हुवावेका कर्मचारी पोल्यान्डमा पक्राउ

बेइजिङ । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले जासूसीको आरोपमा पोल्यान्डमा पक्राउ परेका एकजना चिनियाँ कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । हुवावेले यो पनि भनेको छ कि, कर्मचारीको गतिविधिसँग कम्पनीको कुनै सरोकार छैन । तर, यो घटनाका कारण कम्पनीलाई ठूलो घाटा भने भएको छ ।

पोल्यान्डको जासूसी संस्था रोधी एजेन्सीले शुक्रबार हुवावेका अधिकारी वाङ बेइजिङलाई पोल्यान्डकै एकजना पूर्वसुरक्षा अधिकारीका साथ जासूसीको आरोपमा पक्राउ गरेको थियो । दू्रसञ्चार उपकरण निर्माताका रुपमा विश्वमै अग्रणी रहेको कम्पनी हुवावेले शनिबार यस घटनाबाट कम्पनीलाई अलग राख्दै चिनियाँ कर्मचारीलाई कामबाट हटाएको हो ।

सरकार नियन्त्रित एक अखबारमा शनिबार प्रकाशित समाचारअनुसार ती कर्मचारीका कारण कम्पनीलाई ठूलो नोक्सान पर्न गएको छ । यसबाट कम्पनीको विश्वछविमै असर पर्न गएको छ । कम्पनीले ग्लोबल टाइम्ससँग गरेको कुराकानीमा भनेको छ– कर्मचारी वाङ बेइजिङको निजी आचरणका कारण पक्राउ गरिएको हो । यसअघि भने चीनको विदेशमन्त्रालयले पोल्यान्डमा वाङ पक्राउ परेको घटनालाई ‘नजिकबाट हेरिएको’ बताएको थियो ।

वाङभन्दा पहिला हुवावेकै एक महिला अधिकारीलाई अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ गरिएको थियो । चीनले उक्त घटनाको जवाफस्वरुप राष्ट्रिय सुरक्षाको दृष्टिले क्यानडाका दुई अधिकारीलाई पक्राउ गरेर थुनामा राखेको छ ।

यी घटनापश्चात् चीनमा राष्ट्रवादको भावना बढ्न थालेको बताइन्छ । हुवावे आफ्ना कर्मचारीलाई आफ्नै स्मार्टफोन खरिद गर्न प्रोत्साहित गर्न थालको छ । खरिदका लागि कम्पनीले सहयोग गर्ने योजनासमेत अघि सारेको छ । यस्ता घटनाहरू हुँदाहुँदै पनि डिसेम्बरमा हुवावेले आफ्नो कारोबार पहिलाको तुलनामा सन् २०१८ मा २१ प्रतिशत वृद्धि हुने अपेक्षा गरेको थियो ।

प्रतिक्रिया