काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । बुधबार विज्ञप्ति जारी गर्दै निकट भविष्यमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने घोषणा गरेको हो ।
सन् २०१२ देखि पाचनप्रणाली उपचार केन्द्र (डिडिसी) का रूपमा रूपान्तरित हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरूको उपचार समेत गर्दै आइरहेको छ । केन्द्रका चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा कलेजो प्रत्यारोपण आरम्भ गरिने बताइएको छ । उक्त सेवामा डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरू पनि संलग्न हुनेछन् ।
हाल नर्भिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको, सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको र थप चिकित्सकीय तथा अन्य मानव संशाधनको तयारीमा जुटेको बताइएको छ ।
सेवा सञ्चालनका लागि अस्पतालले विकासतर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्यचिकित्सकहरू, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरू (कलेजोरोग विशेषज्ञ÷फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिस्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ बालचिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिस्टलगायत मानव संसाधनको विकास गर्नुपर्नेछ ।
नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालिमप्राप्त एवं अनुभवी विशेषज्ञहरूमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्य चिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. वीरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी÷ क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) रहेका छन् । त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरूमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा छन् ।
अत्यधिक एवम् अनियन्त्रित मद्यपान, धुम्रपान, केहि विशेष प्रकारका हेपाटाइटिस आदिका कारण हाल नेपाली जनसंख्याको ठूलै हिस्सा कलेजोको असाध्य रोगबाट ग्रसित हुँदै गएकोले कलेजो फेल हुने, कलेजोको सिरोसिस हुने, कलेजोको क्यान्सर भइरहेको छ । साथै कलेजो प्रत्यारोपणका लागि ठूलो सँख्यामा नेपाली विदेश गइरहेको अवस्थालाई मध्यनजर गर्दै नर्भिकले यस्तो कदम चाल्न लागेको हो ।
देशमा प्रत्यारोपण सुविधा उपलब्ध नहुँदा कलेजो फेर्ने प्रक्रियाका लागि ठूलो धनराशि बोकेर बिदेसिनुपर्ने बाध्यता छ । नेपालमा कलेजो प्रत्यारोपणको सफल भएपनि सुचारु छैन । अस्पतालले सुलभ र स्तरीय कलोजो प्रत्यारोपण सेवा सुरु गर्न सबै तयारी सुरु गरेको अस्पतालको भनाइ छ ।
हाल तीव्र तयारी भइरहेको तथा यहि पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओपीडी सेवा सञ्चालन गरिने र नेपाल सरकारबाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने नर्भिक व्यवस्थापनले जनाएको छ ।
अस्पतालले सन् २००० मै मुलुकमै सर्वप्रथम क्याथल्याब सेवाको शुभारम्भ गरेको थियो । मुटुरोग लगायत अन्य इन्टरभेन्सनल प्रक्रियाहरूमा अग्रणी भूमिका खेल्दै आएको अस्पतालले स्वचालित अवस्थामै मुटुरोगका जटिल शल्यक्रिया, स्नायु शल्यक्रियालगायतका १०औँ हजार जटिल शल्यक्रियात्मक उपचार सेवामा सफलता पाइसकेको छ ।
प्रतिक्रिया