निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाँके । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी–२ अन्तर्गतको एरिया नं.६ मा रहेका क्लबहरूको आयोजनामा बर्दियाको भुरीगाउँमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ४५ जना बिरामीले स्वास्थ्य उपचार पाएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा रहेको त्रिभुवन माविमा आयोजित सो स्वास्थ्य शिविरको ठाकुरबाबा नगरपालिकाका प्रमुख धननारायण श्रेष्ठले उद्घाटन गरेका हुन । उनले लायन्सले समाजसेवामार्फत ग्रामीण क्षेत्रमा विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गरेर साच्चिकै सेवाको भाव प्रकट गरेको बताए ।

शिविरमा सहभागी भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत सिनियर सर्जन डा. श्यामसुन्दर यादवले घरदैलोमा नै विषेशज्ञ सहितको स्वास्थ्य सेवा दिन पाउँदा आफूहरूलाई पनि गर्व महसुस भएको बताए ।

स्वास्थ्य शिविरका संयोजक तथा लायन्स क्लब इन्टरनेसनलका पूर्व डिस्ट्रिक गभर्नर सेम शाक्यले सो विशेषज्ञ सहितको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा सो नगरपालिका र आसपासका ९ सय ४५ बिरामीले विभिन्न प्रकारको सेवा लिएको जानकारी दिए ।

सो कार्यक्रममा पहिलोपटक मुटु र स्तन तथा पाठेघरको क्यान्सरको विशेषज्ञ डाक्टरको उपस्थितिमा चेकजाँच गरिएको थियो । स्तन तथा पाठेघरको क्यान्सर, हाडजोर्नी, सर्जरी, स्त्रीरोग, बालरोग फिजिसियन, डेन्टललगायतको विज्ञहरूले सेवा दिइएकोे आयोजकले जनाएको छ ।

‘धेरैभन्दा धेरै सेवा लिनेहरूको सहभागिता हुनेगरी विभिन्न रोगका विशेषज्ञलाई सो शिविरमा लगेर सेवा दिएका छाैँ संयोजक तथा पूर्वडिस्ट्रिक गभर्नर शाक्यले भने ।

निःशुल्क स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत डा. श्यामसुन्दर यादवले सर्जरीका १ सय ४०, डा. प्रकाशबहादुर थापाले हाडजोर्नीका २ सय १०, डा. कृष्णप्रसाद अधिकारीले मुटुरोगका १ सय ५०, डा. खगेन्द्रजंग शाहले मेडिसिनका १ सय ५०, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डा. विश्वराम पौडेलले १ सय २०, नेपालगन्ज मेडिकल कलेजका डा. रोमा बोराले बालरोगका ४०, डा. सुप्रभा केसीले स्त्रीरोगका ७० र लायन्स डेन्टल अस्पताल नेपालगञ्जका डा. पल्लव शर्माले ६५ बिरामीलाई सेवा दिएका छन् ।

शिविरमा मुटुका गम्भीर प्रकृतिका सात जना बिरामीको ईकोसमेत गरिएको थियो । तीन जना स्त्रीरोगको समस्या रहेका बिरामीलाई भेरी अञ्चल अस्पतालमा रिफर गरिएको साथै सोही शिविरमा आएका १५ जनामा क्यान्सरको आशंका गरिएकोले उनीहरूलाई थप जाँचको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा रिफर गरिएको आयोजकले जनाएको छ

प्रतिक्रिया