आन्दोलको तयारिमा करार शिक्षक

काठमाडौं । संघीय शिक्षा ऐनमा करार शिक्षकको अधिकार नसमेटिएको भन्दै छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले पुस १५ गतेदेखि आन्दोलन गर्ने भएको छ ।

सरकारले २०२८ सालमा बनेको शिक्षा ऐनलाई परिमार्जन गर्दै निर्माण गर्ने भएको संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा उल्लेख नगरेको भन्दै आन्दोलन गर्ने भएको हो ।

छुट करार अस्थायी शिक्षक केन्द्रीय समितिका अध्यक्ष हरिवंश पराजुलीले सरकारले अस्थायी र करार शिक्षकलाई अधिकारबाट बन्चित गर्न लागेको आरोप लगाएका छन् । उनले भने, ‘करार शिक्षकलाई स्थापित गरिन्छ भनेतापनि, त्यसको संभावना देखिएको छैन ।संघीय शिक्षा ऐन निर्माणका लागि तयार पारिएको उच्च शिक्षा आयोगको प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख छैन ।’ उनले, करिब १३ हजार करार शिक्षकको पेसा धरापमा पर्ने भएसँगै आन्दोलन गर्ने तयारी गरेको बताएका छन ।

उनीहरुले पौष १५ गते देश भरिका करार शिक्षक काठमाडौ भेला हुने र माइतिघरमन्डला देखि बानेश्वर सम्म बिरोध जुलुस निकाल्ने भएका छन् । त्यस्तै, पौष १६ गते शिक्षा तथा मानबश्रोत बिकास केन्द्रमा घेराउ तथा ध्यानाकर्षण पत्र दिने कार्यक्रम बनाएका छन । पौष १७ गते बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेका छन । पराजुलीले ७७ वटै जिल्लाबाट ०७२ असोज २ पछि नियुक्ती भएका सबै करार शिक्षकलाई काठमाडौं आई आन्दोलनको तयार गर्न आह्वान् समेत गरेका छन् ।

यि कार्यक्रमबाट माग प्रति सम्बन्धित निकायले ध्यान नदिएमा बिद्यालय बन्द र आमरण अनशन लगाएतका कार्यक्रम गर्ने अध्यक्ष हरिबंश पराजुलीले जानकारि दिए । उनले खुल्लाको रिजल्ट पछि अयोग्यको बिल्ला लाग्ने जानकारी दिँदै आन्दोलन कि अवकाश रोज्नु पर्ने बताए । अस्थायी करार शिक्षकलाई विस्थापित नगर्न र अन्तरिक परीक्षामा सहभागी गराउन छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालय केशरमहलमा ज्ञापनपत्र समेत बुझाएको छ ।

०७२ असोज २ गते नियुक्ती करार अस्थायी शिक्षकलाई सेवाबाट विस्थापित नगरी रोजगारीको हक सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु राखी समितिले ज्ञापन पत्र बुझाइएको हो । खुल्ला शिक्षकको नतिजा प्रकाशन भएपछि आफूहरु अयोग्य हुने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेको छ ।

शिक्षा ऐनको नवौं संसोधनले २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक परीक्षाबाट छुटाएर राज्यले ठूलो भूल गरेको उनले बताए । उनले अब बन्ने संघिय शिक्षा ऐनमा ०७२ असोज २ पछि नियुक्ति लिएका शिक्षकको हक र अधिकारलाई समेट्नु पर्ने बताउँदै नसमेटिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया