मान्छेमा ईच्छा शक्ति भयो भने जे पनि गर्न सकिन्छ । भूगोल, शारीरिक अवस्था वा अन्य कुनै पनि कारणले मान्छेले चाहेको काम गर्न रोकिँदैन भन्ने हेर्न हुम्लाका छिटुप दोर्जे लामालाई बुझे पुग्छ । हुम्लाजस्तो विकट ठाउँमा जन्मेका उनीमा समाजका लागि केही गर्नुपर्छ भन्ने भावना सानैदेखि थियो । त्यसैले, त जन्मदै न्यून दृष्टिकोण भएर पनि आज उनले अनेक संघर्ष गरी आफूजस्ता सयौँ बालबालिकाका लागि उज्यालो दिन बनेका छन् उनी ।
घरको तेस्रो सन्तानका रूपमा हुम्लाको विकट गाउँ धिँगामा जन्मेका छिटुप दोर्जे लामा जन्मदै न्यून दृष्टिविहीन थिए । परिवारमा उनकी दिदी खाण्डु पनि जन्मदै दृष्टिविहीन भएका कारण दुई कक्षाभन्दा माथिको पढाइ पढ्न सकिनन् । सानोमा दुवै दिदीभाइले घर नजिकै रहेको कर्णाली माध्यमिक विद्यालयमा अध्ययन गर्थे । विद्यालयमा अरू विद्यार्थीले कालो पाटीका अक्षर खरर पढ्दा उनीहरूका लागि भने त्यो दृश्य कस्तो होला भन्ने लाग्थ्यो । साथीहरूले खरर पढेको सुन्दा उनीहरूलाई पनि रहर लाग्थ्यो । तर, उनीहरूको रहर रहरमा नै सीमित हुन्थ्यो । किनकि, उनीहरू न्यून दृष्टिविहीन थिए ।
उनी दुईले विद्यालय र घरपरिवारको सहयोगले मोटो निप भएको कलमको सहयोगले गृहकार्यका रूपमा आफ्ना मनका कुरा कपीमा थोपर्थे । आफूले लेखेका अक्षर ठुल्ठूला र कापीमा बाँगोटिँगो भएका कारण गुरुहरूले गरेको अपमान अहिले पनि उनीहरूको मानसपटलबाट हराउन सकेको छैन । आफूसँगै अध्ययन गर्ने सहपाठीहरूले अपशब्द प्रयोग गर्दै गरेका गाली उनीहरूका लागि आज सफलताको महत्वपूर्ण कडी भएको छ । सहयोगी लेखकको सहायताले विद्यालय शिक्षा पूरा गरेका छिटुपलाई काठमाडौंमा उच्च शिक्षा हासिल गर्नका लागि आफन्तजनले सहज रूपमा अनुमति दिन राजी थिएनन् ।
काठमाडौंको सवारी चाप, भिड अनि कहिल्यै नगएको र नदेखेको ठाउँमा गएर अध्ययन गर्नु त्यसमा पनि दृष्टि कमजोर भएकाका लागि सहज पक्कै थिएन । तर, उनीहरूमा पढेर केही गर्नुपर्छ भन्ने भावना थियो, र त्यही भावनाले जित्यो । काठमाडौंमा रहेका धेरै संघ÷संस्था धाए उनीहरूले सहयोगका लागि । अन्त्यमा नेपाल दृष्टिविहीन संघको सहयोगमा कम्प्युटर शिक्षा लिन सफल भए । अहिलेसम्म उनको संस्था चलाउन र व्यक्तिगत कामको सहारा नै बन्न पुग्यो ।
काठमाडौं आएर पहिलोपटक कम्प्युटरमा आफैँले टाइप गरी प्रिन्ट गरेको चिठी हुलाकमार्फत घरपरिवार र आफन्तजनको बीचमा पुग्दा त्यसले निकै चर्चा पाएको र खुसी भएको त्यो क्षण अझै छिटुपले सम्झिरहेको बताए । त्यतिवेला उनलाई आफूले ठूलै काम गरेको महसुस भएकाले कम्प्युटरको अध्ययन गरेको उनले बताए । उनलाई थप अध्ययनका लागि भारतको केरलामा रहेको दृष्टिविहीनको अध्ययन÷अध्यापन गर्ने विद्यालयले अभिप्रेरित गरायो । त्यही प्रेरणाका कारण उनले हिमाली शिक्षा र विकास (हेड नेपाल) नामक गैरसरकारी अवधारणा आएर वेभ साइड पनि पोस्ट गरे ।
