काठमाडौं । त्रिवि शिक्षण अस्पताल (चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का आवासीय चिकित्सकहरूले काम ठप्प पारेर आन्दोलन शुरु गरेका छन् । गत ८ महिनादेखि तलब नपाएको भन्दै उनीहरूले बिहीबार अनिश्चितकालीन हडताल शुरू गरेका हुन् । लामो समय तलब नपाउँदा खर्च धान्न समस्या परेपछि आफूहरु ड्युटी छाडेर आन्दोलनमा उत्रिनु परेको डा. सुमित पाण्डेले बताए ।
महाराजगञ्ज मेडिकल क्याम्पसमा एमडी-एमएस-एमसीएच लगायतका विषयमा अध्ययनरत उनीहरुले नियम अनुसार पाउनुपर्ने भत्ता रोकिएको भन्दै दवाव दिन काम छाडेका हुन् । उनीहरूले तलब (स्टाइपेन्ड) नपाएसम्म हड्ताल जारी रहने चेतावनी दिएका छन् ।
रेसिडेन्टहरूको मासिक स्टाइपेन्ड करिब ३४ हजार रूपैयाँ छ । बिहीबार उनीहरुले विरोध स्वरुप शिक्षण अस्पतालअघि प्रदर्शन गरेका थिए ।
काममा लगाउनेले तलब नदिएको विषयमा व्यङ्ग्य गर्दै चन्दा संकलन समेत गरिएको थियो । तलबका साथै स्वास्थ्य मन्त्रालयले सहमति विपरित ५ वर्षसम्म सेवा दिनुपर्ने गरी नियुक्ती दिन खोजेकामा पनि विरोध जनाए ।
नेशनल रेजिडेन्टस डक्टर्स एसोशिएसनका अध्यक्ष डा. सुमित पाण्डेले भने, ‘हामीले पटक–पटक क्याम्पसको ध्यानाकर्षण गरायौँ, हुँदैछ भन्ने आश्वासन मात्रै पाइयो । काठमाडौँको महंगीमा यति लामो समयसम्म भत्ता रोकिँदा दैनिक गुजारामा समेत अप्टेरो पर्न थाल्यो त्यसैले हामी काममा नजाने निर्णय गर्यौँ र डिउटी बहिस्कार गरेका हाैँ ।’ उनका अनुसार सेवा बहिस्कार गर्ने आवासीयको संख्या करीब दुई सय छ ।
यता महाराजगञ्ज मेडिकल क्याम्पसका प्रमुृख प्रा.डा प्रताव नारायण प्रसादले स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नहुँदा आवासीय विद्यार्थीलाई भत्ता उपलव्ध गराउन नसकेको बताए । उनले भने, ‘आठ मात्रै होइन नौ महिना हुन लागिसक्यो तर मन्त्रालयले यस क्याम्पसका लागि उपलव्ध गराउनुपर्ने रकम पठाएको छैन । हामीसंग पैसा नभएपछि के दिने ?’ उनले भत्ता वापतको १९ करोड जति रकम बक्यौँता रहेको जानकारी दिए ।
प्रतिक्रिया