संसद् पस्यो गाडी खरिद अनियमितता

बुटवल । पाच नम्बर प्रदेशका मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीको अनियमितता सम्बन्धी विषय संसद बैठकमा प्रवेश भएको छ । सार्वजनिक लेखा समितिले छानबिन शुरु गरे पनि आइतबारको बैठकमा मात्रै यो विषयले संसद प्रवेश पाएको हो

पाँच नम्बर प्रदेश बैठकमा सांसदहरूले गाडी खरिदको विषयमा भएको अनियमितता बारे सांसदहरूले सरकारको जवाफ मागेका छन् । विशेष समय लिएर बोल्दै सांसदहरूले अनियमितता तत्काल छानबिन हुनुपर्ने माग गरे ।

प्रदेश सरकार स्थापित भइनसक्दै लाखौं घोटलाका विषय बाहिर आउनु लाजमर्दाे भएको भन्दै सांसदहरूले सरकारले ल्याएको सुशासन नीति कार्यान्वयनमा ल्याउन आग्रह गरे । विशेष समयमा बोल्दै सांसद फकुरुद्धिन खानले मन्त्रालय र प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता आशंकाको विषयमा सरकारको ध्यानाकषर्ण गराएका छन् ।

अर्काे सांसद दलबहादुर रानाले गाडी खरिद लगायतका सरकारका काम कारबाही निकै निराशाजनक रहेको बताए । सरकारले एक वर्षको समयावधिमा समेत केही काम गर्न नसकेको भन्दै कडा आलोचना गरे ।

आइतबारको संसद बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले समितिको प्रतिवेदन आउदासम्म धर्य गर्न सांसदहरूलाई आग्रह गरेका छन् । पाच नम्बर प्रदेश सभाले खरिद गरेका ११ वटा र मन्त्रालयले खरिद गरेका ३ वटा गाडीमा अनियतिता भएको भन्दै सार्बजनिक लेखा समितिले छानबिन थालेको छ । लेखा समितिको बसेको बैठकले तीन सदस्यीय उपसमिति बनाएर अध्ययन थालेको हो ।

सांसद कुल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बनाएको छ । उपसमितिको सदस्यमा बैजनाथ कलावर र कल्पना पाण्डे सदस्य रहेका छन् ।

प्रदेश सभाले टाटा स्ट्रोम गाडी खरिदमा उपभोक्ता मुल्यभन्दा झण्डै चार लाख र मन्त्रालयले साढे चारलाख रकम बढी दिएका छन् । फेज आउट भइसकेको गाडीको मुल्य ६८ लाख ५५ हजार छ । मन्त्रालयले ७३ लाख र संसदले ७२ लाखमा गाडी खरिद गरेका छन् । गाडी खरिदमा लाखौं घोटलाको आशंका भएपछि समितिले छानबिन थालेको हो । खरिद भएका गाडीमा तीन मन्त्री, उपसभामुख, समितिका सभापति तथा सत्ता र विपक्षी दलका नेता सचेतक चढ्दै आएका छन् ।

संसद्मा मुख्यमन्त्रीको निर्देशन

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्ने सांसदहरूलाई निर्देशन दिएका छन् ।

आईतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरण गर्न विशेष समिति गठन भएको भन्दै समितिको निर्णय नआउन्जेल कहि नबोल्न उनले सांसदहरूले आग्रह गरे । संसदले बनाएको विशेष समितिलाई सवैले विश्वास गरेको भन्दै अरुका कुरा नसुनेर समितिले प्रतिबेदन बुझाउन मुख्यमन्त्री पोखरेलले समितिलाई आग्रह गरे ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानी भित्र्याउने मिनि इन्भेष्टमेण्ट कन्फ्रेन्स गर्ने योजना बनाएको बताए । प्रदेशलाई समृद्ध बनाउन विदेशी लगानी भित्राउनुको विकल्प नरहेको भन्दै उनले इन्भेष्टमेण्ट कन्फ्रेन्स गर्ने सोच बनाएको बताए ।

त्यस्तै संसदमा विशेष समय लिएर बोल्दै सांसद इन्द्र प्रसाद खरेलले प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि गठित समितिमा बाँके, बर्दिया र पश्चिम नवलपरासीको प्रतिनिधित्व हुनेपर्ने माग राखे । त्यस्तै सांसद तिलकराम शर्माले पछिल्लो समय हत्या, हिंसा, बलात्कार जन्य अपराध बढि भएको भन्दै प्रहरीले अपराधिलाई कुनै पनि बाहनामा छाड्न नहुने बताए ।

त्यस्तै सांद लैटी थारुले गुलेरीया नगरपालिका वडा नम्वर ५ मा नेपाली सेनाका जवान नर बहादुर बोहोराले श्रीमतीको हत्या गरेको भन्दै बोहोरा माथी कडा कारबाहीको माग गरिन् ।

त्यस्तै आईतबारको बैठकमा ४ वटा विधेयक माथी दफाबार छलफल सुरु भएको छ । प्रदेश नं. ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं .५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेके विधेयक र पदेश नं. ५ पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी दफाबार छलफल भएको हो । त्यसैगरी प्रदेश नं. ५ औद्योगिक व्यवसायी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी सैद्धान्तिक छलफल भएको थियो ।

प्रतिक्रिया