संस्थामार्फत छिटुपले अपांगता भएका बालबालिका र व्यक्तिको सहायताका लागि सहायता सामग्री, कपडा र दैनिक उपभोगका सामान क्याम्प खडागरी वितरण गर्दै आएका छन् । विद्यालयको पहुँचमा नपुगेका अपांगता भएका व्यक्तिका लागि भौगोलिक कठिनाइको कारण अझ सहज बनाउन नसकिएको उनले बताए । जीवनोपयोगी सीप, साक्षर बनाउनु, घुम्ती विद्यालयमार्फत शिक्षा प्रदान र उनीहरूमा आत्मबल बढाउनु अझै धेरै चुनौती रहेको छिटुपले बताए
सन् २०११ मा हुम्लामा गएर कार्यालयको सानो रूप दिनका लागि एउटा कोठामा कम्प्युटरसहित एक्लै काम सुरु गरे । घर परिवारको आर्थिक अवस्था राम्रो भएका कारण उच्च शिक्षाका लागि काठमाडौंदेखि भारतको केरलासम्म पुगेका लामाले अंग्रेजी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनलाई आफूले जस्तो समाजको अपमान हुम्लाका अन्य बालबालिकाले खेप्न नपरोस् भन्ने छ । त्यसैले, उनी अपांगता भएका व्यक्ति पनि समाज विकासका हकदार हुन् भन्ने भावनालाई समाजमा स्थापित गराउन र जिल्लाका अन्य अपांगता भएका व्यक्तिका लागि उज्यालो ढोका बन्न पुगेका छन् ।
‘मैले त दुःख गरेर यो संसार के हो बुझेँ, कामको सिलसिलामा विश्वका सातभन्दा बढी देश घमेँ र त्यहाँको जीवन बुझ्न पाएँ, तर हुम्लाका अति विपन्न घरका अपांगता भएका बालबालिकाको भविष्य सम्झिँदा रुन मन लाग्छ । अवसर नपाएको भए मेरो पनि हालत त्यही हुने थियो होला’ उनले भने । उनले उक्त संस्थाबाट आजसम्म एक रुपैयाँ पनि पारिश्रमिक लिएका छैनन् । संस्था दीगो नबन्दासम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए उनले ।
गतवर्ष मिसन इस्टको कार्यक्रम सञ्चालन भएपछि केही पारिश्रमिक लिने गरेको भए तापनि यो पनि यही कार्यालयको हितका लागि खर्चिने गरेको उनले बताए । ‘बालबालिकाको हितका लागि धेरै आवश्यकता छ तसर्थ, मैले मेरो नाममा बुझेको पारिश्रमिक पनि त्यही काममा खर्चिने गरेको छु । ‘मेरो कुनै व्यक्तिगत जीवन छैन, सबै जीवन यहाँ आश्रित बालबालिकाको नाममा सुम्पेको छु,’ उनले भने ।
हुम्लामा रहेका दृष्टिविहीन बालबालिकाको तथ्यांक संकलन गरी उनीहरूलाई घरबाट विद्यालयको पहुँचसम्म कसरी ल्याउने उनको पहिलो प्राथमिकतामा थियो । त्यसभन्दा अघि दृष्टिविहीन बालबालिकाका लागि शिक्षाको ज्योति त के घरको आँगनसम्म निस्किने वातावरण पनि थिएन । ‘घरको एक कुनामा फोहोरको डंगुरसँग जिन्दगी बिताइरहेका बालबालिकालाई विद्यालय पुर्याउनु कम्ती चुनौती थिएन । आफ्ना सन्तानप्रति अभिभावकको समेत विश्वास थिएन, उनीहरूले केही गर्न सक्लान भन्ने त्यसैले, कुकुर बाँध्ने साङ्लोले बाँधेर राखिने गरिन्थ्यो यहाँका अपांगता भएका बालबालिकालाई’ छिटुपले आँखा रसिलो बनाउँदै भने ।
जिल्लाको ठेहे गाउँका पूर्ण दृष्टिविहीन बालक गोरसिंह बोहोरा लठ्ठीको सहारामा धाराबाट पानी ल्याउन सक्नेसम्म अवस्थामा थिए । सोही गाउँका गहुँगोरा बोहोरा कहिले काहीँ आमालाई भान्सामा रोटी बनाउन सहयोग गर्थे । रोटी पकाउने क्रममा कैयौँपटक हात पोलिएको अनुभव उनीसँग छ । धाराबाट पानी ल्याउँदा सिस्नोको घारीमा खसेको गोरासिंहले भूलेका छैनन् ।
‘छिटुप सरले घोडामा आएर हप्ताको २ दिन घुम्ती विद्यालयमार्फत गाउँघरका मजस्ता सबै दृष्टिविहीन बालबालिकालाई गर्नु भएको व्यवहार हामी भुल्दैनौँ, उहाँले कसरी काम गर्ने भनेर सिकाउनु भयो, बिस्तारै पढ्नका लागि ब्रेल लिपीको बारेमा सिकाउनु भयो, हामीसँग ब्रेलको सामग्री थिएन उहाँले दिएको सामग्रीले ब्रेल घोप्न सिक्यौँ’ विगत सम्झिँदै गोरासिंह बोहोराले भने, ‘हाम्रो दिन घरको आँगनमा मात्र सीमित थियो, आज हामी सदरमुकामको सामुदायिक विद्यालयमा अरू सरह पढ्न सफल भएका छौँ, ब्रेल लिपीमा पोख्त भएका छौँ, आज हाम्रो संसार फराकिलो भएको छ, त्यति मात्रै होइन, अन्य हुम्लाका विद्यालयमा नभएका सुविधा हामीले पाएका छौँ, सबै विद्यार्थीलाई पुग्ने कम्प्युटर र ल्यापटप पनि ल्याइएका छन्, कम्प्युटर पनि सिक्न पाएका छौँ, जीवनको सार्थकता अझै फराकिलो भएको छ’ अर्का न्यून दृष्टिविहीन बालिका लक्ष्मी शाहीले भनिन् ।
हुम्लाका २५ जना दृष्टिविहीन र २५ जना शारीरिक अपांगता भएका बालबालिकालाई पढाउनका लागि दुइवटा घर भाडामा लगेर आवासीय शिक्षा दिनका लागि परेका छन् छिटुप दोर्जे लामासहित हिमाली शिक्षा र विकास (हेड नेपाल) नामक संस्था । सहयोगी भावना भएका विदेशीको सहयोगले उनीहरूलाई आफ्नो उद्देश्य पूरा गर्न सहज भएको लामाले बताए । त्यहाँ पढ्ने विद्यार्थीले जिल्लाका अन्य विद्यालयका विद्यार्थीले पाउन नसकेको सुविधा पाउँदै आएका छन् ।
हिमाली जिल्ला भएका कारण त्यहाँका बालबालिकाले नुहाउनका लागि तातो पानी, नुहाउने कोठामा सावर, कपडा धुनका लागि वासिङ मेसिन, इन्टरनेट सुविधा र सुरक्षाका लागि कार्यालय क्षेत्रमा सिसी टिभी क्यामेरासमेत राखिएको छ । यस्तै, उनीहरूले प्रयोग गर्ने शौचालयलाई अपांगतामैत्री बनाइएको छ ।
यस्तै, शारीरिक अपांगता भएका बालबालिका नजिक रहेको कालाशिलता आधारभूत विद्यालय र दृष्टिविहीन बालबालिका बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्ने गर्छन् । हाल तीनजना बालबालिकाले माध्यमिक शिक्षा उत्तीर्ण गरी काठमाडौंमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।
आउने दुई वर्षमा संस्थाको आफ्नै कार्यालय बनाउने लक्ष्य राखेको जनाएको छ । जसका लागि अन्तर्राष्ट्रिय दातृ निकायमा पहल हुँदै गरेको र सोका लागि वातावरण सकारात्मक रहेको बताइएको छ । कार्यालय भवनका लागि जग्गा खरिद गर्न गतवर्ष देउसीभैलो कार्यक्रम सञ्चालन गरी ६ लाख ५ हजार रकमसमेत संकलन गरिएको थियो । अपुग रकम कार्यालयमा काम गर्ने कर्मचारीबाट चन्दा, अन्य दातृ निकायको सहयोगले जग्गा खरिद गरिएको छ ।
