गर्भ जाँच गराउँदा उपहार

ताप्लेजुङ । गर्भ जाँच गराउन स्वास्थ्य चौकी गएकी मेरिङ्देन गाउँपालिका–१ थिङ्लावुकी कमला शेर्पालाई स्थास्थ्यकर्मीले चना, मटर र नुनको पोको हातमा राखिदिए ।

गर्भ जाँच गराउन आएकी शेर्पाको हातमा स्वास्थ्य चौकीले चना, मटर र नुनको पोको थमाइ दिएपछि एकछिन त उनी अचम्ममा परिन् । औषधि पाउने ठाउँमा पोषिला खानेकुरा पाइएला भन्ने उनले कल्पनासमेत गरेकी थिइनन् ।’

स्वास्थ्य चौकीमा यसरी सित्तैमा चना, मटर र आयोडिन पाउँदा खुसी हुँदै भनिन्, ‘गर्भ जाँच गराउन आएकी थिएँ, पोषिलो आहार पो पाएँ । यसका लागि स्वास्थ्य चौकीलाई धन्यवाद ।’ सोही गाउँकी ओङ्मु शेर्पा र वडा नं ५ थुकिमाका पुनम लिम्बूले पनि नुन, चना र मटरको प्याकेट पाए । दोस्रो पटकको गर्भ जाँच गर्न स्वास्थ्य चैकी गएका उनीहरूले प्रोटिनयुक्त खानेकुरा पाएका हुन् । ’यसले अरू गर्भवती महिलालाई पनि हौसला मिल्नेछ’, पुनमले भनिन्, ’हामी दुर्गम गाउँका महिलाले यस्तो खानेकुरा पाउने कुरा सोचेका पनि थिएनौं ।’

गाउँका अरु गर्भवतीलाई पनि यो कुरा जानकारी गराउने ओङ्मुले बताइन् । असोजदेखि गाउँपालिकाले दोस्रो पटक (६ महिनामा) गर्भ जाँच गर्न आउनेलाई आयो–प्रोटिन प्याकेट (१ किलो चना, १ किलो, मटर र १ किलो आयो नुन) दिन थालेको हो। गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले गाउँपालिकालाई ’शून्य घर सुत्केरी’ (जिरो होम डेलिबरी) बनाउने अभियान सुरु गरिएको बताए ।’ २०२० सम्ममा घरमा सुत्केरी हुने गर्भवतीको संख्या शून्यमा झार्ने गाउँपालिको नीति छ, लिम्बूले भने, सोहि अनुसार हाम्रो टीम लागिपरेको छ ।’

स्वास्थ्य सूचकाङ्कको आधारमा २ वर्षमा जिल्लाकै पहिलो गाउँपालिका बनाउने र सोहीअनुरूप गर्भवती महिलालाई स्वास्थ्य संस्थाप्रति आकर्षित गर्न विभिन्न योजनाहरू ल्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख सुर्यमान ओख्रावुले बताए ।

त्रैमासिक रूपमा ’मेरिङ्दनको स्वास्थ्य आवाज’ नामक भित्ते पत्रिका प्रकाशन गर्ने कामको सुरुवात भएको छ’, ओख्रावू भन्छन्,’महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य चौकी प्रमुखको बैठक नियमित बस्छ, त्यसमा समिक्षा हुन्छ, जनप्रतिनिधिलाई पनि परिचालन गर्छौं ।’

गाउँपालिकाको वडा नं १ थिङ्लावु, वडा नं २ सान्थाक्रा र वडा नं ५ मासिरीङमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी छन् । ति संस्थाले असोजबाटै गर्भ जाँच गर्न आउने महिलालाई आयो–प्रोटिन प्याकेट दिन थालेका हुन् । अब ६ वटै वडामा वर्थिङ सेन्टर विस्तार गर्ने योजना गाउँपालिकाको छ।’ यसले घरमै सुत्केरी हुने परम्परा तोडिन्छ भन्ने हाम्रो विश्वास हो,’ ओख्रावुले भने, ’त्यसका साथै गर्भवती महिलालाई चाहिने पोषिलो खानामा पनि थप सहयोग पुग्छ ।’ अझैं पनि घरमै सुत्केरी हुने प्रचलन सबै वडामा छ ।

गत भदौमा घरैमा सुत्केरि भएकी वडा नं २ सान्थाक्राकी पासाङखाङ्डु शेर्पाको मृत्यु समेत भएको थियो । भदौ ८ गते बच्चा जन्मने मिती रहेकी शेर्पाको भदौ १२ गते बिहान बच्चा जन्मिएर अत्याधिक रक्तश्रावका कारण मुत्यु भएको हो ।

चौथो, छैटौं, आठौं र नवौं महिनामा समेत सान्थाक्रा स्वास्थ्य चौकीमा गएर परिक्षण गराए पनि सुत्केरी घरमै भएपछि शेर्पाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख सुर्यमान ओख्राबुले बताए । गाउँपालिकामा कुपोषणको समस्या पनि रहेको ओख्राबु बताउँछन् ।’यहाँका खासगरी बालबालिकामा कुपोषणको समस्या पनि पाइएको छ, आमाले गर्भावस्थामा नियमित पोषिला खानेकुरा नखानु, पर्याप्त आराम नपाउनु, कामको बोझ बढी हुनु कुपोषणका कारण हुन सक्छन्, त्यसका लागि पनि यो अभियानले सहयोग गर्छ,’ ओख्रावुले भने ।

वर्थिङ सेन्टरमा सुत्केरी गराए यातायात खर्च बापत ३ हजार र ४ पटक गर्भ जाँच गरेको भए थप ८ सय रूपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । अभियानका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरेको निमित्त प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख ओख्राबुले जानकारि दिए । तालिम प्राप्त अनमीलाई गर्भवती महिलाको घरैमा पठाएर स्वास्थ्य शिक्षा दिनुपर्ने नियम बनाइएको छ ।

वडा नं ५ का अध्यक्ष जयबहादुर खड्का चेतनाको अभावका कारण अझैसम्म पनि घरमै सुत्केरी हुनेको संख्या धेरै रहेको बताए । ’अभियान सफल पार्न कर्मचारी र जनप्रतिनिधिसमेत एकजुट भएर गर्भवतीको खोजी गर्ने र स्वास्थ्य संस्थामा जान आग्रह गर्न थालेका छौं, खड्काले भने । स्वास्थ्य संस्थामा जन्मेको बच्चाको तुरुन्तै जन्मदर्ता समेत गरिदिने व्यवस्था मिलाइएको वडाध्यक्ष खड्काले बताए । स्वयमसेविकाले गर्भवतीको घरमा गएर स्वास्थ्य संस्था जान प्रेरित गरेबापत ४ सय रूपैयाँ दिने गाउँपालिकाको निर्णय छ ।

प्रतिक्रिया