काठमाडौं सहरको कोलाहल र यहाँको प्रदूषणयुक्त वातावरणबाट मुक्ति पाउने मन कसलाई नहोला र ? यहाँको धूलो र धुवाँबाट मुक्त भई छोटो सयमको यात्रा, स्वच्छ तथा शान्त वातावरण खोजिरहेको मन बसाल्ने ठाउँ नभेटिँदा जो कोहीलाई वाक्क लाग्नु स्वाभाविकै हो । दैनिक कार्यालयको काम गर्ने र लामो कलेज बिदा नमिल्नेहरूका लागि सजिलो गन्तव्य हो ‘हाइकिङ’ अर्थात् छोटो यात्रा । हाइकिङका लागि केही घण्टाको दूरीमा पैदल हिँड्नुपर्ने हुन्छ । साथीहरू वा परिवारसँग रमाइलो गर्दै छोटो दूरीको एक दुई दिने अविस्मरणीय यात्रा गर्न सकिन्छ यस यस यात्रामा । यसका लागि काठमाडौं आसपासकै क्षेत्र घुमेर बिदा मनाउन सकिने विभिन्न रमणीय ठाउँहरू यस प्रकार छन्ः
नगरकोट हाइकिङः नगरकोट काठमाडौंदेखि पूर्वतर्फ २५ किलोमिटरको दूरीमा पर्दछ । नगरकोटबाट सूर्य उदाउँदा र अस्ताउँदाको सुन्दर दृश्य देखिने भएकोले यो आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइँमा पर्ने गन्तव्य हो । साथै हाइकिङका लागि पनि नगरकोट मुख्य गन्तव्य स्थल मानिन्छ । नगरकोटमा रहेका हरियाली जंगल र भ्यू टावर यहाँका मुख्य आकर्षण स्थान हुन् । यहाँबाट देखिने वरपरको हिमाल र डाडाँकाडाँले मान्छेको मन लोभ्याउने गर्छ ।
नगरकोटमा व्यक्तिगत तथा सार्वजनिक यातायातमार्फत एकदिनको यात्रा गर्न सकिन्छ भने बास बस्नेहरूका लागि रिसोर्ट तथा आरामदायी होटेलहरू पनि उपलव्ध छन् । छोटो दूरीमा प्राकृतिक सुन्दरता, शान्त वातावरण, सुन्दर डाँडाकाडा हेर्दै यात्रा गर्न रुचाउनेहरूका लागि नगरकोट पहिलो रोजाइँ हो । काठमाडौंबाट छोरी दूरीमा रहेको सुन्दर स्थानका रूपमा चिनिन्छ नगरकोट त्यसैले हरेको मान्छेको रोजाइँ पनि बनेको छ ।
फुलचोकी हाइकिङः काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो स्थानमा रहेको छ । फुलचोकी । समुद्री सतहदेखि २७५० मिटरको उचाइमा रहेको फुलचोकी हाइकिङका लागि सबैभन्दा आकर्षक गन्तव्य हो । काठमाडौंबाट ललितपुरको गोदावरी हुँदै फुलचोकीको यात्रा गर्न सकिन्छ । गोदावरीबाट २ देखि ३ घण्टाको पैदाल यात्रामा गरी फुलचोकी डाँडा पुगिन्छ ।
फुलचोकी हाइकिङका साथै जाडो मौसममा हिउँ पर्ने भएकाले पनि मान्छेको रोजाइँमा पर्ने गरेको छ । जाडो सुरु भएसँगै काठमाडौं बस्नेहरूका लागि फुलचोकीमा कहिले हिउँ पर्ला र हिउँ खेल्न जाउँला भन्ने हुन्छ । काठमाडौंका मान्छेका लागि हिउँ खेलेर रमाइलो गर्ने नजिकको गन्तव्य हो फुलचोकी । त्यहाँ बर्सेनि हजारौँ मान्छेले हिउँको आनन्द लिने गर्छन् ।
सुन्दरीजलः काठमाडौंबाट हाइकिङका लागि अर्को गन्तव्य हो सुन्दरीजल । सुन्दरीजलको हाइकिङ यात्रा बुढानिलकण्ठबाट सुरु हुन्छ । पैदलयात्रा गर्न रुचाउने तर राजधानीबाट बाहिर टाढा जान नसक्नेहरूका लागि यो उपयुक्त र सही गन्तव्य हो । काठमाडौंबाट १५ किलोमिटरको दूरीमा उत्तरतर्फ पर्दछ सुन्दरीजल । सिन्धुपाल्चोकको चिसापानी जानेहरू सुन्दरीजलको बाटो हुँदै जाने गर्दछन् ।
सुन्दरीजलको यात्रामा अग्ला होचा डाँडाहरू, सुन्दर झरना, काठमाडौं उपत्यकालगायत थुप्रै मनोरम दृश्य देख्न पाइन्छ । यहाँ क्यानोनिङसमेत गर्न पाइन्छ । यस स्थानमा मान्छे गाडीको यात्रा गरेर पनि रमाइलो गर्न पुग्ने गर्छन् ।
चम्पादेवीः काठमाडौं र मकवानपुर जिल्लाको सिमानामा रहेको चम्पादेवी समुद्री सतहदेखि २३००० मिटरको उचाइमा रहेको छ । हाइकिङसँगै यहाँ बौद्ध स्तुपाको अवलोकन गर्न सकिन्छ । यहाँ घुम्न आउनेहरूले प्रायः पूर्णिमाको दिनलाई रोज्ने गर्दछन् ।
चम्पादेवीको हाइकिङ काठमाडौको दक्षिणी भेगबाट सुरु हुन्छ ।
काठमाडौंबाट १६ किलोमिटरको दूरीमा रहेको यो स्थानमा यात्रा गर्न ४ घण्टा लाग्छ । त्यसमा प्रायजसो उकालो बाटोको पैदल यात्रा गर्नुपर्ने हुन्छ । लाङ्गटाङ्ग र अन्नपूर्ण क्षेत्र जस्तै रमणीय दृश्य यहाँबाट अवलोकन गर्न पाइन्छ । वरपर हरिया डाँडाकाडा रहेकोले पनि यो क्षेत्र निकै रमाइलो देखिन्छ ।
ककनीदेखि भन्ज्याङ हाइकिङः काठमाडौं चक्रपथबाट गाडीमा एक घण्टाको यात्रापछि ककनी पुग्न सकिन्छ । समुद्री सतहदेखि करिब २२०० मिटरको उचाइमा रहेको ककनी नुवाकोट जिल्लामा पर्दछ । पारिवारिक तथा स्कुल, कलेजबाट पिकनिक मनाउनेहरूले पनि ककनीलाई रोज्ने गर्छन् । ककनी हँुदै भन्ज्याङको रमाइलो यात्रा गर्न सकिन्छ । ककनीदेखि भन्ज्याङको यात्रा गर्न ३ घण्टा लाग्छ ।
ककनी जानका लागि पनि काठमाडौंबाट गाडीको यात्रा रमाइलो हुन्छ । नागबेली परेको सडक र हरियालीका कारण आनन्दको अनुभूति हुन्छ । यहाँबाट वरपरका ससाना गाउँ तथा मनै लोभ्याउने दृश्यहरू अवलोकन गर्न पाइन्छ । ककनी ट्राउट प्रजातिको माछाका लागि पनि प्रसिद्ध छ । यहाँ बिदा र फुर्सदको समयमा ट्राउट माछा खान जानेहरू निकै भेटिन्छ । यसका साथै ककनी इस्ट्रोबेरी फलका लागि पनि प्रख्यात छ ।
