर्खाइमा छ । प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुई-दुई एम्बुलेन्स उपलब्ध गराउने भनी बजेट ल्याएको भन्दै त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदीले बताए ।

दाङका सातवटा एम्बुलेन्स प्रयोगविहीन रहेका छन् । दाङमा सञ्चालनमा आएका ६२ वटा एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा आएका छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य संघ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको संयुक्त एम्बुलेन्स चालक संघ दाङका अध्यक्ष इन्द्रबहादुर केसीले जानकारी दिए ।

ती एम्बुलेन्स मर्मत गर्न कुनै पनि निकायले ध्यान नदिएको गुनासोसमेत उनले गरे, ‘दाङमा एम्बुलेन्स थपिने क्रम जारी भएपनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको स्वीकार उनको भनाइ छ । बिरामी बोक्ने सरकारी अस्पतालका एम्बुलेन्ससमेत मर्मत गर्नतर्फ ध्यान नदिनु दुःखद् भएकोसमेत उनको भनाइ छ ।

दाङमा सघन उपचार कक्षसहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलोपटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीका अनुसार सघन उपचार कक्ष, भेन्टिलेटर, काड्रियोक, सक्सन, नेबुलाइजर, इसिजीलगायत बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

यसमा अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढी भएको उनको भनाइ छ । अब गम्भीर घाइते र बिरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया