हेल्थ असिस्टेन्ट पनि आन्दोलनमा

काठमाडौं । संघीय अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एचए) लाई अन्याय गरेको भन्दै एचएहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारी समायोजनका क्रममा निरपेक्ष रूपमा वरिष्ठतालाई पहिलो आधार बनाउँदा कम शैक्षिक योग्यता भएकाहरूले नेतृत्व पाउने अवस्था आएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

संरचना अनुसार स्वास्थ्य सेवामा सहायक दोस्रो, तेस्रो, चौथो, पाँचौँ तहमा सेवा प्रवेश गरेका र माथिल्लो तहको शैक्षिक योग्यता बीना स्वतः स्तरवृद्धि भएकाहरूलाई लोकसेवाको प्रक्रियाविनै माथिल्लो तहको ज्येष्ठता मानी जिम्मेवारी दिन लागिएको छ । नयाँ सरकारी व्यवस्थाअनुसार एउटै संस्थामा पाँचौँ तहको माथिल्लो शैक्षिक योग्यता भएको एचए भएपनि छैटौँ तहका अ.हे.व-सि.अ.हे.वले स्वास्थ्यसंस्थाको प्रमुख हुने अवसर पाउनेछन् ।

हेल्थ असिस्टेन्ट संघ नेपालको आह्वानमा देशभरका एचएहरू मन्त्रालयमा जम्मा भई मंगलबार सरकारी निर्णयविरुद्ध विरोधसभा एवम् धर्ना गरेका हुन् । स्वास्थ्य मन्त्रालयले २२ पुसमा पुनः प्रस्ताव गरेको संगठन संरचनाप्रति उनीहरूको आपत्ति रहेको हो । नयाँ संरचनाले कर्मचारीमा मनमुटाव सिर्जना र स्वास्थ्यसेवाप्रवाहमा असर पर्ने अवस्था निम्तिएको संघको ठहर छ ।

स्वास्थ्यसेवा ऐनको दफा ९ (१) अनुसार स्तरवृद्धि भएका स्वास्थ्यसेवाका प्राविधिकले जुन तहमा स्तरवृद्धि भएको हो, सोही तहमा काम गर्नुपर्ने व्यवस्था छ । ऐनमा सि.अ.हे.व. अधिकृत छैटौँ (विशेष पदस्थापन) सेवानिवृत्त हुँदा चौथो तह अ.हे.व. पदको दरबन्दी रित्त हुने र सरुवा प्रावधानमा समेत सि.अ.हे.व.अधिकृत छैटौँ तह (विशेष पदस्थापनसमेत) मा चौथो वा पाँचौँ तहमा कार्यरत अ.हे.व.ले नै स्थानपूर्ति गर्ने व्यवस्था छ ।

ऐनको व्यवस्था विपरीत माथिल्लो तहको ज्येष्ठताका आधारमा स्वास्थ्य क्षेत्रमा जिम्मेवारी दिँदा स्वास्थ्यसेवाको गुणस्तरमै असर पर्ने संघले ठहर गरेको छ । संघले शैक्षिक योग्यता र र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्ने माग गरेको हो । कर्मचारीको सेवा–सुविधाका लागि दिइएको स्तरवृद्धिलाई जिम्मेवारी दिँदा स्वास्थ्यसेवा धरासायी हुने भन्दै आन्दोलित हुनुपरेको संघले जनाएको छ ।

‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक–पटक सुझावसहितको ज्ञापन पत्र बुझाएका थियौँ,’ संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गरेका गर्न बाध्य भएका हाैँ ।’ संघका उपाध्यक्ष मेघनाथ चौपागाईंका अनुसार शैक्षिक योग्यता र लोकसेवा पास गरेर माथि आएका कर्मचारीलाई हेल्थपोस्टको नेतृत्व दिनुपर्छ ।

त्यस्तै आफूभन्दा तल्लो तहको कर्मचारीको नेतृत्वमा काम गर्नुपर्नेे उनको गुनासो छ । अध्यक्ष खड्काले शैक्षिक योग्यता र लोकसेवा पास गरेर आएका कर्मचारीलाई हेल्थपोस्टको नेतृत्व प्रदान गर्ने विधेयक पास नभए कडा आन्दोलनमा जाने चेतावनी दिए । त्यस्तै उनले माग सम्बोधन नभए हेल्थपोस्टमा रहेका १५ हजार एचएलाई आन्दोलनमा उतार्ने बताए ।

प्रतिक्रिया