प्युठान । प्यूठान नगरपालिका १ स्थित दाखाक्वाडी स्वास्थ्यचौकीमा विगत एक वर्षदेखि विग्रिएको प्रेसर जाँच्ने विपी मेशिनबाट स्वास्थ्यकर्मीले काम चलाएका छन् । सेवा लिन आउने विरामीलाई सुरुकै चरणमा प्रेसर जाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीहरुले पुरनै मेसिनबाट काम चलाएको पाइएको छ ।
विरामीको रक्तचाप प्रेसरलाई अनुमानकै भरमा आधार मानेर औषधी दिने गरिएको छ । प्रेसर मेशिन विग्रिएपछि मर्मत गर्न नमिल्ने भएकाले नयाँ खरिद गर्न स्वास्थ्य कार्यालय प्युठानमा पटकपटक माग गर्दा पनि अझैसम्म नदिएकोले पुरानै बाट भएपनी काम चलाएको स्वास्थ्यकर्मीले बताएका छन् ।
पटकपटक जिल्ला जनस्वास्थ्य र प्यूठान नगरपालिका कार्यालयमा मेशिन सहित अन्य सामग्री खरिदका लागि माग फारम बुझाएपनि सुनुवाई नभएको स्वास्थ्यचौकी निमित्त इन्चार्ज अनमी मोतीकुमारी केसीले गुनासो गरिन् । ‘आन्तरिक कुनै स्रोत छैन ’,उनले भनिन्,‘त्यसबले खरिद सकेका छैनौं ।
जिल्लाबाट पनि आश्वासन पाएपनी अत्यावश्यक सामग्री प्राप्त भएको छैन । स्थानीय तहपछि अत्यावश्यक सामग्री माग गर्ने निकाय प्रष्ट नहुँदा काम गर्न अन्यौलता भइरहेको उनको भनाई छ । स्वास्थ्यचौकी संचालन तथा व्यवस्थापन समितिको वैठक बस्न नसक्दा समेत काम गर्नमा केही असहजता भइरहेको उनी बताउछिन् ।
स्वास्थ्यचौकीको आन्तरिक खातामा रकम भएरपनि मेशिन औजार खरिद गर्नतर्फ कार्यरत स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले चासो नदेखाउनु गैर जिम्मेवार भएको स्थानीय वासीको आरोप छ । औषधी व्यवसायीहरुका अनुसार न्यूनतम दुई हजारदेखि अधिकतम दश हजार पाँचसय रुपैयाँसम्म उक्त मेशिन खरिद गर्न सकिन्छ ।
प्यूठान नगरपालिका कार्यालदेखि टाढाको दुरीमा अवस्थित उक्त स्वास्थ्यचौकीमा दाखाक्वाडीको भालुवाङ, सालघारी, धाइरेचौर, फूलघाट र माण्डवी गाउँपालिकाको मार्सिवाङबाट विरामी सेवा लिन आउने गर्छन् । जिर्ण भवनबाट संचालित चौकीमा काम गर्न असहज भइरहेको स्वास्थ्यचौकी निमित्त इन्चार्ज अनमी मोतीकुमारी केसीले गुनासो गरेकि छन् । ‘एउटा टेबलमा चार जनाले काम गर्छौ’,उनले भनिन्,‘अभावै अभावमा सेवा दिनुपरेको छ ।
स्वास्थ्यसँग सम्वन्धित सरोकारवाला निकायका जिम्मेवार अधिकारीहरु बेलाबेला अनुगमनमा पुग्ने गर्छन् । तर, उनीहरुको अनुगमन औपचारिकतामै सिमित हुँदा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरु जिम्मेवार बन्न नसकेको पाइएको छ । संघीय संरचनापछि कार्यक्रम संचालनका लागि बजेट नआएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।
स्वास्थ्य संस्थामा अत्यावश्यक पर्ने मेशिन, औजारहरु खरिद गर्न सम्वन्धित कार्यालयका कर्मचारी जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । हाल स्थानीय तहमा निःशुल्क औषधी खरिदमा मात्र जनप्रतिनिधीहरुको ध्यान पुगेको बताउँदै सुवेदीले अत्यावश्यक मेशिन, उपकरण खरिदमा समेत चासो दिन सुझाव दिए ।
प्रतिक्रिया