अपांगता भएका व्यक्तिले केही गर्न सक्दैन भनेर दृष्टिकोण कारण आफूले बाल्यकालमा समाजबाट भोगेका संकुचित व्यवहारले केही गर्नुपर्छ भनेर लागेका छिटुपले समाजका कैयौँ सवालंगलाई रोजगारी दिएका छन् । उनको कार्यालयमा पाँचजना (दृष्टि र शारीरिक) अपांगता भएका कर्मचारीले काम गरिरहेका छन् ।
कार्यालय स्थापना भएदेखि नै हात गुमाएका लोकराज शाहीले हुम्ला जिल्लाका अपांगता भएका व्यक्तित्वको तथ्यांक संकलन गर्नेदेखि जिल्लाका विभिन्न ठाउँमा अपांगता भएका बालबालिकालाई शिक्षित बनाउन घुम्ती विद्यालय सञ्चालन गर्दे आवासीय विद्यालयसम्म ल्याउन सहयोग गरिरहेका छन् । पूरै शरीर राम्रोसँग नचल्ने मनिषा ऐडीले चार वर्षदेखि दुइवटा होस्टेलको वार्डेनको जिम्मेवारी सम्हाली रहेकी छन् ।
त्यसैगरी, न्यून दृष्टिविहीन निर्मल विष्टले कार्यालयमा आउने कामलाई कम्प्युटरमा अभिलेख गर्ने र कार्यालयका काम वेभसाइटमार्फत सञ्चालन गर्दै आएका छन् । उनी मात्रै होइन पूर्ण दृष्टिविहीन राम ऐरले बालबालिकालाई गृहकार्य गराउने र दैनिक पढाउने काम गर्दै आएका छन् । अपांगता भएका कारण काममा लगाउन गाह्रो मान्ने हाम्रो समाजका लागि हामीले यहाँ काम गरेर समाजसेवा गर्न पाएकोमा उनीहरू निकै खुसी छन् । त्यसमा पनि हुम्लाजस्तो विकट ठाउँमा त्यस प्रकारको सुविधा पाउनु भनेको सामान्य होइन ।
पढाउने मात्रै होइन उक्त संस्थाले उच्च शिक्षा हासिल गरेका आफ्ना संस्थाका बालबालिकालाई कुनै न कुनै ठाउँमा रोजगारीको अवसर दिलाएर जीवन निर्वाहमा सहयोग गर्ने लक्ष्यसमेत लिएको छ । अहिले सो संस्थामा अपांगता भएका र नभएका, प्राविधिक र अप्राविधिक गरी १६ जना कर्मचारीले रोजगारी पाउँदै आएका छन् । उनीहरू सबैको भूमिका अपांगता भएका बालबालिकालाई शिक्षित, सबल र सक्षम बनाएर समाजमा स्थापित गराउने र आत्मनिर्भर बनाउन सहयोग गर्ने रहेको छ ।
संस्थाले समय समयमा गर्ने व्यावसायिक सीप तालिमको पनि छिटुपले नेतृत्व गरेको संस्थाले आयोजना गर्ने गरेको छ । उक्त तालिमबाट करिब १० जनाभन्दा बढीले आफूले सिकेको सीपको उपयोग गरी आयआर्जन गरिरहेका छन् । सिलाई कटाइ तालिम, बुनाइ तालिम, कम्प्युटरसम्बन्धी आधारभूत तालिम लगायतका तालिमबाट धेरै हुम्ली युवा लाभान्वित भएका छन् ।
बालबालिका जन्मदै अपांगता हुनुमा आमाबुवाको केही न केही प्रत्यक्ष संलग्नता रहने गर्दछ । बच्चा गर्भमा रहेका वेला आमाले मादक पदार्थ, धूमपान सेवन गर्नु वा आमाको दैनिक आहारविहार पौष्टिक नहुनु पनि हो । गरिबीको कारण सबैले चाहे अनुसारको पौष्टिक खान पाउँदैनन् जसका कारण पनि जन्मदै अपांगता हुन सक्ने सम्भावना रहन्छ । यस्तै, तनाव, घरायसी झैझगडाका कारण हुने कुटपिटले पनि बच्चालाई गर्भमा चोट पुग्न गई अपांगता निम्तिएका थुप्रै घटना रहेका छन् । सपांग जन्मिएर पनि अपांगता हुने गर्दछन् ।
को कति वेला कसरी अपांग हुन्छ भन्ने थाहा हुँदैन । हिँड्दा डुल्ला वा जो जति वेला पनि लडेर वा केही कारणवश अपांग हुन सक्छ त्यसैले हरेक कुरामा सावधान हुनुपर्ने छिटुपट बताए । अपांगता भएका बालबालिकाको घरमा केही आर्थिक बोझ नहोस् र उनीहरूले पौष्टिक आहार खान पाऊन भनेर ५० वटा घरपरिवारमा ‘होम गार्डेन’ मार्फत बेमौसमी तरकारी खेतीका लागि ‘ग्रिन हाउस’ बिउ, आवश्यक औजार उपकरणसमेत सहयोग गर्दै आएको उनले बताए ।
बेमौसमी तरकारी खेतीका लागि आवश्यक सीप र ज्ञानका लागि कृषि प्रविधिको सहयोगमा तालिम र सहयोग गर्ने गरिएको छ । यसका साथै ‘मिसन इस्ट’को आर्थिक सहयोगमा जिल्लाको सिमकोट, सर्केगाड, चंखेली गाउँपालिकामा सञ्चालन भएको छ । घरको आर्थिक अवस्था पनि अपांगता बढाउने कारण भएकाले आर्थिक उपार्जनका लागि उक्त कार्यक्रम लागू गरिएको हो । दुई वर्षसम्म सञ्चालन गरिने यो कार्यक्रमबाट हुम्लाका सबैजसो अपांगता भएका बालबालिकाका अभिभावक लाभान्वित हुने उनीहरूको दाबी छ ।
संस्थामार्फत छिटुपले अपांगता भएका बालबालिका र व्यक्तिको सहायताका लागि सहायता सामग्री, कपडा र दैनिक उपभोगका सामान क्याम्प खडागरी वितरण गर्दै आएका छन् । विद्यालयको पहुँचमा नपुगेका अपांगता भएका व्यक्तिका लागि भौगोलिक कठिनाइको कारण अझ सहज बनाउन नसकिएको उनले बताए । जीवनोपयोगी सीप, साक्षर बनाउनु, घुम्ती विद्यालयमार्फत शिक्षा प्रदान र उनीहरूमा आत्मबल बढाउनु अझै धेरै चुनौती रहेको छिटुपले बताए ।
आफै पनि स्थानीय निकाय, सरकारी कार्यालय र संघ -संस्थाले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण, उनीहरूलाई राज्यबाट दिइनुपर्ने सेवा सुविधाको बारेमा उचित ज्ञान र ध्यान नपुग्नुले यस क्षेत्रमा काम गर्नका लागि असहज भएको उनको अनुभव छ । छोटो समयमा संस्था ‘नाउ अस् अवार्डमा द स्पिन्डल’ नामक डच नामक संस्थाले गरेको विश्वका १० वटा उत्कृष्ट संस्थाको छनोटमा नेपालबाट यो संस्था एक मात्र छनोट भएको उनीहरूको दाबी छ ।
अपांगता क्षेत्रका लागि आवश्यक पर्ने स्रोत साधनको कमी, भएका साधनको मूल्य अति नै महँगो हुनु, सबै सार्वजनिक भवन र निर्माणमा अपांगता मैत्री नहुनु अपांगता भएका व्यक्तिका लागि कठिन रहेको उनले बताए । एउटै स्क्रिन रिडर ग्लासको मूल्य ३ देखि ४ लाखसम्म पर्ने र अन्य सामग्री पनि नेपालमा नबन्ने भएकाले विदेशबाट मगाउन पर्दा महँगो हुने गरेको उनले बताए । यसलाई राज्यको तर्फबाट पनि सहयोग हुने हो भने आफूहरूले धेरै गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया