नवाज सरिफको स्वास्थ्य खराब

लाहोर । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वास्थ्यअवस्था खराब भएको उनको परिवारले बताएको छ । जेल प्रशासनले सरिफको मुटु जाँच गर्न नदिएको सरिफकी छोरीले शुक्रबार आरोप लगाएकी हुन् ।

अल अजिजिया स्टिल मिल भ्रष्टाचार काण्डका आरोपी सरिफलाई ७ वर्षको जेलसजायँ तोकिएको छ । उनलाई लाहोरस्थित कोट लखपत जेलमा राखिएको छ । पूर्वप्रधानमन्त्री सरिफको गर्दन दुख्ने समस्या रहेकाले उनलाई हृदयरोगका कारण उत्पन्न पीडा (एन्जाइना) भएको हुन सक्ने बताइएको छ । उता, जेलका प्रवक्ताले भने सरिफको स्वास्थ्य जाँच भएको र कुनै समस्या नदेखिएको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री सरिफकी छोरी मरियमले ट्विट गर्दै भनेकी छन्, ‘पितालाई हेरिरहेका हृदयरोग विशेषज्ञले दिनभरिजस्तो भेट्ने प्रयास गरे, तर अनुमति दिइएन । उनलाई यस्तो चिकित्सकले जाँच गर्नु जरुरी छ, जसले विगत लामो समयदेखि हेर्दै आएका छन् र पिताका बारेमा जटिल चिकित्सकीय जानकारी पनि छ ।’

प्रतिक्रिया