नमोबुद्ध हाइकिङः काठमाडौंबाट ३८ किलोमिटरको दूरी पूर्व दिशा धुलिखेलमा रहेको छ नमोबुद्ध । काठमाडौंको कोलाहल वातावरणबाट मुक्त हुन प्रायः व्यक्तिको मुख्य रोजाइँ हुने गरेको छ धुलिखेल । नहोस् पनि किन, यहाँको शान्त नमोबुद्ध यात्राले जो कोहीको मन तान्ने गरेको छ । काठमाडौंबाट नजिक, यातायात तथा अन्य सुविधा भएकोले पनि यो क्षेत्र धेरैको मुख्य रोजाइँमा पर्ने गरेको छ ।
यहाँबाट टाढासम्म देखिने नदी किनारा, सुन्दर गाउँ, वस्ती, जंगललगायत अन्य हिमालयको मनोरम दृश्य देख्न सकिन्छ । नमोबुद्धमा बौद्ध स्तुपा मात्र नभएर यात्राको क्रममा अन्य मन्दिरको दर्शन पनि गर्न पाइन्छ । धुलिखेल बजार पनि राम्रो हुनाका साथै यहाँ जाने सडकसमेत राम्रो रहेछ ।
सेतो गुम्बा हाइकिङः ‘अमिताभ मोनास्ट्री’ को नामले समेत चिनिने सेतो गुम्बा उपत्यकाको दक्षिणी भेगमा रहेको छ । सेतो गुम्बा यात्रा विशेषगरी मान्छे तनाव, थकानबाट फ्रेस हुन र मनोरञ्जनका लागि उपयुक्त स्थान मानिन्छ । हरियाली जंगलको बीचमा रहेको सेतो गुम्बाबाट वरिपरिको मनोरम दृश्य देख्न सकिनछ । हरेक आइतबारबाहेक अन्य दिन सर्वसाधारणका लागि गुम्बा अवलोकनका लागि खुला हुने गर्छ । त्यहाँ जाने दर्शनार्थीले गुम्बाभित्र रहेका बुद्धका विभिन्न अवतारहरूको दृश्यावलोकन गर्न पाउँछन् । यहाँ बिदाको समयमा मान्छेको चहलपहल बढ्ने गर्छ ।
शिवपुरीः शिवपुरी डाँडा काठमाडौं उपत्यका वरिपरिको दोस्रो अग्लो स्थान हो । शिवपुरी समुन्द्रसतहबाट करिब २५६३ को उचाइमा रहेको छ । बागमती नदीको स्रोत बागद्वार पनि शिवपुरी क्षेत्रमा अवस्थित छ । बुढानिलकण्ठ मन्दिरबाट ४५ मिनेटको पैदल यात्रापछि शिवपुरी वन्यजन्तु संरक्षण क्षेत्रको मूलद्वारमा पुग्न सकिन्छ । सोही स्थान हुँदै शिवपुरी जंगलको एकदिने यात्रा गर्न सकिन्छ ।
शिवपुरी जंगलको उच्च भागबाट काठमाडौं उपत्यकाको सेरोफेरो दृश्यावलोकन गर्न सकिन्छ । हरियाली जंगल हुँदै गरिने यो यात्रा एकदमै रमणीय हुन्छ । शिवपुुरी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू साइल यात्राका लागि पनि जाने गर्छन् । यसका साथै बिदा र फुर्सदको समयको उपयोग गर्दै यस क्षेत्रको अविस्मरणीय यात्रा गर्नेहरू धेरै भेटिने गर्छन् ।
यस्ता यात्राले वातावरणीय रूपमा केही शान्त र रमाइलो स्थानको अनुभूति हुनाका साथै हरेक दिन हुने कामको तनावबाट केही राहत मिल्ने यात्रा गर्नेहरूको अनुभूति छ । यसले एकदिन भने पनि मान्छेलाई धूलो धुवाँको वातावरणबाट टाढा राख्न सहयोग पुर्याउँछ ।
प्रतिक्रिया