६ महिनामा १ सय ७२ किशोरी बने आमा

सल्यान । जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामा नै आमा हुनेहरूको पनि लर्को देखिएको छ ।

जिल्लामा बालविवाह गर्नेहरूको यकिन तथ्यांक नभए पनि जिल्ला अस्पताल सल्यानमा प्रसूति सेवा लिन आउनेहरूको संख्या हेर्दा यस्तो देखिएको हो । बितेको ६ महिनाको अवधिमा जिल्ला अस्पताल सल्यानमा बच्चा जन्माउनेहरूमा १ सय ७२ जना २० वर्षमुनिका छन् ।

जिल्ला अस्पताल सल्यानमा चालु आव ०७५÷७६ को ६ महिनाको अवधिमा ६ सय १७ महिला आमा बनेका छन् । जसमध्ये १ सय ७२ जना किशोरी आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ ।

१५ वर्षीया आमा
असोज महिनामा बागचौर नगरपालिका–१ निवासी १५ वर्षीया किशोरी गीता परियारले बच्चा जन्माएको रेकर्डमा भेटिएको जिल्ला अस्पताल सल्यानमा कार्यरत स्टाफ नर्स कोपिला पुनले जानकारी दिइन् । उनका अनुसार साउन महिनामा १ सय ६६ आमा सुत्केरी भएकोमा ४१ जना किशोरीले बिहे गर्ने उमेर नै नपुगी बच्चा जन्माए ।

यस्तै भदौ महिनामा १ सय २ आमा प्रसूति गराउन आएकोमा ४५, असोजमा १ सय २७ मा ३५ जना, कात्तिकमा ९१ मा ३० जना र मंसिरमा ७१ जना मध्ये १९ जना किशोरी आमा बनेको जिल्ला अस्पताल सल्यानको तथ्यांकमा उल्लेख छ । कम उमेरमै प्रेम गरेर भागी विवाह गर्ने क्रम दिनानुदिन बढ्दै गएको छ ।

समाचार संकलन गर्न जिल्ला अस्पताल पुगेको दिन २० पुसमा एकै दिन तीन किशोरीले प्रसूति सेवा लिएको नर्स कोपिला पुनले बताइन् । उनले भनिन्, ‘आज मात्रै हामीले पाँच महिलालाई सुत्केरी गरायौँ, पाँच मध्ये तीन जना २० वर्षभन्दा कमका किशोरी रहेका छन् ।’
२० पुसमा शारदा नगरपालिका–१० मदानाकी १७ वर्षीया पुष्पा बोहराले अस्पतालबाट प्रसूति सेवा लिइन् ।

एसइई दिएपछि एक वर्षअघि प्रेम विवाह गरेकी उनले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिइन् । बच्चा जन्मेको करिब एक घण्टासम्म उनले शिशुलाई दूध चुसाएकी थिइनन् । किन बच्चालाई स्तनपान नगराएको ? भन्ने प्रश्नमा उनले भनिन्, ‘बल्ल त बाँचे, हिजोदेखि सुत्न पाको छैन्, बच्चा समाउन जान्दिनँ, उस्ले दूध पनि चुसेन, दुध खाए पो खवाउनु, त्यही भएर नखुवाएकी ।’ उनिलाई बच्चाको स्याहार र दूध चुसाउनेबारे केही पनि थाहा नभको बच्चालाई समाएकी उनकी सासूले बताइन्।

यस्तै सोही दिन १७ वर्षको उमेरमामा आमा बनेकी किशोरी शारदा नगरपालिका–१४ बरलाकी शोभा विष्ट बुढाथोकीले बालशाखा माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा बरलाका कृष्ण बुढाथोकीसँग प्रेम विवाह बताइन् । विवाह गर्ने उमेर नपुग्दै उनी अहिले आमा बनेकी छन् । आमा बनेसँगै उनको माथिल्लो कक्षा पढ्ने सपना अपुरो नै रहेको छ ।

सानै उमेरमा आमा बन्दा आमा बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने स्वास्थ्यकर्मी पुनको भनाइ छ । उनले भनिन्, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुनिने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकी लगायतका कारणले पनि बालविवाह कम हुन नसकेको सल्यान जिल्ला अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले बताए ।
कम उमेरमा आमामा शारीरिसँगै मानसिक र सामाजिक समस्या पनि देखिन सक्ने उनले बताएका छन् ।

‘शारीरिक परिपक्कता नहुने हुनाले कम उमेरमै बच्चा जन्माउँदा मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘पछिल्लो चरणमा सामाजिक सञ्जालको चरम दुरुपयोग, स्वास्थ्य शिक्षासम्बन्धी ज्ञानको अभाव, साथीहरूको लहलहै लगायतका कारण सानै उमेरमा विवाह गर्ने अनि आमा बन्ने विकृति बढ्दै गएको पाइन्छ ।’

प्रतिक्रिया