जिल्ला स्वास्थ्य कार्यालयमा ९ सय ७३ दरबन्दी

काठमाडौं । संघीय संरचनाअनुसार स्वास्थ्य मन्त्रालयको नयाँ संगठनसँगै सबै जिल्लामा स्वास्थ्य कार्यालय रहने भएका छन् । यसअघि जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालय भनिए पनि अब ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालय हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्ले नयाँ संगठन संरचना स्वीकृत गरिसकेको छ । सोही अनुसार कर्मचारी समायोजनका लागि सरकारले सूचनासमेत जारी गरिसकेको छ । प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने स्वास्थ्य कार्यालयहरूमा दरबन्दी संख्या भने पहिलाको तुलनामा केही घटेको देखिन्छ ।

काठमाडौंमा ११ औँ तह, उच्च जनसंख्या भएका ३२ जिल्लामा १० औँ तह र मध्यम जनसंख्याका २५ र कम जनसंख्याका १९ जिल्लामा ७ वा ८ औँ तहका जनस्वास्थ्य अधिकृतले स्वास्थ्य कार्यालयको नेतृत्व गर्नेछन् ।

स्वीकृत संरचनाअनुसार जिल्ला तहमा सबैभन्दा बढी काठमाडौंमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ । काठमाडौं स्वास्थ्य कार्यालयमा ११ औँ तहको प्रमुख जनस्वास्थ्य प्रशासकअन्तर्गत १० औँ तहका एक जनस्वास्थ्य प्रशासक, जनस्वास्थ्य अधिकृत, तथ्यांकअधिकृत, हेल्थ असिस्टेन्टसहित १२ पद रहनेछन् ।

त्यसैगरी बढी जनसंख्या भएका ३२ जिल्लामा ११ पदमा १४ दरबन्दीका दरले ४ सय ४८ दरबन्दी रहने भएका छन् । ती जिल्लाहरूमा १० औँ तहका वरिष्ठ÷जनस्वास्थ्य प्रशासकले नेतृत्व गर्नेछन् । १४ दरबन्दी रहने जिल्लामा झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, इलाम, धादिङ, कपिलवस्तु, दाङ, बर्दिया, काभ्रे, पाल्पा, सुर्खेत, रूपन्देही, कैलाली, बाँके, नुवाकोट, मकवानपुर, गोरखा, कास्की, ललितपुर, चितवन, पर्सा, मोरङ, तनहुँ, स्याङ्जा, गुल्मी छन् ।

स्वीकृत दरबन्दी अनुसार सिन्धुली, डढेल्धुरा, धनकुटा, डोटी, उदयपुर, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, दैलेख बझाङ, जाजरकोट, अछाम, दार्चुला, बैतडी, पर्वत र लमजुङसहितका २५ जिल्लाका लागि १० वटा पदमा १२ दरबन्दीका दरले ३ सय दरबन्दी स्वीकृत भएका छन् ।

त्यसैगरी भक्तपुर, कञ्चनपुर, नवलपुर, नवलपरासी, तेह्रथुम, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, हुम्ला, बाजुरा, म्याग्दी, ताप्लेजुङ, जुम्ला, कालिकोटसहित कम जनसंख्याका १९ जिल्लामा १० पदमा ११ दरबन्दीका दरले २ सय ९ दरबन्दी स्वीकृत भएका छन् ।

प्रतिक्रिया