काठमाडौं । अनसनको पर्याय बनिसकेका डा. गोविन्द केसी फेरि १६ औं अनसन इलाम पुगेका छन् । यसअघि उनी जुम्ला पुगेर अनसन बसेका थिए । सरकारले तोकिएको समयसीमाभित्रै आफ्ना माग पूरा नगरेपछि डा. केसी बुधबारबाट अनसन सुरु गर्न इलाममा पुगेका हुन् ।
सरकारलाई माग पुरा गर्न पटक–पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६औं अनसन सुरु गर्न लागेको बताएका छन् । यसपटकको अनसनको तयारीका लागि डा. केसी इलाम पुगिसकेको डा. केसीका सहयोगी प्रितम् सुवेदीले जानकारी दिएका छन् । त्यस्तै डा. केसीका सहयोगीसमेत रहेका अर्का डा. अभिषेक सिंहले सामाजिक सञ्जालमार्फत केसी इलाम पुगेको तस्बिर सार्वजनिक गरेका छन् ।
अनसनकै लागि डा. केसी इलाम पुगेको सहयोगी सुवेदीले जानकारी दिए । उनले भने, ‘उहाँले दिएको अल्टिमेटम मंगलबार नै सकियो त्यसकारण बुधबारबाट अनसन सुरु गर्ने तयारीमा उहाँ इलाम पुग्नु भएको हो ।’
डा. केसीको माग र सरकारले विगतमा गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन । डा. केसीले यसअघि २ गते सोमबारसम्मको अल्टिमेटम दिएका थिए । अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाई नगरेपछि अनसन सुरु गर्ने तयारी गरेका थिए ।
तर, संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिनको लागि आग्रह गरेपछि १७ गतेसम्मको समयसीमा दिएका थिए ।
डा. केसीका माग
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस् । त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरू पुनः सो संस्थामै फिर्ता गरियोस् ।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।
२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस् ।
प्रतिक्रिया