ललितकला – चित्रले जोडेको साइनो

काठमाडौं । अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुसी भए । नेपालको सम्पदा तस्बिरमा देखेर उनले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस गरे । म अहिले भक्तपुर जान सक्तिनँ, तर ठिमीलगायतका दृश्य यहीँबाट नियाल्न पाएँ, यस्ता १५ ठाउँका धार्मिक सम्पदा देख्न पाएँ, चित्रले आफैँ बोलिरहेको छ”, सोमबार काठमाडौंको नेपाल कला परिषद् प्रदर्शनीमा राखिएका चित्र नियाल्दै अमात्यले भने । फोटोग्राफीको आविष्कार नहुँदा पहिले हातैले चित्र बनाइन्थ्यो । त्यो वेला राजा–महाराजाको मुहार चित्र बढी कोरिन्थ्यो,’ उनले भने ।

फोटोग्राफी आएपछि खिचिएका श्यामश्वेत चित्रलाई कलाकारले रङ भरेर आकर्षक बनाउन थालिएको हो । पछि हातैले चित्र कोर्ने कलाको विकास भएकोमा बीचमा हराएको थियो । अहिले फेरि दृश्य हेरेर चित्र बनाउने अभियान आएको भन्दै कलाक्षेत्र चलायमान भएकोमा उनले खुसी व्यक्त गरे ।

कला समीक्षक रमेश खनालले उपत्यकाका सम्पदा एकै ठाउँमा बसेर हेरे । यस्ता दृश्यले लोभ्यायो, मन्दिर नै मन्दिरका दृश्य जीवन्त छ, अब सामाजिक जीवनलाई पनि समेट्नु प¥यो’, खनालले सुझावसहित भने । चित्रकारले मात्रै होइन, आगन्तुक अन्य सर्वसाधारण र चित्र पारखीसमेत उपत्यकाका धार्मिक र ऐतिहासिक क्षेत्रका सम्पदा देखेर दंग परे । मन्दिरै मन्दिरको सहर काठमाडौंका ऐतिहासिक तथा धार्मिक धरोहर घुम्न नपाएकालाई अझै महत्वपूर्ण अवसर बनेको थियो चित्रकला प्रदर्शनी ।

चित्रकारको स्वतः फूर्त समूहले ‘मोमेन्ट्स विथ हेरिटेज’ नाम दिएर नेपाल कला परिषद् यही पुस १७ देखि सात दिने चित्रकला प्रदर्शन गरेका थिए । उपत्यकाका विभिन्न १५ स्थानका ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा समेटिएका ६६ चित्रकारका १ सय ६५ भन्दा बढी चित्र प्रदर्शनी गरिएको थियो ।

काठमाडौं, भक्तपुर र पाटन दरबार स्क्वायर, स्वयम्भू, टेकु, गुह्येश्वरी, चोभार, बुङ्मती, शंखमुल, ठिमी, चाँगुनारायण, खोकना, पुरानो गुह्येश्वरी, चापागाउँको बज्रबाराही र बौद्धनाथ स्तुपाका सुन्दर दृश्य प्रदर्शनी गरिएको थियो । चित्रकारले करिब चार महिना लगाएर कोरेका सम्पदा र पुरातत्वका दृष्टिले अति महत्वपूर्ण मानिने लिच्छवीकालदेखिका कला–कौशल मन्दिर, स्तुपा र त्यस आसपासका सुन्दर दृश्य क्यानभासमा थिए । यी चित्र मंगलबारदेखि भने अनलाइन प्रदर्शनीमा राखिने भएको छ ।

चित्रकार दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले गएको भदौ १६ गते काठमाडौंको हनुमानढोकाबाट सुरु गरेको ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ को १५औँ शृंखलासम्म कोरिएका चित्र यसमा समावेश गराइएको थियो । चित्रकारले फेसबुक समूह नै बनाएर चित्रकलामा सहभागी हुन आह्वान गरेका थिए भने मतदानको आधारमा स्थान छनोट गरेर हरेक शनिबार चित्र कोर्न पुग्ने गर्छन् ।

आगामी दिनमा भने एकै ठाउँमा लामो समयसम्म चित्र कोरेर निखारता ल्याउने सोच बनाएको भन्दै अभियानकर्मी दिवेश प्रधानले वर्षमा एकपटक ‘आर्ट क्याम्प’ नै आयोजना गर्ने घोषणासमेत गरेका छन् । सोमबार कला परिषद्को प्रदर्शनी समापन र अनलाइन प्रदर्शनीको सुरुआतको घोषणा गर्दै आयोजकले सहभागी चित्रकार र सहयोगी संघ÷संस्थालाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।

स्थलगत चित्रकला कार्यशालाका अर्का अभियानकर्मी रामकृष्ण थापाले यो अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाए । नेपालमा लिच्छवीकालदेखि नै यसरी चित्र बनाउने चलन थियो । सन् १९७२ मा रामानन्द जोशीको नेतृत्वमा स्थलगत चित्रकला कार्यशाला भएको थियो । कला समीक्षक मुकेश मल्लले असीको दशकमा पुग्दा व्यापक भएको र पछि विस्तारै हराएको चित्रकला कार्यशाला अहिले आन्दोलनकै रूपमा आउनु नयाँ आयाम भएको धारणाा व्यक्त गरे ।

प्रतिक्रिया