‘महाधिवेशनका गतिविधि जारी राख्नुहोस’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संगठनका नेताहरूलाई महाधिवेशन केन्द्रित गतिविधि नरोक्न निर्देशन दिएका छन् ।

नेविसंघको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा सभापति देउवाले महाधिवेशनका गतिविधि यथावत राख्दै अघि बढ्न निर्देशन दिएका हुन् । पार्टीले दिएको दुई पटकको समयपनि सकिन लाग्दा महाधिवेशन नहुने निश्चित भएपछि नेताहरू देउवालाई भेट्न पुगेका थिए ।

दोस्रोपटक थपिएको नेविसंघको म्याद आगामी माघ २ गते सकिंदैछ । माघ १० मा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघबारे ठोस निर्णय लिने भन्दै देउवाले माघ २ देखि १० सम्मको बाधा अड्काउ फुकाउन पदाधिकारीको बैठक डाक्ने आश्वासन दिएको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

बुढीनलकण्ठमा भएको भेटमा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले १४ जिल्लामा अधिवेशन सकिएको र मुगुमा पनि उदघाटन सत्र सुरु भएको जानकारी गराएका थिए । उनले नेविसंघको १२औं महाधिवेशन अहिलेकै कार्यसमितिले गर्ने वातावरण बनाउन देउवासँग आग्रह गरेका हुन् । यद्यपी महामन्त्री काफ्लेले टिका प्रथाबाट संगठनलाई अघि बढाउने काम भए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच, दुई सहमहामन्त्रीसहित ४५ जनाले महाधिवेशन गराउन वर्तमान नेतृत्व अक्षम भएको भन्दै आइतबार राजीनामा दिएका छन् । राजीनामा दिने सबै वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय हुन । पार्टी सभापति देउवा राजधानीबाहिर जाने कार्यक्रम भएकाले पौडेलमार्फत नै राजीनामा बुझाएका उनीहरू सबै महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्य हुन् । यसअघि सस्थापन पक्षकै सात जना पदाधिकारीले राजीनामा दिएका थिए ।

नैनसिंह महर नेतृत्वको नेविसंघको दोस्रोपटक थप गरिएको म्याद माघ २ गते सकिँदैछ । माघ २ गतेसम्म कांग्रेसले कुनै निर्णय नगरे विधानतः नेविसंघ विघटन हुनेछ ।

प्रतिक्रिया