कुखुरा व्यवसायले दियो खुसी

डोटी । डोटीको केआइसिंह गाउँपालिका–६ भिताडी सलेनामा समता महिला समूहकी सदस्य देउसरी विकले ब्रोइलर कुखुरा व्यवसाय सुरु गरिन । १४ वर्षकै उमेरमा कामको खोजीमा भारत गएका उहाँका श्रीमानले पैसा कमाउन नसकेपछि घरमै बोलाएर समूहबाट एक लाख ऋण लिई कुखुरा व्यवसाय सुरु गरेपछि देउसरीको परिवारमा खुशीयाली छाएको छ । देउसरीले पहिलो पटक ३ ब्रोइलर कुखुराका चल्ला ल्याई कुखुरापालन व्यवसाय शुरु गरिन । केआइसिंह गाउँपालिकाको भूमिराजमाडौंमा मासुको खपत बढ्दै गएको र चल्ला ल्याएकोे ४५ दिनभित्रै कुखुरा फष्टाउने गरेको देउसरीले बताइन् ।

उनले भनिन्, ‘राम्रोसँग कुखुराको स्याहार गरेमा एकपटकमा ३० देखि ४० हजार बराबरको आम्दानी हुने गरेको छ, घरैमा मिहेनत गरे पैसा कमाउन भारत जानुपर्दैन ।’ विगतमा श्रीमान कामका लागि भारत गएका र कमाएको पैसा जाँड, रक्सीमा सक्ने र घर आउँदा रित्तै आउने गर्दा घर परिवार चलाउन निकै समस्या हुने गरेको दुःखका दिन सम्झिँदै देउसरी भन्छिन, ‘पहिला श्रीमान् भारतमा, पैसा नपठाउने, सधैँ अर्काको कम गरेर खानुपर्ने अवस्था थियो ।’ उनको परिवारमा श्रीमान कर्ण विक, सासू, दुई छोरा, एक बुहारी र एक नातिनी गरी सातजना छन् । विगतमा सात जनाको परिवार आफू एक्लैले पाल्नुपर्दा निकै समस्या रहेको उनी बताउँछिन् ।

आधा जिन्दगी भारतमै बिताएका देउसरीका श्रीमान अहिले श्रीमतीको प्रयासमा घरमै बसी राम्रो आम्दानी गर्न सकेकामा खुसी छन् । ‘मैले लामो समयसम्म भारतमा काम गरेँ तर घरमा कुनै सहयोग पु¥याउन सकेको थिइन्,’ उनले भनिन, ‘श्रीमतीको आग्रहमा कुखुरा व्यवसाय गर्न थालेपछि अहिले परिवारमा खुसी छाएको छ ।’ देउसरीका श्रीमान् मात्रै होइन, भिताडी गाउँका अधिकांश दलित घरधुरीका पुरुष कामका लागि भारत जाने गर्दछन् ।

महिलाले मेलापातको काम र घरधन्दा चलाउने काम गर्दै आइरहेका छन् । श्रीमानले भारतबाट पठाएको रकमले नपुग्ने भएपछि उक्त गाउँका दलित अर्काको काम गरी घरखर्च चलाउने गर्दछन् । परम्परागत पेसागत कामको लोप हुँदै गएपछि उनीहरूलाई घर चलाउन निकै समस्या हुन थालेपछि पुरुष कामका लागि भारत जान थालेको अर्का स्थानीयवासी कुलबहादुर कामीले बताए । उनले भने, ‘पुख्र्यौली पेसा लोप हुन थाल्यो, गाउँमा रोजगारी मिल्दैन अनि पैसा कमाउन भारत पस्ने प¥यो ।’ एक्सन एड नेपालको सहयोगमा सञ्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजनाअन्तर्गत गठित समता महिला समूहमा परियोजनाको सहयोगमा समता महिला समूहलगायत अन्य सातवटा समूहमा घुम्ती कोषबापत एक लाख सहयोग गरिएपछि सो गाउँका दलित परिवारलाई अहिले निकै राहत पुगेको सम विकास केन्द्र (इडिसी) डोटीका अध्यक्ष महेश टेलरले बताए ।

प्रतिक्रिया