संखुवासभा । गत भदौदेखि संखुवासभामा स्वास्थ्यबिमा कार्यक्रम लागू हुने भनिएको थियो । तर, तोकिएको समय यता चार महिना बितिसक्दा पनि कार्यक्रम लागू हुन सकेको छैन ।
यस विषयमा सरोकारवालाहरू पनि बेखबर जस्तै छन् । जिल्ला अस्पताल खाँदबारीका प्रमुख डा. लक्ष्मण खड्काले बिमा बोर्डले यस विषयमा कुनै जानकारी नदिएको बताए । गत भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने भन्दै अघिल्लो बर्ष अन्तरक्रिया कार्यक्रम गरेको बाहेक आफूहरूलाई कुनै जानकारी नभएको उनले बताए । प्रमुख डा. खड्काले भने, ‘बिमा कार्यक्रमको बारेमा पछिल्लो के भइरहेको छ भनेर हामीलाई पनि यकिन छैन, म बोर्डमा बुझेर खबर गरुँला ।’
हालै मात्र अस्पताल व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी सम्हालेका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पनि बिमा कार्यक्रमको बारेमा त्यति ‘अपडेट’ नभएको स्वीकारे । तर, आपूmले अध्यक्षको जिम्मेवारी सम्हालेदेखि बिमा कार्यक्रमको बारेमा भने चासो राख्दै आएको बताए । बिमाको बारेमा के हुँदैछ भनेर अस्पताल प्रमुखलाई सम्पूर्ण जानकारी लिन लगाएको र केही दिनभित्र बास्तविकता थाहा हुने अध्यक्ष शाक्यले बताए ।
स्वास्थ्य बिमा कार्यक्रम लागू हुने भएपछि उत्साहित बनेका नागरिकहरू भने निराश बनेका छन् । सस्तो शुल्कमा धेरै रोगको उपचार हुने भन्ने सुनेका नागरिकहरू अझै सो व्यवस्था नहुँदा अस्पताल व्यवस्थापन र प्रशासनसँग रुष्ट हुन थालेका छन् । सरोकारवाला निकायले कम चासो दिएको कारण अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम लागू हुन नसकेको स्थानीय नागरिकको आरोप छ ।
यस विषयमा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलसँग कुरा गर्दा प्राविधिक तयारी पूरा नभएकोले तोकिएको समयमा कार्यक्रम लागू हुन नसकेको बताए । पूर्वाधार र कर्मचारी व्यवस्थापन भइनसकेकोले बिमा कार्यक्रम लागू हुन समय लागेको उनको भनाइ थियो ।
निर्देशक पोखरेलले यसअघि ३६ जिल्लामा बिमा कार्यक्रम सुरु भइसकेको जानकारी गराउँदै अब निकट भविष्यमा नै संखुवासभालगायत प्रदेश–१ का ११ जिल्लामा बिमाको कार्यक्रम सुरु गरिने बताए । कतिपय नीतिगत समस्याको कारण पनि निधारित समयमा बिमा कार्यक्रम लागू गर्न नसकिएको पोखरेलको भनाइ छ ।
प्रतिक्रिया